
:: स्वयम्भुनाथ कार्की
भारतको अघोषित नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्ने नेपालीको प्रयत्नले एक सानो चोट खाएको छ । आप्रवासी नेपालीको विरोध प्रदर्शनका बीचमा भारतीय प्रधानमन्त्री र बेलायती प्रधानमन्त्रीको संयुक्त विज्ञप्तिमा नेपालले स्थान पायो । सामान्यतया यस्ता विज्ञप्तिहरूमा अन्य मुलुकको उल्लेख हुने गर्दैन । भेटवार्ताको बीचमा जुनजुन विषय उठे त्यसमा दुवै पक्षले उल्लेख्य ठानेका कुराहरू मात्र पर्ने गर्दछन् । आप्रवासी नेपालीको यो विरोध प्रदर्शनले त्यो भेटवार्तामा यो विषयले निकै महत्त्व नपाएको भए उल्लेख हुने पक्कै थिएन ।
त्यसैले यो संयुक्त विज्ञप्ति नेपालीको इच्छाअनुसार र प्रयत्नले विषयको अन्तर्राष्ट्रियकरण नै हो । तर, यसको नतिजा भने नेपालीले चाहेको विपरीत भयो । त्यसैले नेपालीले भन्दा मोदीले बेलायतलाई विश्वास दिलाउन सकेको कुरा मान्नैपर्ने हुन्छ । यस्तो अवस्थामा बेलायतलाई यो विज्ञप्तिको निमित्त स्पष्टीकरण सोध्नु भनेको उसलाई यो विषयमा भारतको पक्षमा धकेल्नु हो । कूटनीतिक प्रयत्नले बेलायतलाई भारतको अर्घेलोको विश्वास दिलाउने प्रयत्नको साटो यस्तो आक्रामक कदम हानिकारक हुन सक्छ । बिनातैयारी र जोसको भरमा मात्र गरिने यस्ता कामले अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको साख खसाउन पनि सक्छ भन्नेतर्फ चनाखो हुनैपर्दछ ।
राष्ट्रवाद सोचेर गरिएको कामले राष्ट्रलाई घाटा हुँदैन, यदि त्यो सोचले राष्ट्रलाई घाटा पुर्याउँछ भने त्यो राष्ट्रवाद होइन भ्रान्तिवाद हो । त्यसैले राष्ट्रवादको भ्रम भएको भ्रान्तिवाद पन्छाएर वस्तुगत र तथ्यपरक मूल्याङ्कन गर्नैपर्छ । छिमेकी भएका नाताले भारतसँगको सम्बन्ध नकार्न सकिँदैन । न मित्र, न शत्रुको रूपमा राख्न पनि सकिँदैन । भारत नेपालले चाहना गरेर बनाएको मित्र होइन, छिमेकी कि त मित्र हुन्छ कि शत्रु, तेस्रो विकल्प न भारतसँग छ न नेपालसँग नै ।
यसका निमित्त सम्भव भएसम्म भारतको हरेक विषयमा जानकारी लिन आवश्यक हुन्छ । हिजो भारतलाई आफ्नो सबैभन्दा आत्मिय ठान्नेहरूलाई अहिलेको भारतको व्यवहारले उत्तेजित पार्नु स्वाभाविक नै हो । तर, भारतसँगको सम्बन्ध सावधानीपूर्वक हेर्नेहरू उत्तेजित हुनुपर्ने कुनै कारण छैन । नेपालमाथिको यो व्यवहार न पहिलो हो न अन्तिम नै हुनेछ । त्यसै पनि नेपाल र भारतको सम्बन्ध हरेक समय संवेदनशील रहने गर्दछ । नेपाललाई कम भारतलाई ज्यादा फाइदा हुने जति पनि सन्धि–सम्झौताहरू भएका छन् ती सबै नेपाल अस्थिर रहेका बखत वा भारतीय नेताहरूसँग घनिष्ट सम्बन्ध भएका नेताहरू सत्तामा भएका बेलामा नै भएका छन् ।
आफ्नो स्थापनाकालदेखि एकै किसिमको दर्शन भएका दलहरूको नै सत्तामा हालीमुहाली भएको भारतमा वर्तमानमा त्यसको विपरीत दर्शन भएको दल पूर्ण बहुमतमा सरकारमा छ । समाजवादी राजनीति, आरक्षण र जाति बाहुल्य कार्यप्रणाली भएका दलहरूको साटो पुँजीवादी दर्शन बोकेको दल केन्द्रीय सत्तामा आएको छ । यो ठूलो परिवर्तन केवल केन्द्रीय सत्तामा भएको छ । यसले भारतको सदाशयतालाई नेपालको सत्तामा टिक्ने मुख्य आधार मान्ने सोच भएका नेपाली नेतालाई अप्ठ्यारो परेको छ । जसरी अङ्ग्रेजसँग राम्रो सम्बन्ध वनाएर निष्कंटक राज गरेका राणाहरूलाई भारतीय स्वतन्त्रतापछिका नेताहरूसँग सौहार्दता कायम राख्न कठिन भएको थियो ।
भारतमा भएको यो ठूलो राजनीतिक दर्शनको परिवर्तनले पुराना दर्शनका अनुयायी सबैलाई आफ्नो आपसी मतभिन्नता त्यागेर एक हुनपर्ने अवस्था ल्याएको छ । बिहारको विधानसभा निर्वाचन त्यसैको एक झल्को थियो । महागठबन्धन भनिएको शक्तिका घटकहरू र भारतीय जनता पार्टीको सीधा भिडन्त थियो । यो भिडन्तमा नेपाल र नेपालीको पीडा पनि उनीहरूको आपसी लडाइँको एक हतियार भयो । नेपाल आपैँmले विभिन्न कालखण्डमा भारतीय राजनीतिलाई आन्तरिक खेलाडी हुन निम्ता गरेको छ । कतिपय बेलामा मध्यस्थताको भूमिका सुम्पेको पनि छ । यो क्रमलाई आत्मनिर्भर हुँदै कम गर्नुपर्ने स्थानमा १२ बुँदेदेखि झन् बढाउदै लगिएको छ ।
गठबन्धनले मुस्किलले केही समयको निमित्त सत्तामा आए पनि मूलत: सत्ताभन्दा पर नै रहेको भारतीय जनता पार्टीको विदेश विभाग आरम्भिक अवस्थामा रहेको छ । यस्तो बेलामा जेएनयू टोलीको हातमा रहेको छिमेकी मामिलाका विज्ञहरूको गोरेटो नछोड्नु नै उसले तात्कालीन समाधान सम्झेको हुन सक्छ । यो टोलीको निष्ठा कोसँग छ त्यो पनि शङ्कास्पद नै छ । भाजपा छिमेकीसँग कस्तो सम्बन्ध राख्न चाहन्छ त्यो अहिले नै स्पष्ट भइसकेको छैन । तैपनि पहिलेको भन्दा अलग हुँदैमा आफ्नोभन्दा छिमेकीको हित हेर्ला भन्ने सोच्नु मूर्खता नै हुन्छ । त्यसै पनि पहिलेको जोरजबर्जस्तीले आफ्नो कुरा लाद्नेभन्दा नरम र मीठो बोलीले आफ्नो कुरा लाद्ने लक्षण सुरुवाती दिनहरूमा नदेखिएका होइनन् ।
राष्ट्रिय स्वयम्सेवक सङ्घको दीक्षाबाट गठित जनसङ्घ रूपान्तरण भएर भाजपा भएको कुरा ध्यानमा राख्न आवश्यक छ । राष्ट्रिय स्वयम्सेवक सङ्घले वर्तमानमा पनि बन्दनाको रूपमा गाउने संस्कृत श्लोकमा पूर्व सागरदेखि पश्चिम सागरसम्म र उत्तर हिमालयदेखि दक्षिण सागरसम्मलाई भारत भनिएको छ । सरदार पटेलको फलामे सालिकले पनि उसको शास्त्रीय सोचको झल्को दिन्छ । त्यसैले नेपालले सजग भएर भारतसँग शत्रुता होइन मित्रता नै राख्नुपर्ने हुन्छ । तर, यो मित्रता आफ्नो स्वाभिमान कायम राखेर गरिनुपर्छ । एक सानो तर असरदार र कुशाग्र मित्र हुन जनता–जनतास्तरको मैत्री र सरकार सरकारस्तरको मैत्रीबीचको भिन्नतालाई राम्रेरी बुझ्न आवश्यक छ ।
अन्तर्राष्ट्रियस्तरमा भारतले यसो गर्यो वा गरेन भनेर आफूलाई भारतनिर्भर देखाउनुभन्दा आफ्नो अलग अस्तित्व साबित गर्न आवश्यक छ । जसरी भारतभन्दा धेरै सानो नेपालमा कैयौँ विचार समूह, पक्ष आदि छन् त्यसरी नै नेपालभन्दा कैयाँै गुना धेरै यस्ता समूह छन् । यदि भारत वा विदेशले नेपालका अलग–अलग समूहसँग अलग–अलग सम्बन्ध कायम गर्न सक्छ भने नेपालले त्यसो किन गर्न सक्दैन ? नेपाल आफ्नो अस्तित्व र आत्मसम्मानसहित रहने हो भने यो गर्नैपर्छ, विकल्प देखिँदैन ।
प्रतिक्रिया