
:: राजेन्द्रप्रसाद पाठक
नेपाल एकीकरणको प्रथम अभियन्ता तत्कालीन गोर्खा सम्राट बडामहाराज पृथ्वीनारायण शाहको प्रसङ्ग हो यो । त्यस समयमा राजाका मन–मस्तिष्कमा डेरा जमाएको विश्वासपात्र विराज बखेतीलाई कजाइँ दिने मनसुवा राख्ने राजालाई जनताको भावना पनि बुझ्न जरुरी लाग्यो । उनी राम्ररी जान्दथे कि ‘जनता जोसँग राजी रहन्छन् उसैलाई काजी दिनु’ भन्ने शास्त्रीय भावना थियो । यही चेतनाका कारण बुझ–बुझारथ गर्दा राजाको उम्मेदवार र जनताको उम्मेदवारमा फरक पर्न गयो । जनताका उम्मेदवार भने ‘सरदार कालु पाँडे’ थिए । कालु पाँडे नै त्यस्तो उम्मेदवार ठहर भए काजी पदका लागि जसले राजा र जनता दुवै पक्षको मन जित्न सफल भएका थिए । जसलाई जनताले अपेक्षा गरे उसैलाई राजाले पनि स्वीकार गरे । यसैलाई भनिन्छ जनप्रतिनिधिमूलक शासन व्यवस्था ।
तर, आजको जस्तो नाम मात्रको आधुनिक प्रजातान्त्रिक, लोकतान्त्रिक, गणतान्त्रिक आदि नामक ‘ढोँगी’ शासनतन्त्र नभई जनता राजी भएकै कारण शासकको शान र देशको मानमा जनताको विश्वास थियो । त्यसैकारण होला नेपालीको छाती बलियो र विशाल भएकैले विश्वका अन्य शासक वर्गले समेत मुग्धकण्ठले वीर, बहादुर र इमानदार गोर्खालीको उपमा नेपालीले पाएका थिए । गोर्खाली सेना भर्ती गर्न नचाहने शासक विश्वमै कमै थिए होलान् । यसो भनिरहँदा सेनामा भर्ती भएर युद्ध लड्नु र जित्नु मात्र नेपालीको कौशल हो भन्ने अर्थ नलागोस् । किनकि नेपाली युद्धकलामा मात्र होइन अन्य विधामा पनि अवसर पाए इमानदार र निपुण छन् भन्ने तथ्य प्रमाणसिद्ध छ ।
वास्तवमा र्पथ्वीनारायण शाहको पालामा मतऐक्यता भएका भाइ–भारदार, जनता र शासनको तादम्यताका कारण आजको सिङ्गो नेपालको परिकल्पना साकार भएको हो । थुम–थुम र टुक्रा–टुक्रामा विभाजित सानासाना रजौटाले शासन गर्ने असुरक्षित भुरेटाकुरे राज्य थिए । जातीय बाहुल्यका आधारमा स्थानीय सामन्तहरूले आफूलाई जातीय बलबुताको शासक घोषणा गर्दथे । त्यस्तो सामन्ती व्यवस्थाले न त जनता सुरक्षित र विकसित हुन सक्दथे न त राज्य नै बाह्य शक्तिबाट सुरक्षित रहन सक्दथ्यो । त्यस्तो भयावह स्थितिको आँकलन गरेर एकीकृत सशक्त राज्यको विस्तार गर्न सकिएन भने आफू र आफ्नो राज्यलाई पनि भविष्य बचाउन नसक्ने निष्कर्षका साथ पृथ्वीनारायण शाहले गोर्खाबाट राज्य विस्तार सुरुवात गर्दा उनका आगामी पुस्ताले समेत यो देश यत्ति ठूलो र समृद्ध बनाउन योगदान गरेकै हुन् । यसो भन्दै गर्दा सबै पुस्ताका राजाहरू यस्तो महायोगदानका लागि सार्थक पात्र त बन्न सकेको देखिँदैन । तर, जसले महायात्राका लागि कदम अगाडि बढायो उसको साहसको कदर त इतिहासले सावित गरी नै हाल्दछ ।
अब पुन: प्रसङ्गतर्फ फर्कौं, जब बाइसे–चौबीसे राज्य व्यवस्था जसलाई जातीय सामन्तहरूले स्वघोषित राज्य र राजा घोषणा गर्दथे । त्यसभन्दा पछाडि नेपाल एकीकरण अभियान समाप्त भइसकेपश्चात् जब सुगौली सन्धि भयो । त्यसपश्चात् सैनिकीकरणको माध्यमबाट प्रधानमन्त्री र श्री ३ महाराजसम्म लिन सफल जंगबहादुर राणाले भारतीय ब्रिटिस सरकारलाई सैनिक सहयोग गरेबापत नेपालको नयाँ भूभाग भनेर चिनिने बाँके, बर्दिया, कैलाली, कञ्चनपुर फिर्ता लिइसकेपछि देशको स्थायी सीमाङ्कन सम्पन्न भएपछि सत्तामा पुग्न सफल शासकहरूले सुरक्षा र सिमानाबारे अब सोच्नुपर्ने देखेनन् । त्यसपछि शासकको महत्त्वको दृष्टिले देश र जनताको सुरक्षाभन्दा आत्मकेन्द्रित विकासतर्फ उन्मुख भएको प्रस्ट हुन्छ । राज्यको ढुकुटीको दुरुपयोग गर्दै आफू र आफ्ना सन्तानदर सन्तानले कसरी देशमा र शासन व्यवस्थामा कब्जा जमाउन सक्लान् भन्ने चिन्तनले ग्रस्त शासकीय मनोदशा छरप्रस्ट भएको इतिहासको सूक्ष्म अध्ययनले सावित गर्दछ । पछिल्ला पुस्ताका राणाहरूको चरम व्यक्तिवादी सोच राजाहरूको बीचको अन्तद्र्वन्द्वको बाबजुद २००३ सालपछि बीपी कोइरालाजस्तो दूरदर्शी नेताको उदय भयो । त्यसैको फलस्वरूप २००७ सालमा प्रजातन्त्र आयो । राजा त्रिभुवनको अन्तपछि उनकै छोरा राजा महेन्द्रको उदय भयो । शासकीय प्रणाली र वैचारिक द्वन्द्वका बाबजुद पर्दापछाडिबाट खेल्ने आन्तरिक शक्तिसँगको सम्बन्ध र मिलेमतोका कारण बीपी कोइराला र महेन्द्रजस्तो दूरदृष्टि राख्नेहरूको बीचमा द्वन्द्व खडा गर्दै नकारात्मक इगोको विकास गर्ने बिउ रोप्दै आफ्नो हातबाट गुमेको सत्ताको अदृश्य उपभोग गर्ने काम सामन्तहरूले गरे ।
राजा महेन्द्रले बहुदलीय पञ्चायती व्यवस्था लागू गरे पनि दलीय अभ्यासलाई निरन्तरता दिएका भए महेन्द्रजस्ता दूरदृष्टि भएका राजा र बीपीजस्ता राष्ट्रवादी प्रजातन्त्रवादीको कहीँ–कतै मिलनबिन्दु भेटिन सक्दथ्यो होला । तर दुर्भाग्य भनौँ या नियतिको खेलले त्यस्तो हुन सकेन । राजा महेन्द्रले देशमा सेवामूलक विभिन्न संस्थानहरू खोलेका थिए । आज त्यस्ता संस्थाहरू नियोजित ढङ्गबाट बन्द भइनै रहेका छन् । आज ती संस्थानहरूको अभाव खड्किन थालेको छ । निर्दलीय पञ्चायती व्यवस्थाको संस्थापक भएकै कारण तात्कालिक राजा महेन्द्रले अवलम्बन गरेको नीति जतिसुकै वैज्ञानिक र राष्ट्रिय हितका लागि ठहर भए तापनि आजका बहुदलवादीहरूले नकारात्मक इगो समस्याले ग्रसित मनोदशाको कारण स्वीकार गर्न सकिरहेका छैनन् । किनकि महेन्द्र नीति व्यावहारिक र सर्वस्वीकार्य भए पनि कतै जनताले आधुनिक लोकतन्त्रवादी नेताहरू पनि महेन्द्रवादीभन्दा फरक रहेनन् भन्ने अवगाल आउला कि भनेर नै विकेन्द्रीकरण र पाँच विकास क्षेत्रको अवधारणालाई स्वीकार गर्न नसकेको बुझिन्छ ।
दुई–दुईपटकको संविधानसभाको चुनावपश्चात् तयार भएको संविधानलाई तराईवासीले अस्वीकार गरेको अवस्था र छिमेकी देशको समेत नयाँ संविधानप्रति हुनुपर्ने सहजता नहुँदा पूर्वप्रधानमन्त्री र मन्त्रीहरू सुस्तसुस्त पाँच विकास क्षेत्रको अवधारणा नै वैज्ञानिक भएको ठहर गर्न थालेका छन् । त्यस्तो अभिव्यक्तिहरूलाई आँकलन गर्दा सही र गलत त भविष्य र जनताले छुट्याउने नै छन्, तर आफू सत्तामा रहँदा अकर्मण्य रहने र सत्ताको बाहिर आइसकेपछि चर्चा कमाउनकै लागि भए पनि बोल्दै हिँड्ने प्रवृत्तिले त काजी हुँदा कजाइँ गर्न नसक्ने र प्रवृत्तिगत हिसाबले समेत आफ्नो र आफन्तको उत्थान गर्न मात्र तल्लीन थिए हाम्रा देशका काजीहरू भन्ने देखिन आउँछ । यस्ता अकर्मण्य राजनीतिक मनोदशालाई चिरफार गर्दै हेर्दा आजसम्म केही छिटफुटबाहेक र सैनिकीकरणबाट आफूलाई उच्च पदमा स्थापित गर्नेहरूको अलावा कथित लोकतान्त्रिक र प्रजातान्त्रिक अभ्यासबाट आफूलाई जनताको काजी घोषणा गर्नेहरूको कुलीन परम्परामाथि दृष्टि दिँदाचाहिँ दु:ख पाएकाहरूले राजनीति गरेका छैनन्, राजनीतिमा लागेर दु:ख पाएकाहरूचाहिँ छन् । तिनीहरूले यो कथित लोकतन्त्रमा स्थान पाएका छैनन्, पाएकाहरूले पनि झिनामसिना निर्णय गर्न नसक्ने स्थान मात्र पाएका छन् । बाँकी सबै जुनसुकै स्तरका भए पनि सामन्तकै सन्तान मात्रै प्रधानमन्त्री र निर्णायक मन्त्री भएका छन् ।
आफूलाई जातीय राजनेताका रूपमा वकालत गर्नेहरू पनि खोजी गरिनुपर्दछ ती पनि सामन्तकै सन्तानहरू मात्रै छन् । अन्यथा गरिब जनताको सन्तान निर्णायक स्थानमा पुग्दाको अवस्था अलग्गै हुन्छ । जनताको पक्षमा निर्णय हुन्छ । कानुन जनताकै पक्षमा बन्दछन् । देशलाई चरम भ्रष्टाचारमा डुबाएर आफू र आफन्तका पक्षमा नियम कानुन बनाउनेहरू कदापि जनपक्षीय हुन सक्दैनन् । सामन्त र शोषक भनेको नितान्त व्यक्तिको प्रवृत्ति हो पद, प्रतिष्ठा र पैसा होइन । यो नितान्त आधुनिक मानव सभ्यताको विकृति हो । व्यवस्थाको नाममा मध्यकालीन व्यवहार र विकृत मानसितालाई नियम, नीति र कानुनका रूपमा लागू गर्दै आफ्नो दुनो सोझ्याउनेहरूलाई जनताले चिन्न सक्नुपर्दछ । लोकतन्त्र र प्रजातन्त्रको नाममा जहानियाँ शासन व्यवस्था खडा गर्न खोज्नेहरूदेखि सावधान भन्नैपर्छ † आत्मनिर्भर नेपाली जनतालाई परनिर्भरतातर्फ उन्मुख गर्दै छिमेकी देश र जनताप्रति विकृत द्वेष भावना फैलाएर आफ्नो अकर्मण्यतालाई छिपाउने प्रवृत्ति बोकेका स्वघोषित काजीहरू रातारात सल्बलाउँदै छन् । सदियौँदेखिको राजनीतिक, सांस्कृतिक, सामाजिक, शैक्षिक, भाषिक, व्यावहारिक र वैचारिक सम्बन्धमाथि तुषारापात गर्दै पुन: आफूलाई भागबन्डाको राजनीतिमा स्थापित गर्न छेपारोले जस्तो रंग बदल्न खोज्ने स्वघोषित काजीहरूलाई पाजी तुल्याउन सकियो भने मात्र आजको विकराल परिस्थितिले स्थायी समाधान पाउला, अनि छिमेकी देश एवम् जनस्तरको सुमधुर सम्बन्धलाई स्थायित्व दिन सकिएला । अस्तु ।
(लेखक त्रिविका पीएचडी स्कलर हुन् ।)
प्रतिक्रिया