
काठमाडौं । तात्कालिक गृहमन्त्री वामदेव गौतमको रोजाइमा परेका सचिव सूर्य सिलवाल वर्तमान सरकारको निम्ति भने अनुपयुक्त ठहरिएका छन् । त्यसैले सिलवाललाई हटाएर गृह मन्त्रालयको सचिवमा नयाँ उम्मेदवारको खोजी भएको छ । सचिवहरूको निम्ति आकर्षक मानिने को जिम्मेवारी पाउन चारजना सचिवबीच प्रतिस्पर्धा हुने देखिएको छ । गृहमन्त्री शक्ति बस्नेतले अहिलेसम्म सूर्य सिलवालको स्थानमा कसलाई लैजाने भन्ने निर्णय गरिसकेका छैनन् । तर, बस्नेतमाथि हाल क्षेत्रीय प्रशासक रहेका मोहनकृष्ण सापकोटालाई गृहसचिव बनाउन ठूलो दबाब परेको बुझिएको छ ।
प्राप्त जानकारीअनुसार दुई नम्बर धन्दामा रमाउने केही व्यापारीले माओवादी अध्यक्षलाई प्रभावित गरी सापकोटालाई गृहमा लैजाने वातावरण बनाउने प्रयास गरिरहेका छन् । कर्मचारी जगत्मा नवधनाढ्य व्यक्तिका रूपमा चिनिने सापकोटालाई गृहसचिव बनाउन एमाओवादीका माथिल्लो तहका केही नेताहरूले समेत गृहमन्त्री बस्नेतलाई दबाब दिइरहेको बुझिएको छ । गृहसचिवका लागि शान्तराज सुवेदी, प्ेरमकुमार राई र जयमुकुन्द खनालको नाम पनि चर्चामा छ । माओवादीनिकटका मानिने शान्तराज सुवेदी हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव छन् र उनले आफ्ना निकटवर्तीहरूसँग अख्तियारमा बसेर काम गर्न अप्ठ्यारो भएको बताउँदै आएका छन् । सरल स्वभावका सुवेदी गृह मन्त्रालयको सचिव बन्दा मन्त्रीलाई सहयोग पुग्ने र उनी माओवादीसँग निकट भएकोले मन्त्रीले विश्वास गर्न सक्ने भनी सुवेदीका हितैषीहरूले उनको नाम मन्त्रीसमक्ष सिफारिस गरिरहेका छन् ।
त्यस्तै, जयमुकुन्द खनाल यसअघि मुख्यसचिव बन्ने प्रतिस्पर्धामा थिए । कुशल र भद्र मानिएका जयमुकुन्दको राजनीतिक आबद्धता कतै नभएकोले काम विशुद्ध व्यावसायिक प्रकृतिको हुने भन्दै कतिपयले उनको नाम मन्त्रीसमक्ष पुर्याएका छन् । पहिले गृह मन्त्रालयमा रहेर काम गरिसकेका प्ेरमकुमार राईलाई सचिव बनाउन एमालेसम्बद्ध केही व्यक्तिहरू लागिपरेका छन् । एमाले पार्टीको सङ्गठित सदस्यसमेत रहेका राइले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवको रूपमा समेत काम गरिसकेका छन् । तर, मन्त्री बस्नेत राईलाई सचिव बनाउन त्यति सकारात्मक नभएको बताइन्छ । उल्लिखित अन्य तीन नाममध्ये शान्तराज सुवेदीलाई मन्त्रीले रुचाएको बुझिन्छ, तर एमाओवादीको हाइकमाण्डलाई नै प्रभाव पार्न सफल भएकोले मोहनकृष्ण सापकोटा नै गृहसचिव बन्ने सम्भावना प्रबल भएको छ । गृहसचिव चयन गर्न मन्त्री आफैँ स्वतन्त्र छन् या छैनन् भन्ने पुष्टि केही दिनभित्रै हुने भएको छ ।
प्रतिक्रिया