डा. तुल्सी गिरीले फेरि छोडे ‘सदाका निम्ति’ देश

डा. तुल्सी गिरीले फेरि छोडे ‘सदाका निम्ति’ देश


tulsi-giri 1
पूर्वप्रधानमन्त्री एवम् चर्चित राजनीतिज्ञ डा. तुल्सी गिरीले सदाका लागि नेपाल छोड्ने निर्णय गरेको समाचार प्राप्त भएको छ । उनी यसै साता भारत पुगेका छन् । पञ्चायती राजनीतिमा विचारक नेताको छवि बनाएका र सधैँ सक्रिय राजतन्त्रका पक्षधर रहँदै आएका उनान्नब्बे वर्षीय गिरीले गत असोज ३ गते संविधान जारी गरिएपछि नेपाल छोड्ने निर्णय गरेको बुझिएको छ । यसअघि २०३८ सालमा सुधारिएको पञ्चायती व्यवस्थाको नाममा राष्ट्रिय पञ्चायत सदस्यको लागि आमनिर्वाचन गरिएपछि ‘राजाको शासन र आमनिर्वाचन विधि सँगै जान नसक्ने’ तर्क गर्दै डा. गिरी नेपाल छोडेर हिँडेका थिए । श्रीलंका र भारतको बेंग्लोरमा गरी अठार वर्ष बिताएपछि उनी २०६१ सालमा स्वदेश फर्किएका थिए ।

राजा ज्ञानेन्द्रले मुलुकको सम्पूर्ण शासनाभार हातमा लिने भएपछि डा. गिरीलाई नेपाल झिकाइएको र नेपाल आउनेबित्तिकै उनलाई राजाले मन्त्रिपरिषद्को उपाध्यक्ष बनाएका थिए । उपाध्यक्षको रूपमा रहँदा पनि उनी राजाको शासन शैलीप्रति भने असन्तुष्ट थिए । डा. गिरी पार्टी र प्रेसमाथि प्रतिबन्ध लगाएर राजाले शासन गर्नुपर्छ भन्ने पक्षमा थिए र उनी राजा ज्ञानेन्द्रको शासन शैलीलाई ‘न हाँसको चाल न बकुल्लाको’ भनी टिप्पणी गर्ने गर्दथे । उनले प्रेस र राजनीतिक दलमाथि प्रतिबन्ध लगाएर शासन गर्न या संवैधानिक राजा भएर बस्न दिएको सुझावलाई राजाले ग्रहण गर्न सकेका थिएनन् । २०६३ सालको परिवर्तनसँगै राजतन्त्रसमेतलाई बिदा गरिएपछि डा. तुल्सी गिरी दु:खी मन लिएर बुढानीलकण्ठस्थित सानो तर सुन्दर निवासस्थानमा बस्दै आएका थिए ।

वृद्ध उमेरमा पनि उनको शारीरिक एवम् मानसिक स्फुर्तीमा कुनै कमी नआएको डा. गिरीका निकटस्थ व्यक्तिहरू बताउँछन् । एक महिनाअघि उपचारका लागि भन्दै सिङ्गापुर गएका उनी ‘उपचार’ पछि नेपाल फर्किएका थिए । नेपाल फर्किएलगत्तै डा. गिरीले सदाको निम्ति नेपाल छोड्न लागेको जानकारी आफ्ना शुभचिन्तकहरूलाई दिने गरेका थिए । यस सम्बन्धमा गिरीको धारणा बुझ्न घटना र विचारले उनको ९८०८२७८२५१ नम्बरमा पटकपटक सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन । गिरीले यसै साता नेपाल छोडिसकेको उनका एक निकटस्थ व्यक्तिले जानकारी दिएका छन् । देश छोड्नुअघि गिरीले एक भारतीय राजदूतावासका कूटनीतिज्ञसँग पनि भेटघाट गरेको बताइएको छ ।

पञ्चायतकालमा रेडियो नेपालमा अंग्रेजी समाचारवाचिका एक इसाईधर्मी युवतीसँग गान्धर्व विवाह गरेपछि गिरी पनि इसाईधर्मी बनेका थिए र उनले श्रीलङ्का र बेंग्लोरमा रहँदा इसाईधर्मसम्बन्धी क्रियाकलापमा आफूलाई संलग्न गराउने गर्दथे । गिरीले दोस्रोपटक देश परित्याग गर्दा नेपाली राजनीतिमा त्यसको कुनै प्रभाव नपर्ने ठानिएको छ । तर, गणतान्त्रिक संविधान जारी भइसकेपछि उनले देश छोड्नुलाई आफैँमा अर्थपूर्ण मानिएको छ ।