लर्ड मेकाले प्रतिपादित मूल्य र मान्यता

लर्ड मेकाले प्रतिपादित मूल्य र मान्यता


-स्वयम्भुनाथ कार्की
मेकाले-प्रतिष्ठानबाट निर्मित बुद्धिजीवीहरूसँग छ यसको जवाफ ?
‘म सम्पूर्ण भारत घुमँे तर मैले एकजना पनि भिखारी देखिनँ, चोर देखिनँ, यस्तो सम्पत्ति मैले यस भागमा देखेँ । यस्तो उच्च नैतिक मूल्य, यस्ता समर्थ मान्छेहरू भएको मुलुकमा मेरो सोचाइमा तबसम्म जित्न सक्दैनौँ जबसम्म हामी यहाँको यो मेरुदण्ड भाँच्न सक्दैनौँ । यो मेरुदण्ड यसको आध्यात्मिक तथा सांस्कृतिक परम्परा हो । त्यसै कारणले म यसको प्राचीन शिक्षा पद्धति, यसको संस्कृति बदल्न चाहन्छु ताकी यहाँका मान्छेहरूले सोचून् विदेशी र अङ्ग्रेज उनीहरूको भन्दा राम्रा अनि ठूला पनि हुन्, यसले तिनीहरूले आफ्नो आत्मसम्मान, आफ्नो संस्कृति गुमाउने छन्, अनि मात्र उनीहरू साँचो अर्थमा पराधीन राष्ट्रवासी हुनेछन् ।’
यो सन् १८३५ फेब्रुअरी २ मा लर्ड मेकालेले बेलाइती संसद्मा गरेको सम्बोधनको अंश हो । यसमा उल्लेखित भारतवर्ष भन्नाले इष्टइन्डिया कम्पनीले आँखा गाडेका सम्पूर्ण मुलुकहरू पर्न आउँछन् । पृथ्वीनारायण शाहको नेपाल एकीकरण गर्ने कार्य सफल नभइदिएको भए र हाम्रा वीर पर्ुखाहरूले स्वाधीनताको अर्थ बुझेर आफ्नो रगतले यस मुलुकको रक्षा नगरेको भए नेपाल पनि लर्ड मेकालेले भनेको भारतकै कुनै एक जिल्ला हुने थियो । तर पनि मेकालेको यो षड्यन्त्रको छिटाले भने नेपाललाई छोएको छ । नेपालीहरूको शिक्षामा भारतको प्रत्यक्ष योगदान रहिआएको छ । लर्ड मेकालेले भारतको आध्यात्मिक तथा सांस्कृतिक सम्पदा विस्थापित गर्न यसको प्राचीन शिक्षापद्धति नै बदलेका थिए । नेपालमा पनि जब औपचारिक शिक्षा आरम्भ भयो त्यसको सुरुवात भारतीय शिक्षकहरूबाटै भएको थियो अनि भारतीय पाठ्यपुस्तक नै शैक्षिक सामग्री थिए । जसलाई प्रतिस्थापन गर्न पारसमणि प्रधान, सत्यमोहन जोशीलगायतले धेरै सङ्घर्ष गर्नुगरेको थियो ।
मेरुदण्डमा भएको यो प्रहारबाट भारतवर्ष ?भारत मुलुक होइन) नै दासत्वको दुश्चक्रमा फस्न पुग्यो । भारतीय सङ्घ बनेपछि साधनस्रोत, भौतिक पूर्वाधारमा छिमेका अन्य मुलुकहरूलाई कैयौँ गुणा उछिनेको भारतको प्रभाव अङ्ग्रेजको उपनिवेश नभएका छिमेकीहरूमा पनि परेको छ । मन परे पनि वा नपरे पनि धेरै कुरामा भारतकै भर पर्नुपर्ने तथा भारतमै शिक्षा लिनुपर्ने यथार्थका कारणले पनि छिमेकका पढेलेखेका नागरिक मानसिक रूपले कमवेश भारतीयभन्दा आफूलाई कमजोर नै ठान्दछन् । यसमा नेपाल अपवाद छैन । तर, नेपालीहरूको भित्री मनले यसलाई भारतले ठूल्दाजु हुन खोजेको ठहर गर्दछ, यसको विरोध गर्ने सानोभन्दा सानो अवसर पनि नेपालीहरू गुमाउन खोज्दैनन् । यसैको फलस्वरूप बेलाबखतमा ससाना निहुँमा पनि भारतविरोधी लहर चल्ने गर्छ यहाँ । तर, यो बुझ्ने कोसिस यहाँ भएको पाइन्न कि यस्ता लहरहरूले नेपाल आपै+mलाई ज्यादा हानि पुर्‍याउने गरेको छ । कुनै भारतीय सिने अभिनेताले ‘मलाई नेपाली मन पर्दैन’ भन्यो भन्ने हल्लाको भरमा उठेको दङ्गाले नेपालीलाई नै घाइते बनाएको, नेपालीहरूलाई नै नोक्सानी पुर्‍याएको कुरा इतिहास भइसकेको छैन ।
करिब पौने दुई सय वर्षपछि नेपालमा लर्ड मेकालेद्वारा प्रतिपादित यही मूल्य र मान्यताको आधारमा मुलुकका टाठाबाठाले नेपालको मेरुदण्ड भाँच्ने काम गर्दै छन् । यो मेकालेको जस्तो शिक्षा पद्धतिमा मात्र हमला होइन, नेपालका परम्परागत सबै मूल्य र मान्यताहरू निमिट्यान्न पार्ने काम आज हुँदै छ । विभिन्न जातजातिबीच विभाजन ल्याउने खेल केवल यत्तिमा सीमित छैन, यो खेल विश्वासको आधारमा टिक्ने लोग्नेस्वास्नीको सम्बन्धबीच पनि चालू छ । अभिभावक र केटाकेटीबीच पनि यो घुसेको छ । अङ्गालोमा बाँधिएर एउटै ओछ्यानमा सुत्ने पतिपत्नीबीच अविश्वासको विजारोपण गर्ने प्रयत्न जारी छ । सबै सुखदु:ख बराबर भोग गरेर एक-अर्काबीच मनको बह पोख्ने यो सम्बन्ध अब पतिले आफ्नो नेताको र पत्नीले आफ्नो नेताको लहडमा चलाउनुपर्ने हँुदै छ । आफ्नो शरीरको हिस्साबाट उत्पन्न भएका आफ्नै सन्तानलाई कुनै परचक्री नेता बनी आएर कुन बेला आफ्नैविरुद्धमा उराल्ने हुन् भनेर बाबुआमा त्राहिमाम हुने अवस्था छ ।
आफूले होस सम्हालेको बेलादेखि जानी-मानी आएको कुरा ‘अग्रगमन’ र ‘एक्काइसांै शताब्दीको धम्की’मा त्याग्नुपर्ने भएको छ । तर, रोचक कुरा भने यो छ कि यसको आधारचाहिँ उन्नाइसौं शताब्दीको पूर्वार्द्धमा लर्ड मेकालेले प्रतिपादन गरेको मूल्य-मान्यता नै हो । जसले भन्छ- विदेशी संस्कृति, विदेशी मान्छे अनि विदेशी परम्परा हाम्रोभन्दा उच्चकोटिको हो । नेपालीमा भारतीयलाई देशी, नेपालीलाई स्वदेशी अनि अरूलाई विदेशी भन्ने चलन छ । तर्सथ यहाँ भन्न खोजिएको विदेशी भारतीय होइन, भारतीय संस्कृति-परम्परा र नेपाली संस्कृति-परम्परामा धेरै समानता छ, तर एउटै भने होइनन् यी । नेपालमा यस्ता संस्कृति तथा परम्परा निकै छन् जो भारतीयभन्दा भिन्न छन् । तथापि यो आलेखको विषयवस्तु त्यो होइन ।
आज लर्ड मेकालेको गुरुयोजनाअन्तर्गत स्थापना भएका विश्वविद्यालयबाट दीक्षित बुद्धिजीवीहरू हाम्रा प्राचीन आधारलाई नकार्न तल्लीन छन् । आफ्नो प्राचीन आधारलाई नकारेर आपै+mलाई अन्यत्र भूभागबाट आएका आतातायीका सन्तान सावित गर्दै छन् । यो नै लर्ड मेकालेको योजना थियो । अङ्ग्रेजहरू विदेशबाट आएका भए तिमीहरू पनि विदेशबाटै आएका हौ, फरक केवल यत्ति हो कि अङ्ग्रेज केही शताब्दीपछि आए भने तिमीहरू केही शताब्दीपछि आयौ । यसका निमित्त त्यसबखतका उपलब्ध सामग्रीहरू भेटेसम्म नष्ट गरियो । नालन्दामा आगो त्यसै लागेको थिएन । त्यसपछि पनि केही बचेको भए त्यसलाई पछि लेखेको करार गरियो । यहाँसम्म कि महाभारत काव्य पनि दुई हजार वर्ष पुगेको छैन भनियो । तर, बुद्धको काल नै साढे दुई हजार वर्ष पहिले भनेर इतिहासले प्रमाणित गरेको छ । इशुको दुई हजार वर्ष नाघ्यो, त्यो त इस्वी सम्वत्ले नै भन्छ भने के महाभारत दुई हजार वर्ष पनि पुरानो होइन त ? अर्थात्, हाम्रो सभ्यता इशुभन्दा पछिको हो त ? मेकाले स्थापित प्रतिष्ठानबाट तयार भएका बुद्धिजीवीहरूले यसको उत्तर दिऊन् ।