सात वर्षदेखि आयुर्वेदिक औषधालय प्रमुखविहीन

सात वर्षदेखि आयुर्वेदिक औषधालय प्रमुखविहीन


पर्वतको शंकरपोखरी आयुर्वेदिक औषधालयमा २०६६ सालबाट कविराज पदमा कार्यरत हरिप्रसाद पौडेल महिनाको तीन दिन मात्र कार्यालयमा उपस्थिति जनाउने गरेको खुलासा भएको छ । पौडेलले बागलुङ बजारमा औषधि पसलमा सञ्चालन गर्दै महिनाको तीन दिन मात्र कार्यालयमा बसेर महिनाभरिको हाजिर गरेर जागिर धानिरहेको औषधायलका कर्मचारीहरूले बताएका छन् ।
9 aurbadek-1
कार्यालयका वैद्य राजु पौडेलले बागलुङ जिल्लामा व्यवसाय गरेर बसेका कारणले थोरै समय मात्र कार्यालयमा उपस्थिति जनाउने गरेको बताए । अहिले कार्यालयमा वैद्य राजु पौडेल र दुई कार्यालय सहयोगीको भरमा कार्यसञ्चालन भइरहेको छ । प्रमुखविहीन भएर सात वर्षयता सञ्चालन भइरहँदा सेवाग्राहीहरू मर्कामा परेको स्थानीय बासिन्दा बताउँछन् ।

कार्यालय प्रमुखको सबै काम वैद्य राजुमार्फत नै हुँदै आएको छ । आफ्नो कार्यक्षमताको अभावमा केही बिरामी फर्किएर जानुपर्ने बाध्यता रहेको भन्दै राजुले पौडेलको बारेमा जिल्ला आयुर्वेदिक स्वास्थ्य कार्यालयमा जानकारी गराउँदासमेत आवश्यक कारबाही नगरिएको बताए । पौडेलले सात वर्षदेखि यसरी नै महिनाको तीन दिन मात्र कार्यालयमा उपस्थिति जनाएर महिनाभरको हाजिर गरी कागजात मिलाएर जागिर खाँदै आएको स्थानीयहरूले बताएका छन् । स्थानीय बालज्योति प्राविका शिक्षक हरिप्रसाद तिवारीले अहिलेसम्म पौडेललाई कार्यालयमा तीन दिन मात्र देखेको बताए ।

शंकरपोखरी गाविसका सचिव अनुप भुसालले सँगै जोडिएको कार्यालय भए पनि प्रमुखलाई अहिलेसम्म नदेखेको बताए । सबै कर्मचारीलाई दबाबमा पारेर पौडेलले यसरी नै जागिर धानेको कार्यालयका कर्मचारीहरूले स्वीकारेका हुन् । गाउँमा विभिन्न राजनीतिक दल, नागरिक समाज र शिक्षित सचेत व्यक्तिहरू हुँदाहुँदै पनि आफ्नै गाउँको औषधालयमा नबसी जागिर खाने कर्मचारीविरुद्ध सम्बन्धित निकायमा उजुरी गर्न नसक्नु आश्चर्यको विषय मानिएको छ ।

जिल्ला आयुर्वेदिक औषधालयका प्रमुख डा. पुनम नेपालले कर्मचारीबाट भएको उक्त कार्य गलत भएको धारणा राख्दै कविराज हरिप्रसादबारे अनुसन्धान सुरु गर्ने बताइन् । यसबारे आफूलाई पहिले कहिल्यै जानकारीसमेत नभएको बताउने डा. नेपालले स्थलगत रूपमा बुझेर आवश्यक करबाहीको प्रक्रियामा जाने बताइन् । पुनमले आफूलाई स्थानीयवासीले र आफ्नो कर्मचारीहरूले जानकारी नदिएको र वर्षमा गरिने दुईपटकको अनुगमनमा उपस्थित भएको पाएकोसमेत जानकारी गराइन् ।

पर्वतका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले आफ्नो जिम्मेवारी निर्वाह गर्ने निज कविराज हरिप्रसाद पौडेललाई स्पष्टीकरण सोधिने र गलत गरेको पाइएमा विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए ।
– महेन्द्र जिसी