संविधानप्रति असन्तुष्ट पक्षको बेग्लै मोर्चा

संविधानप्रति असन्तुष्ट पक्षको बेग्लै मोर्चा


काठमाडौं । संविधान जारी भएपछि पैदा भएको असन्तुष्टिको लहरले मधेस आन्दोलन चर्किरहेको बेला वर्तमान संविधान जनविरोधि भएको भन्दै नयाँ आन्दोलन छेड्ने उद्घोषका साथ विभिन्न राजनीतिक दल एवम् शक्तिहरूको एक नयाँ मोर्चा गठन भएको छ । राप्रपा नेपालले बाटो विराएपछि गठित समानान्तर समितिमा नेतृत्वदायी भूमिकामा रहेका पुराना राजनीतिकर्मी श्यामप्रसाद तिमल्सिनाको संयोजकत्वमा ‘राष्ट्रिय जनसङ्घर्ष मोर्चा’ गठन भएको हो । नयाँ संविधान जनभावनाविपरीत भएकोले सो खारेज हुनुपर्ने माग बोकेर मोर्चा गठन भएको सम्बद्ध पक्षले जनाएको छ ।
श्याम तिमल्सिना

संयोजक तिमल्सिनाका अनुसार मोर्चाले मूलभूत रूपमा नेपाल हिन्दुअधिराज्य हुनुपर्ने, संवैधानिक राजसंस्था बहाल हुनुपर्ने, भूकम्पपीडित जनतालाई उचित राहत तथा सेवासुविधा प्रदान गर्नुपर्ने, जनताको गाँसबासको समुचित ग्यारेन्टी गर्नुपर्नेलगायतका माग अघिसारेको छ । विभिन्न स्वरुपका आन्दोलनका कार्यक्रमसहित मोर्चा तत्काल सडकमा उत्रने पनि संयोजक तिमल्सिनाले जानकारी दिए । पहिलो चरणमा जनतालाई जागरुक तुल्याउन तथा मोर्चाबारे बुझाउनको लागि भित्तेलेखन कार्य सुरु गरिने बताइएको छ ।

मधेसमा बन्यो अर्को गठबन्धन
fore madesi
जयप्रकाश गुप्ता नेतृत्वको तराई–मधेस राष्ट्रिय अभियान, शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)ले ‘सङ्घीय समावेशी मधेसी गठबन्धन’ निर्माण गरेका छन् । मधेसमा जारी रहेको आन्दोलनलाई निर्णायक परिणाममा पुर्‍याउनका लागि नयाँ गठबन्धनको निर्माण गरिएको सम्बद्ध पक्षले जनाएको छ । मधेसी जनताको आन्दोलनलाई हरसम्भव तरिकाले शान्तिपूर्ण बाटोबाट निर्णायक परिणाममा पुर्‍याउनुको कुनै विकल्प नरहेको ठहर पनि नवगठित मोर्चाका नेताहरूले गरेका छन् । गठबन्धनले आफ्नो कार्य सञ्चालन र समन्वयका लागि एक संयन्त्र निर्माण तथा वार्ता समितिसमेत गठन गर्ने जनाइएको छ ।

मधेस आन्दोलनलाई अझ प्रभावकारी, सशक्त, सहभागितामूलक र निर्णायक बनाउन गठबन्धन निर्माण गरेको चारपक्षीय सहमतिपत्रमा उल्लेख गरिएको छ । यस्तै, गठबन्धनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, सङ्घीय मधेसी मोर्चा, दलित, मुस्लिम, पिछडावर्गसहितका मधेसी, थारू एवम् कोचिलासहितका आदिवासी जनजातिलगायत सबै आन्दोलनकारी पक्षसँग वार्ता गरी सहकार्यको वातावरण बनाउने जनाएको छ । गठबन्धनले चाँडै मधेस आन्दोलनको मागपत्र तयार गर्ने र परिणाममुखी वार्ताका लागि पनि पहल गर्ने बताइएको छ ।