सरकारले जारी गर्‍यो स्वेतपत्र, आर्थिक बृद्धिदर निरासाजनक

सरकारले जारी गर्‍यो स्वेतपत्र, आर्थिक बृद्धिदर निरासाजनक


swetpatra minister poudel-1
काठमाडौं । महाभूकम्पले बिथोलेको मुलुको अर्थतन्त्रलाई हाल जारी अघोषित नाकाबन्दीले जर्जर तुल्याउन लागेपछि सरकारले देशको वर्तमान आर्थिक अवस्था र नेपाल सरकारको तत्कालको कार्यदिशासम्बन्धी श्वेतपत्र जारी गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार जारी गर्नुभएको स्वेतपत्रमा कृषि क्षेत्रको वृद्धिदर अघिल्लो आर्थिक वर्षमा १ं९ प्रतिशत मात्र रहेकोमा चालु आर्थिक वर्षमा एक प्रतिशतको हाराहारीमा मात्र हुने अवस्था देखिएको उल्लेख गरिएको छ ।

स्वेतपत्रमा उल्लेख जनाइएअनुसार पछिल्लो याम मौसमी प्रतिकूलताले बर्खेबालीमा पारेको प्रभावका कारण कृषि क्षेत्रमा २१ प्रतिशत भार रहेको धानको उत्पादन पाँच प्रतिशतले र सात प्रतिशत भार रहेको मकैको उत्पादन १० प्रतिशतले घट्ने अनुमान गरिएको छ भने रासायनिक मलको आपूर्ति सहज हुन नसकेमा गहुँको उत्पादन पनि ३० प्रतिशतले घट्ने सम्भावना रहेको श्वेतपत्रमा उल्लेख छ । मुलुकको वार्षिक खाद्यान्न आवश्यकता ५३ लाख ४५ हजार मेट्रिक टन रहेकामा २०७२ असार मसान्तसम्म एक लाख ५५ हजार मेट्रिक टन मात्र बचत रहेकाले खाद्यान्न उत्पादनमा आउनसक्ने गिरावटबाट खाद्यसुरक्षा कायम राख्न चुनौती थपिएको अर्थमन्त्री पौडेलले बताउनुभयो । होटल, रेस्टुरेन्ट तथा क्याटरिङ सेवाको माग तथा आपूर्तिमा कमी आई दूध र मासु प्रत्येकको उत्पादन दुई÷दुई प्रतिशतले घट्ने देखिएको अनुमान गरिएको छ ।

गत वर्ष करिब ३६ लाख मेट्रिक टन तरकारी उत्पादन भएकोमा सो को ५० प्रतिशत बर्खायाममा उत्पादन भएकाले समग्रमा यस वर्ष पनि उत्पादनमा कमी नआउने अनुमान गरिएको छ । ढुवानी समस्याले देशका विभिन्न स्थानमा उत्पादन, तरकारी सङ्कलन र बजारीकरण गर्ने कार्य प्रभावित भएको देखिएको छ । कालीमाटी तरकारी तथा फलपूmल बजारबाट मात्रै दैनिक ६०० मेट्रिक टन तरकारी बिक्री हुने गरेकामा हाल ४०० मेट्रिक टन मात्र बिक्री हुने गरेको, दुग्ध विकास संस्थानबाट दैनिक एक लाख लिटर दूध वितरण हुने गरेकामा हाल ८० हजार लिटर मात्र वितरण भइरहेको विवरण प्रस्तुत गरिएको छ ।

ब्वाइलर तथा लेयर्स चल्ला, अण्डा र तरकारी, मासु उत्पादन तथा वितरणमा प्रतिकूल असर परेको, व्यावसायिक रुपमा फस्टाउँदै गरेको दुग्ध उत्पादन तथा कुखुरापालनका लागि आवश्यक पर्ने दानामा प्रयोग हुने मकै, भटमासजस्ता खाद्यपदार्थको आपूर्तिमा कठिनाइ उत्पन्न हुँदा व्यवसाय प्रभावित हुँदै गएको श्वेतपत्रमा उल्लेख छ ।

यस वर्ष हिउँदे बालीलाई लक्ष्यित गरी आयात गर्न लागिएको रासायनिक मल ट्रान्जिटमा रोकिएको र सो मल समयमै आयात भई वितरण हुन नसकेमा हिउँदे बालीको उत्पादनमा कमी आउने देखिएको उल्लेख छ । हालको इन्धन समस्याले कृषिका लागि अपरिहार्य सिँचाइ सुविधासमेत प्रभावित बनेको र विद्युत् उपलब्ध नभएका स्थानमा भूमिगत सिँचाइ र लिफ्ट सिँचाइ अवरुद्ध बनेको उल्लेख छ ।