
काठमाडौं । तराई–मधेसमा जारी आन्दोलनलाई सेना परिचालन गरेर समाप्त पार्ने सोच प्रधानमन्त्री केपी ओलीले बनाउनुभएको छ । आन्दोलन प्रभावित क्षेत्रमा सङ्कटकाल घोषणा गरी सेना परिचालन गर्ने सोच प्रधानमन्त्रीले बनाउनुभएको हो । यस सम्बन्धमा प्रधानमन्त्री ओलीले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग विभिन्न चरणमा परामर्शसमेत गर्नुभएको बुझिएको छ । तर, क्षत्रीले विषय गम्भीर भएकोले थप सोचेर मात्र निर्णय लिन प्रधानमन्त्रीलाई सुझाउनुभएको बुझिएको छ ।
एक सूत्रले जनाएअनुसार आफ्नै मुलुकका जनताविरुद्ध सेना प्रयोग गर्दा त्यसले पैदा गर्ने स्थितिबारे विचार गर्न पनि प्रधानसेनापतिले प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ । जवाफमा प्रधानमन्त्री ओलीले कुनै पनि अवस्थाका लागि तयार रहन सेनापतिलाई निर्देशन दिनुभएको बुझिएको छ । सेना अगाडि आउँदा जनता स्वागत गर्ने मानसिकतामा रहेका, आन्दोलनकारी पनि सेनाको मुख ताक्नुपर्ने अवस्थामा रहेको र सत्तारुढ पक्षसमेत सेनाकै सहारा लिनुपर्ने सोचमा रहेकोले देशमा सेनाको भूमिका अपरिहार्य हुने सम्भावना बढ्दै गएको छ । तर, तीनैथरी शक्ति (जनता, आन्दोलनकारी र सत्ता) सेनाको भूमिका आफ्नो पक्षमा होस् भन्ने चाहन्छन् । सेना भने देश र जनताबाहेक अरू कसैको निम्ति परिचालित हुन असम्भव ठानिन्छ । जे होस्, यतिबेला नेपाली सेना सबैको आशा र भरोसाको केन्द्र बन्दै गएको छ ।
प्रतिक्रिया