मधेस आन्दोलन जारी रहे कांग्रेस महाधिवेशन अनिश्चित :: को–को बन्दैछन् उम्मेदवार ?

मधेस आन्दोलन जारी रहे कांग्रेस महाधिवेशन अनिश्चित :: को–को बन्दैछन् उम्मेदवार ?


nepali-congress
काठमाडौं । नेपाली कांग्रेस आफ्नो तेह्रौँ महाधिवेशनको तयारीमा जुटेको भए पनि मधेस–तराईका कतिपय जिल्लामा असामान्य स्थिति कायम रहेमा महाधिवेशन सम्पन्न गर्न नसकिने देखिएको छ । तराईमा यही स्थिति रहे कतिपय जिल्लामा अधिवेशन गराउन नसकिने र कांग्रेसका सांसद तथा अन्य नेताहरू जिल्ला जान सक्ने अवस्था नरहेकोले महाधिवेशन सङ्कटमा पर्ने स्थिति बनेको हो । यद्यपि देशमा हाल देखापरेको स्थिति थप एक या दुई महिनासम्म रहन नसक्ने भएकोले महाधिवेशनको समयसम्ममा परिस्थिति सहज हुने अपेक्षा भने गरिएको छ ।
Ramchandra
नेपाली कांग्रेसमा सभापतिको उम्मेदवार बन्न वरिष्ठ नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति रामचन्द्र पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । सभापति सुशील कोइराला आफैँ अर्को एक कार्यकालका लागि सभापति बन्न अग्रसर हुने अनुमान पनि कांग्रेसभित्र गरिएको छ । कोइरालाले आफू क्यान्सरमुक्त भएको घोषणा अमेरिकाबाट गर्नुलाई सभापतिमा पुन: उम्मेदवार बन्ने सङ्केतका रूपमा लिइएको छ । तर, पार्टीभित्र सुशील कोइरालाको स्थिति कमजोर भएकोले उनले अवकाश लिनु उपयुक्त हुने धारणा पनि प्रबल देखिएको छ । आफूलाई संस्थापन पक्षको दाबी गर्ने एकथरीले भने सुशील कोइरालासँगै शेरबहादुर देउवा र रामचन्द्र पौडेलले समेत अवकाश लिएर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा प्रकट गरिरहेका छन् । यस्तो प्रस्तावप्रति नेता रामचन्द्र पौडेलले असहमति जनाउनुभएको छ । आफूले पार्टी सभापति या प्रधानमन्त्रीको जिम्मेवारी नसम्हालेकोले कोइराला र देउवाझैँ अवकाश लिनुपर्ने अवस्थामा नरहेको पौडेलको भनाइ छ । दुई नेताहरूले अवकाश लिई आफूलाई नेतृत्व हस्तान्तरण गर्नु भनेकै नयाँ पुस्तालाई नेतृत्व सुम्पिएको हुने दाबी पनि पौडेलको छ । पौडेलको यस्तो धारणा भए पनि संस्थापन पक्षका एकथरी कोइराला र देउवासँगै पौडेललाई पनि अवकाश गराउनुपर्ने विचार प्रकट गरिरहेका छन् ।

तर, रामचन्द्र पौडेल भने सुशील कोइराला अमेरिकाबाट फर्किएलगत्तै उनीसँग कुराकानी गरेर सभापतिमा उम्मेदवारी दिने घोषणा गर्ने तयारी गर्दै छन् । कदाचित कोइरालाको असहमति भएछ भने पनि पौडेल तेह्रौँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न दृढ देखिएका छन् । सुशील कोइराला र उनका समर्थकहरू सकेसम्म कोइरालालाई नै अर्को एक कार्यकालका लागि सभापति बनाउने, त्यसो नभए डा. शशांक कोइरालालाई सभापतिको उम्मेदवार बनाउने तयारीमा छन् । डा. रामशरण महत, प्रकाशमान सिंह, कृष्ण सिटौला र अर्जुननरसिंह केसीले पनि सभापतिको उम्मेदवार बन्ने इच्छा प्रकट गरेका छन् । तर, उल्लिखित चार नेतालाई उपसभापति या महामन्त्रीमा चयन गरेर अघि बढ्ने स्थिति बन्ने सम्भावना अधिक रहेको छ । यसअघि सुशील कोइरालाको समर्थक रहेका कृष्ण सिटौला क्याम्प परिवर्तन गरी देउवालाई समर्थन गर्न पुगेका छन् । संस्थापन पक्षले उपसभापति या महामन्त्री नबनाएमा मात्र सिटौलाले देउवालाई साथ दिने हो या उनी सुरुदेखि नै खुलेर देउवाको पक्षमा लाग्ने हो, यो स्पष्ट भइसकेको छैन । तर, सिटौलाको निकटस्थ मानिएका केशवकुमार बुढाथोकी देउवा क्याम्पमा जानुले सिटौला पनि उपयुक्त समयमा देउवाको पक्षमा खुलेर लाग्ने सङ्केत दिएको छ ।

उपसभापति र महामन्त्री पदका लागि डा. रामशरण महत, खुमबहादुर खड्का, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शशांक कोइराला र अर्जुननरसिंह केसी बलिया उम्मेदवार मानिएका छन् । यी नेताहरू कसको टिममा बसेर चुनाव लड्ने हुन् सो भने अहिले यकिन भइसकेको छैन । बहुपदीय प्रणालीमा जान सुशील कोइरालाले केही अघिदेखि नै प्रयास गरिरहेका छन् । वरिष्ठ नेता देउवा बहुपदीय प्रणालीमा जाने पक्षमा छैनन् । देउवा विद्यमान विधानलाई यथावत् राखेर महाधिवेशनमा जाने पक्षमा छन् । बहुपदीय प्रणालीमा जाँदा कोइरालालाई अनुकूल हुने भएकोले पनि देउवा विधान संशोधनको विपक्षमा उभिएका हुन् ।