अध्यक्ष पद छोड्न प्रचण्ड तयार

अध्यक्ष पद छोड्न प्रचण्ड तयार


prachanda
काठमाडौ. । आफू असुरक्षित र कमजोर महसुस गरेपछि एमाओवादी अध्यक्ष प्रचण्ड मोहन वैद्य नेतृत्वको माओवादीसँग पार्टी एकता गर्न हतारिएका छन् । उनी वैद्यका सबै सर्त स्वीकार गर्न तयार भएपछि दुई पार्टीबीच एकीकरणको प्रक्रिया अघि बढेको छ । प्राप्त समाचारअनुसार प्रचण्ड एकीकृत माओवादी पार्टीको अध्यक्ष पद छोड्न तयार भएका छन् र आफू संसदीय दलको नेता मात्र भएर बस्ने जानकारी मोहन वैद्य किरणलाई दिएका छन् । भनिन्छ, प्रचण्ड पछिल्लो समयमा अत्यन्त निराश बनेका छन् । डा. बाबुराम भट्टराईले पार्टी परित्याग गरेपछि झस्किएका प्रचण्ड केही साताअघि जेनेभामा सम्पन्न मानवअधिकारसम्बन्धी सम्मेलनमा भारतका प्रतिनिधिले माओवादीको हिंसात्मक युद्धकालमा मानवअधिकारको घोर उल्लङ्घन भएको स्पष्ट गर्दै त्यसबेला भएको नरसंहारको छानबिन हुनुपर्ने धारणा राखेपछि प्रचण्ड थप त्रसित भएका हुन् ।

गत असोज ३ गते संविधान जारी गराउन आफ्नो सर्वाधिक महत्त्वपूर्ण र निर्णायक भूमिका भएको ठान्ने प्रचण्डले केपी ओली नेतृत्वमा वामपन्थीहरूको सरकार गठन गरिनु र उच्चस्तरीय संयन्त्रको प्रमुख हुनुलाई पनि प्रचण्डले आफ्नो सफलता ठानेका छन् । तर, यति ठूलो सफलता हासिल गर्दा पनि आफ्नो पार्टी र पार्टीगत हैसियत कमजोर हुनुलाई भने उनले आफूहरूको सफलता ठानेका छन् । पार्टीमा निष्ठावानहरूको कमी भएको स्वीकार गर्दै प्रचण्डले किरण र बादलजीलगायतका नेताहरू निष्ठावान भएको अनुभूति आफूलाई भएको जनाउ मोहन वैद्य किरणसँगको संवादका क्रममा प्रचण्डले दिएका छन् । अध्यक्षको जिम्मेवारी लिइरहँदा समस्या भएको हो भने म त्यो पद छोड्न तयार छु, वैद्यजी या बादलजी जसले अध्यक्षको जिम्मेवारी लिए पनि हुन्छ, तर पार्टीचाहिँ जतिसक्दो चाँडो एकीकृत हुनुपर्‍यो भनी अनेकौँ चरणको वार्ताको क्रममा प्रचण्डले भनेपछि वैद्यसहित उनका समर्थक खुसी भएका छन् र पार्टी एकताका लागि तयार भएका छन् ।

पार्टी एकीकरणका लागि मोहन वैद्यले धेरै अघि नै प्रचण्डसमक्ष राखेको ६ बुँदे प्रस्तावमध्ये पाँचवटालाई प्रचण्डले स्वीकार गरिसकेका छन् । कार्यदिशाबारे मात्र दुई पक्षबीच कुरा मिल्न बाँकी रहेको छ । मोहन वैद्य नयाँ जनवादी क्रान्तिलाई नै पार्टीको कार्यदिशा बनाउने पक्षमा छन् भने प्रचण्डले जनवादी क्रान्ति सम्पन्न भइसकेकोले समाजवादलाई लक्ष्य बनाउनुपर्ने व्यहोरा आफ्नो पार्टीको दस्तावेजहरूमा उल्लेख गरेका छन् । सम्बद्ध सूत्रले जनाएअनुसार प्रचण्ड कार्यदिशाबारे पनि लचिलो बनेका छन् र ‘जनवादी क्रान्तिलाई पूर्णता दिँदै समाजवादमा जाने’ कार्यदिशा तय गर्ने सोचमा उनी रहेका छन् ।

पछिल्लो समयमा केही हदसम्म सफलता प्राप्त गरे पनि प्रचण्ड निराश बनेका छन् र तत्काल माओवादी आन्दोलन पुनर्संङ्गठित नभए गम्भीर सङ्कट व्यहोर्नुपर्ने उनको निष्कर्ष छ । प्रचण्ड पार्टी एकताका लागि हतारिए पनि वैद्यमा त्यसप्रकारको हतारो देखिएको छैन । फागुन १ गते जनयुद्ध दिवसको दिन पारेर पार्टी एकीकरणको घोषणा गर्नु उपयुक्त हुने सोच वैद्यलगायतका नेताहरूले बताएका छन् ।