कसले रोकायो राष्ट्रबैंकको आन्दोलन ?

कसले रोकायो राष्ट्रबैंकको आन्दोलन ?


Bishnu Paudel
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकमा विगत दुई महिनादेखि चलेको आन्दोलन अन्त्य गराएका छन् । एमालेसम्बद्ध कर्मचारी सङ्घले सेवा सुरु गरेको सात वर्षमा जागिर छोड्न चाहनेहरूलाई एक तह माथिको सेवा सुविधा दिएर बिदा गरिनुपर्ने, नौ वर्षसम्म सेवा गरेका सबै कर्मचारीलाई स्वत: बढुवा गर्नुपर्नेलगायतका माग राखी आन्दोलन गर्दै आएका थिए । आन्दोलनका क्रममा उनीहरूले गभर्नरलाई आफ्नो कार्यकक्षबाट बाहिर निस्कन नदिने र राष्ट्र बैंकको नियमित कामकारबाही ठप्प पार्ने काम गर्दै आएका थिए । देशको अवस्था सङ्कटग्रस्त बनेको र सङ्कटका कारण आर्थिक क्षेत्र तहसनहस हुने स्थितिमा पुगेकोले अर्थमन्त्री पौडेल गम्भीर भए र उनले गत आइतबार आन्दोलनकारी नेता तथा डिपुटी गभर्नर महाप्रसाद अधिकारीलाई छलफलका निम्ति आफ्नै निवासस्थानमा उपस्थित गराएका थिए ।
छलफलका क्रममा कर्मचारी नेताहरूले आफूहरू मर्न तयार रहेको तर आन्दोलनबाट पछि हट्ने अवस्थामा नरहेको बताए । कर्मचारीका कुराले गम्भीर बनेका मन्त्री पौडेलले ‘राज्य यतिबेला कुनै पनि प्रकारको आर्थिक भार वहन गर्न सक्ने अवस्थामा नरहेको’ स्पष्ट गर्दै बिनासर्त आन्दोलन रोक्न निर्देशन दिए । बलजफ्ती आन्दोलन गरे कानुनबमोजिम कारबाही गर्न आफू पछि नपर्ने चेतावनी पनि मन्त्री पौडेलले दिए । मन्त्रीको कडा निर्देशनपश्चात् दुई महिनादेखि राष्ट्र बैंकमा चल्दै आएको आन्दोलन सोमबारदेखि रोकिएको छ । यस घटनाबाट आन्दोलनको बलमा डा. चिरञ्जीवी नेपाललाई हटाएर आफू गभर्नर बन्ने योजनामा रहेका महाप्रसाद अधिकारीलाई भने गहिरो धक्का लागेको बुझिएको छ ।