यसकार बेग्लिएछन् प्रचण्ड !

यसकार बेग्लिएछन् प्रचण्ड !


prachanda
काठमाडौं । संविधान जारी गर्ने समयताक सबैभन्दा आक्रामक देखिनुहुने एमाओवादी अध्यक्ष प्रचण्ड पछिल्लो दुई साताभित्र निकै छटपटिनुभएको महसुस गर्न थालिएको छ । केपी ओली प्रधानमन्त्री पदमा कायम रहेसम्म देशको विद्यमान सङ्कट अन्त्य नहुने निष्कर्षमा पुगिसक्नुभएका प्रचण्ड तत्कालै सरकार परिवर्तन गर्दा त्यसको कस्तो सन्देश जान्छ र कस्तो प्रकारको असर पर्न सक्छ भन्ने विषयलाई लिएर मात्र विचार गर्दै हुनुहुन्छ । सुरुमा कम से कम कांग्रेसको महाधिवेशन (फागुन २०७२) सम्म ओलीलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा रहनुभएका प्रचण्डले त्यसपछि सय दिन पूरा गर्न दिने मानसिकता बनाउनुभयो, अहिले आगामी दुई साताभित्रै सरकार परिवर्तन गर्न सकिने निष्कर्षमा उहाँ पुग्नुभएको छ । तर, उहाँ आफ्नो नेतृत्वमा नयाँ सरकार गठन भए मात्र ओली नेतृत्वको सरकार विस्थापित गर्ने मानसिकतामा रहनुभएको र प्रचण्डले विभिन्न शक्तिकेन्द्रबाट प्रधानमन्त्री बन्न सहयोग प्राप्त हुने आश्वासन पनि पाइसक्नुभएको बुझिएको छ ।

प्रधानमन्त्री बनाइने आश्वासन पाएपछि प्रचण्ड केही बेग्निुभएको छ र उहाँले मधेस आन्दोलनप्रति पहिलेभन्दा फरक धारणा प्रकट गर्न पनि थाल्नुभएको छ । प्रधानमन्त्री ओली र नेकपा एमालेको नेतृत्व सीमाङ्कनमा कुनै प्रकारको फेरबदल गर्न नहुने अडानमा रहँदा पनि प्रचण्ड भने पूर्वको सुनसरी र पश्चिमका कैलाली तथा बर्दियालाई टुक्य्राएर नयाँ सीमाङ्कन गर्न तयार हुनुभएको छ । प्रधानमन्त्री बनाइने विश्वास बढ्दै गएमा प्रचण्डले मधेसका आन्दोलनकारीको हरेक माग पूरा गर्न र भारतसँगको असमझदारी हटाउन अग्रसर बन्नुहुने सम्भावना बढेको छ । राष्ट्रियता र राष्ट्रवादको रक्षाको निम्ति साइकल चढ्न जनतालाई आहवान गर्ने र भारतसँग लडिरहने, कहिल्यै नझुक्ने अभिव्यक्ति दिनुहुने प्रचण्डमा पछिल्लो समयमा देखिएको परिवर्तनले सरकारको आयु छोट्याउने सङ्केत दिएको छ ।

प्रचण्डले प्रधानमन्त्री बन्ने मानसिकता बनाउनुभएको भए पनि नेपाली कांग्रेस भने आफ्नो महाधिवेशनअघि सरकार बदल्ने खेलमा लाग्न पूर्ण इच्छुक देखिएको छैन । त्यसमाथि कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारेमा कुनै सोच बनाएको पाइन्न । ओलीलाई विस्थापित गरेपछि आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्छ भन्ने सोच कांग्रेस नेताहरूले बनाएका छन् । कांग्रेसको सहयोगबिना प्रचण्ड प्रधानमन्त्री बन्न सम्भव देखिँदैन । तथापि प्रचण्डको व्यवहारमा परिवर्तन आएकोचाहिँ कांग्रेस नेताहरूले पनि महसुस गरेका छन् । उच्चस्तरीय बैठकलाई आफ्नो चाहनाबमोजिमको निर्णय गराउन समर्थ रहँदै आउनुभएका प्रचण्ड गत आइतबार र त्यसभन्दा लगत्तै अघिपछिका उच्चस्तरीय बैठकहरूमा कम बोल्ने या बोल्दै नबोल्ने गर्दै आउनुभएको छ । प्रचण्डको व्यवहारमा देखिएको परिवर्तनबाट प्रधानमन्त्री ओली पनि सशङ्कित बन्न थाल्नुभएको छ । तर, ओलीले प्रधानमन्त्रीमा रहिरहनका लागि भनेर आफ्नो अडानबाट पछि नहट्ने स्पष्ट गर्दै आउनुभएको छ । ओलीको भनाइ उद्धृत गर्दै ओलीनिकटस्थ एक नेताले भने, ‘म आजै पदबाट हट्नुपरे पनि परोस् अडान छोड्दिनँ ।’