
काठमाडौं । आफूलाई जिब्रो र फोक्सोमा क्यान्सर भए पनि त्यो पूर्ण रुपमा निर्मुल भएको नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले दाबी गरेका छन् । संयुक्त राज्य अमेरिकाबाट स्वास्थ्य उपचार गराई बिहिबार स्वदेश फर्किएका सभापति कोइरालाले आफ्नो स्वास्थ्य ठीक रहेको र अब छिट्टै मुलुकको समस्या पनि समाधान हुने दाबी गरे । मुलुकको वर्तमान समस्या वार्ता र सहमतिका माध्यमबाट छिट्टै समाधान हुने उनको कथन थियो । कोइराला गत कात्तिक २१ गते उपचारको लागि अमेरिका गएका थिए ।
पूर्वप्रधानमन्त्री कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चिकित्सकले चार÷चार महिनामा ‘फ्लोअप’का लागि बोलाएको भए पनि आफू एक वर्षमा जाँदा समेत आफूलाई जिब्रो र फोक्सोमा लागेको क्यान्सर रोग पूर्णरुपमा निको भएको भन्दै हर्ष प्रकट गरे ।
सो अवसरमा तराई–मधेसमा भइरहेको आन्दोलनको माग समाधानका लागि आफू नेतृत्वको सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाएको जानकारी गराउँदै उनले संशोधनको प्रक्रिया अघि बढे आन्दोलनको माग सम्बोधन हुने भन्दै यसमा सबै लाग्नुपर्ने उल्लेख गरे । मुलुकको राष्ट्रियता, अखण्डता र सार्वभौमसत्तामाथि कुनै पनि किसिमको खतरामा हुन नहुने भन्दै सभापति कोइरालाले आन्दोलनरत दललाई पनि आन्दोलन शान्तिपूर्ण बनाउन आग्रह गरे । उनले मधेसमा उठेका मागलाई पूर्णरुपमा बेवास्ता गरेर अघि बढ्न पनि नसकिने विचार व्यक्त गरे ।
सभापति कोइरालालाई कांग्रेसका महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, प्रवक्ता दीलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, बलबहादुर केसीलगायत नेता कार्यकर्ताले विमानस्थलमा स्वागत गरेका थिए ।
प्रतिक्रिया