‘नेपाली सेना’ पनि चिन्तित !

‘नेपाली सेना’ पनि चिन्तित !


Army 2
काठमाडौं । मुलुकको समसामयिक परिस्थितिबारे नेपाली सेनाले सो सङ्गठनका अग्रजहरुसँग आवश्यक जानकारी लिएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आइतबार आयोजित अन्तरक्रियामा सहभागी पूर्व प्रधानसेनापति र अवकाशप्राप्त रथीबृन्दले देशमा उत्पन्न वर्तमान असहज परिस्थितिमाथि गम्भीर चिन्ता र चासो व्यक्त गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । तराई मधेसमा उत्पन्न समस्या ‘राजनीतिक’ भएको जनाउँदै उहाँहरुले राजनीतिक तवरबाटै यो समस्याको शीघ्र समाधान हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

नेपाली सेना संविधानसम्मत विधि र प्रक्रिया पु¥याई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षार्थ एवम् आमजनताको जीउधन सुरक्षाका लागि अवस्था, परिस्थिति र आवश्यकतानुरुप तैनाथीका लागि तयारीमा रहनुपर्ने धारणा र सुझाव अन्तरक्रियामा आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो अवसरमा नेपाली सेनाको वर्तमान अवस्था, भावी कार्यदिशा एवम् नेपाली सेनासँग सम्बन्धित विषयवस्तुमा जानकारीमूलक ढङ्गबाट अन्तरक्रिया भएकोे बताइएको छ ।

नेपाली सेनाका विभिन्न निर्देशनालयद्वारा वस्तुस्थिति, प्रधान सेनापतिको नेतृत्व र मार्ग निर्देशन, नेपाली सेनाको नीति तथा भावी योजना र कल्याणकारी योजनालगायत अन्य समसामयिक विषयवस्तुमा पनि गहन छलफल गरिएको थियो । सङ्गठनमा रहेर लामो अनुभव, ज्ञान र सीप आर्जन गर्नुभएका पूर्वप्रधानसेनापति र रथीबृन्दबाट आएका रचनात्मक टिप्पणी, सल्लाह र सुझावले सेनालाई अझ बढी सक्षम एवम् सबल बनाउन आधार प्रदान गर्ने नेपाली सेनाले विश्वास लिएको छ ।