आइस हक्कीमा शाहीको निरन्तरता

आइस हक्कीमा शाहीको निरन्तरता


shahi
नेपाल आइस हक्की सङ्घको पहिलो साधारणसभाले लोकबहादुर शाहीको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । नवनिर्वाचित केन्द्रीय कार्यसमितिको उपाध्यक्षद्वयमा भुवन पाठक र श्रीविक्रम भण्डारी, महासचिवमा गणेश रिमाल, सचिवमा रामसुदन तिमिल्सिना तथा कोषाध्यक्षमा हरि मानन्धर रहेका छन् । त्यस्तै प्रज्ज्वल थापा, देवकृष्ण थापा, लेखनाथ शर्मा, विद्याप्रसाद मरासिनी, गणेशप्रसाद तिमिल्सिना, विपिका अधिकारी, जीवनबल लामा, राजेन्द्रकुमार श्रेष्ठ, मुकेश शाही, अर्जुन लामा र दामोदर अर्याल सदस्यमा चयन भएका छन् ।

साधारणसभामा केन्द्र र विभिन्न १५ जिल्लाका गरी जम्मा ४९ प्रतिनिधिको उपस्थिति रहेको थियो । नवनिर्वाचित पदाधिकारीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत सङ्घसंस्था समन्वय शाखाका प्रमुख एवम् प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए भने आइस हक्की सङ्घका सल्लाहकार रामकृष्ण पन्थीले प्रमाणपत्र प्रदान गरेका थिए ।

यसअघि साधारणसभाको राखेप सदस्यसचिव केशवकुमार विष्टले उद्घाटन गरेका थिए । सो अवसरमा विष्टले पहिले आफू आइस हक्की सङ्घबारे अन्योलमा रहे पनि पछि यो खेलको नेपालमा सम्भाव्यता र पाउन सक्ने सफलताबारे प्रस्ट भएको बताए । साथै नेपालको भौगोलिक बनावटअनुरूप आइस हक्की खेल नेपाल सुहाउँदो खेल भएको पनि प्रस्ट पारेका थिए । खेलकुद र पर्यटनको विकासका आइस हक्की कोसेढुङ्गा साविक हुने विश्वास प्रकट गर्दै यो खेलको विकासका लागि आफूले सक्दो सहयोग गर्ने विचार प्रकट गरेका थिए । त्यस्तै आइस हक्कीको पूर्वाधार निर्माणका लागि सङ्घले आर्थिक सहयोग जुटाएको खण्डमा परिषद्ले जग्गा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सो अवसरमा आइस हक्की सङ्घले खेलकुदको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत सदस्यसचिव विष्टलाई सम्मान गरेको थियो । अध्यक्ष शाहीले सदस्यसचिव विष्टलाई सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए । २०७१ साल असार ३ गते आइस हक्की सङ्घ राखेपमा एक सय ४२ औँ सङ्घको रूपमा दर्ता भएको थियो । साधारणसभा सम्पन्न भएपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकले मदन केसीलाई उपाध्यक्ष, विजय खड्कालाई सहसचिव, सुन्दर थापा क्षेत्रीलाई सहकोषाध्यक्ष तथा दिलबहादुर लामा गुरुङ र रोजिना गुरुङलाई सदस्यमा मनोनयन गरेको छ ।