तेलमा झेल गर्ने कालोबजारिया प्रहरी फन्दामा

तेलमा झेल गर्ने कालोबजारिया प्रहरी फन्दामा


dugar 222
काठमाडौं । भारतीय अघोषित नाकाबन्दीबाट देशमा भइरहेको असहज परिस्थितिको फाइदा उठाउँदै जनताले दैनिक उपभोग गर्ने खाने तेलमा कालोबजारी गर्ने दुगड समूह प्रहरीको फन्दामा परेको छ । बजारमा तेलको अभाव सिर्जना गरी तिनगुणा सम्म मूल्य बढाएका धारा तेलका मालिक कृष्णलाल दुगड र उनका छोरा नरेश दुगड फरार रहे पनि प्रहरीले केएल ब्रदर्श स्टोर्सका प्रबन्धक अमन जैन र सम्पर्क अधिकृत प्रमोद अधिकारीलाई पक्राउ गरी शुक्रबार अदालतबाट म्याद थप गरी हिरासतमा राखेको छ । फरार अभियुक्तहरूको खोजी तीव्र रूपमा भइरहेको बुझिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विक्रमसिंह थापाका अनुसार दशैं अघिसम्म रू. १२०/- देखि १५०/– सम्ममा पाइने धारा एवम् सनफ्लावर तेल वर्तमा असहज परिस्थितिको मौका छोपेर प्रतिलिटर ३ सय सम्ममा बिक्री गरेको पाइएको छ । विभिन्न दलका नेताहरूलाई आर्थिक प्रलोभनमा पारी लामो समयदेखि जनताको पेटमा लात हानी ब्रम्हलुट मच्चाएको दुगड समूहको कालोबजारी अन्ततः प्रहरी प्रशासनको सक्रियताका कारण पर्दाफास भएको छ ।

बताइएअनुसार गत एक सातादेखि परिसरको टोलीले यस्ता अनियमित कार्यमा संलग्न ब्ययापारी तथा कालाबजारीयाहरूमाथि निगरानी र अनुसन्धान गर्दै आएको थियो । केएल दुगड समूहले गर्दैआएको कृत्रिम अभाव र ठगीबारे सम्बन्धित स्रोतहरूबाट प्रहरीमा सूचना आइरहेको थियो । यसक्रमा जडिबुटीस्थित गोदाममा बानेश्वर वृत्तका डिएसपी दानबहादुर कार्कीको कमाण्डमा गएको टोलीले छापा मार्दा १ लाख १३ हजार लिटर तेलमा आफूखुशी मूल्य राखेर स्टीकर राखेको फेला पारेको थियो । आफूलाई नेपालको ठूलो व्यापारी समूह भनेर गर्व गर्ने दुगड समूहको वास्तविक अनुहार छर्लङ्ग भएपछि यतिखेर समूहका संचालक कृष्णलाल दुगड र उनका छोरा नरेश दुगड विभिन्न शक्ति केन्द्रमा धाइरहेको बुझिएको छ ।

महँगीको चपेटाले सेकिएका जनताले राष्ट्रको स्वाभिमानका लागि अनेक कष्ट सहेर बसिरहेका बेला सरकारले दुगडजस्ता कालाबजारीयालाई यथोचित कारवाही नगरी साथ दिन खोजेमा पीडित जनता सरकारविरुद्ध नै सडकमा उत्रनेमा सन्देह छैन । यसअघि पनि नेपालका व्यापारी घरानियाहरुले राजनीतिक पार्टीका नेतालाई मोटो रकम दिई राजनीतिमै अवान्छित बर्चस्व कायम गर्ने गरेका थिए । प्रहरीको अथक प्रयासपछि फेला पारिएको तेलको कालाबजारीयालाई हदैसम्मको कार्वाही हुनुपर्ने माग उठेको छ । प्रतिलिटर तेलमा २ सय रुपैयाँ बृद्धि गर्दा समेत सरकारको आँखामा नपरेको खाने तेलको कालोबजारीलाई काठमाडौं प्रहरीले प्रक्राउ गरेकोमा जनताले प्रहरीको जयजयकार गरेका छन् भने कालोबजारी गर्ने जो–कोहीलाई कडा कार्वाही हुनुपर्ने माग राखेका छन् ।

यसैबीच तेलमा कालोबजारी गर्ने ब्यावसायीमाथि प्रहरी कारवाहीबाट खुशी भएका कतिपय पीडित उपभोक्ताले सम्बन्धित प्रहरी निकायलाई स्यावासी दिएको र संकटको यस्तो बेला दोब्बर तेब्बर मूल्य असुल्न सक्ने व्यवसायीले खानेतेलमा पनि मिसावट गरेर जनताको स्वास्थ्यमा खेलबाड गरेको हुन सक्ने भएकोले सोको छानबिन गर्नसमेत आग्रह गरेको बुझिएको छ । आफ्नो उत्पादनमा नेपाल गुणस्तरको छाप लगाएक दुगडजस्ता व्यापारीले कतै गुणस्तर प्रमाण पत्र पनि राज्यका निकायलाई प्रभावमा पारेर नै हत्याएका त होइनन् भन्ने उपभोक्ताको आशंका छ । नापतौल तथा गुणस्तर निकायले दुगडको खानेतेलमा मिसावट भए-नभएको तुरुन्त जाँच गर्नुपर्ने आमजनताको आवाज छ ।