‘हिम्मतवाली’ले किन देखाइनन् यो हिम्मत ?

‘हिम्मतवाली’ले किन देखाइनन् यो हिम्मत ?


rekha thapa 3
‘दम्भ’ प्रदर्शनमा अग्रपङ्क्तिमै पर्छिन् नायिका रेखा थापा । विवाहको १० वर्षपछि छवि ओझासँग सम्बन्धविच्छेद गर्दा कुनै कुमारी केटीकै झैँ दम्भ देखाउँदै भन्छिन्, ‘कुनै मन खाने तन्नेरी भेटेँ भने विवाह गर्न पनि सक्छु ।’

केही फिल्ममा सशक्त द्वन्द्व गरेर चर्चामा आएकी रेखा पछिल्लो समय निर्देशक पनि भइन् । अरू जे–जे भए पनि नेपाली समाजका समग्र महिलाको तुलनामा उनले देखाएको हिम्मतको भने सम्मान गर्नैपर्छ । छविसँग छुट्टिएपछि रेखाले निर्माणबाट हात धुन्छिन् भन्नेहरूका अगाडि उनी झन् निर्देशक नै बनेर प्रस्तुत भइन् । अहिले पनि उनको फिल्म निर्माण– यात्रा जारी छ ।

पछिल्लो समय आर्थिक बद्मासीमा उनको नाम जोडिएपछि उनको अर्को पाटो पनि सार्वजनिक भएको छ । उनीबारे टिप्पणी गर्नेहरू भन्न थालेका छन्, ‘रेखाको बोली फरासिलो भए पनि व्यवहार कप्टी छ ।’
खोटाङको सामाजिक संस्था सगरमाथा जनसेवा समाजबाट एक लाख रुपैयाँ लिएर पनि वचन दिएअनुसार कार्यक्रममा सहभागी हुन नगएपछि उनको बारेमा टिप्पणी गर्नेहरूलाई मसला मिलेको छ । ढिला निम्ता गरेकाले कार्यक्रममा जान नसकेको भन्ने रेखाको तर्कसँग सोहै्रैआना सहमत हुन सकिन्छ । तर, एक लाख यत्तिकै पचाउन खोजेको पनि बिर्सन हुँदैन । उनी अहिले भन्न थालेकी छिन्, ‘मलाई नखाएको विष लाग्यो ।’ उनको भनाइसँग सहमत हुन सकिन्न । किनकि, उनलाई खाएकै विष लागेको हो । कार्यक्रममा जान नभ्याउने मान्छेले किन एक लाख तिर्ने हिम्मत गरिनन् त ?