आपूर्ति व्यवस्थापन सहज हुने परराष्ट्रमन्त्री थापाको दाबी

आपूर्ति व्यवस्थापन सहज हुने परराष्ट्रमन्त्री थापाको दाबी


KAMAL-THAPA 3
काठमाडौं । सीमा नाकामा देखिएको अवरोध र अघोषित नाकाबन्दी यथाशीघ्र अन्त्य भएर पारवाहन र आपूर्ति व्यवस्थापनमा सहज हुने उपप्रधानमन्त्री कमल थापाले दाबी गरेका छन् । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा परराष्ट्रमन्त्री थापाले भारतीय नेतासँग भएको पछिल्लो कुराकानीबाट अब यो समस्या सामाधानतर्फ उन्मुख भएको विश्वास आफूले लिएको उल्लेख गर्दै यद्यपि परिणाममा त्यो कुरा रुपान्तरण भएसम्म हामीले ढुक्क भएर बस्ने अवस्था नरहेको, निरन्तर सचेत रहनुपर्ने र यसको लागि कूटनीतिक प्रयासलाई निरन्तर रुपमा जारी राख्न सरकार सचेत रहेको बताए ।

समस्या समाधानका लागि राजनीतिक, आपूर्ति व्यवस्थापन र कूटनीतिक पक्षबाट मुख्य रुपमा पहलकदमी भइरहेको जानकारी दिँदै उनले मधेसकेन्द्रित राजनीतिक दलले सञ्चालन गरेको आन्दोलनमार्फत उठाएको मागलाई सम्बोधन गर्ने क्रममा सरकार, प्रमुख प्रतिपक्ष अन्य राजनीतिक दलबाट सघन प्रयास भइरहेको उल्लेख गरे । उपप्रधानमन्त्री थापाले समस्या समाधानका लागि विभिन्न चरणमा औपचारिक र अनौपचारिक वार्ताका प्रयास प्रभावकारी रुपमा सम्पन्न भइसकेको जनाउँदै माध्यमबाट विवादित विषयमा साझा धरातल खोज्ने प्रयास भइरहेको र विवाद साँघुरो भएको दाबी गरे । सत्तारुढ दल र प्रतिपक्षले मधेसकेन्द्रित दलले उठाएका मागलाई सम्बोधन गर्न साझा प्रस्ताव तयार गर्नु आफैँमा ठूलो उपलब्धि हो भन्दै उपप्रधानमन्त्री थापाले साझा प्रस्तावले आन्दोलनरत दलको महत्वपूर्ण मागलाई सम्बोधन गरेको जिकिर गरे।