खासामा बेचिनुअघि फर्काइए नेपाली चेली

खासामा बेचिनुअघि फर्काइए नेपाली चेली


खासामा बेचिनुअघि फर्काइए नेपाली चेली
काठमाडौं । नेपालका चेली बेचिने गन्तव्य विस्तारित हुँदै गएको चर्चा चलिरहेको परिवेशबीच चीनको खासास्थित डान्सबारमा काम गर्न हिँडेका ७८ बालबालिकासहित १ सय ७८ चेलीलाई सीमानाकाबाट फर्काइएको छ । उनीहरुलाई बिक्री गर्न खासातर्फ लगिएको आशंकाका आधारमा तातोपानी नाकाबाट माइती नेपालले फर्काएको हो । बेचबिखनको नयाँ गन्तव्यका रुपमा लिइएको चीनको तिब्बतस्थित खासामा हुने सम्भावित बेचबिखनबाट जोगाउन उनीहरुलाई फर्काइएको माइती नेपाल सुत्रले जनाएको छ । फकाइएका मध्ये सिन्धुपाल्चोकका ६५ र अन्यन्त्रका १ सय ३५ जना छन् ।

चोलिबेटी बेचबिखनविरुद्ध वर्षौंदेखि क्रियाशील माइती नेपाल खासामा हुने मानव बेचबिखन रोकथामका लागि सन् २०१२ देखि नै सक्रिय छ । तातोपानीमै कार्यालय स्थापना गरी हालसम्म माइती नेपालले १ सय ७८ चेलीलाई सम्भावित बेचबिखनबाट जोगाएको बताइन्छ । खासामा हुने बेचबिखन नियन्त्रण गर्न लागिपरेको माइती नेपालले नेपाल–चीन सीमामा परामर्श दिने क्रममा खासाबारे अनभिज्ञ पाइएकाले उनीहरुलाई फर्काएको जनाएको छ । परामर्शका क्रममा जोखिममा रहेका केही चेलीलाई परिवारको जिम्मा लगाइएको पनि राजधानीमा आयोजित एक कार्यक्रमबीच जानकारी दिइयो ।

माइती नेपालका अनुसार चीनको खासास्थित रेस्टुराँ तथा घरमा काम गर्न नेपाली चेली र बालबालिका लैजाने गरिन्छ । विशेष गरी चीनसँग सीमा जोडिएको मार्मिङका बालबालिका खासा जाने गरेको माइती नेपाल सिन्धुपाल्चोक कार्यक्रम संयोजक पवित्रा घिमिरेको कथन छ । खासा बजारलाई मानव बेचबिखनको नयाँ गन्तव्यका रुपमा लिन थालिएपछि बेचबिखन न्यूनीकरणका लागि माइती नेपाल सीमा नाकामा सक्रिय छ । पछिल्लो समय खासाका डान्सबारमा नेपाली बालबालिका पनि बेचिन थालेको पाइएपछि सो संस्थाले एक वर्षदेखि बालबालिकालाई समेत परामर्श दिन थालेको छ । नाकामा रहेर परामर्शका क्रममा १५ देखि ४५ उमेरसमूहका चेलीलाई सीमानाकामा सोधपुछपछि मात्र चीन प्रवेशका लागि अनुमति दिने गरिएको छ ।

०६८ वैशाखमा माइती नेपालले गरेको स्थलगत अध्ययनका क्रममा खासाका डान्सबारमा नेपाली चेलीहरु अवैध धन्दामा संलग्न रहेको पाएको थियो । खासाको अवस्थाबारे नबुझेका चेलीहरु त्यहाँ बेचबिखनमा पर्न सक्ने सम्भावना बढी भएकाले उनीहरुलाई फर्काइएको संस्थाको तर्क छ । खासामा काम गर्न जाने विशेष गरेर विकट गाउँका अशिक्षित, अभिभावक नभएका र आर्थिक अवस्था कमजोर भएकाहरु रहने गरेका छन् । खासामा नेपाली चेलीलाई सुरुमा ‘वेटर’ राख्ने र पछि रेस्टुराँ मालिकले यौन क्रियाकलापमा संलग्न गराउने गरेको स्रोतको जिकिर छ । खासामा काम गर्न भनेर सिन्धुपाल्चोकका साथै मकवानपुर, कास्की, ललितपुर र चितवनका चेली जाने गर्छन् ।