आजीवन सुविधा दिने व्यवस्थाको विरोध

आजीवन सुविधा दिने व्यवस्थाको विरोध


ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) नेपाल

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई आजीवन सुविधा दिने व्यवस्थाका लागि प्रस्ताव सिफारिस गर्न गृहमन्त्रालयलाई निर्देशन दिएकोप्रति ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एक विज्ञप्ति प्रकाशित गरी ट्रान्सपरेन्सीले वैशाख १२ गते आएको विनाशकारी भूकम्प र त्यसपछि आएका परकम्पका कारण थुप्रै नागरिकले ज्यान गुमाएको, धेरै व्यक्ति घाइते भएको र ठूलो मात्रामा सार्वजनिक तथा निजी सम्पत्ति नष्ट हुन पुगेको उल्लेख गर्दै यसको व्यवस्थापन गर्न नसकिरहेको र पीडितहरू कष्टका साथ खुला आकाशमुनि जाडोको सामना गरिरहेको जनाएको छ ।

त्यस्तै, तीन महिनाभन्दा बढी समयदेखि गरिएको नाकाबन्दीका कारण मुलुकमा पेट्रोलियम पदार्थलगायत अति आवश्यक उपभोग्यवस्तु तथा औषधिसमेतको आपूर्ति सहज हुन नसक्दा यातायात, स्वास्थ्य सेवा, शिक्षा, विकास निर्माणलगायत आमनागरिकको भातभान्सासम्म पनि असर परेको छ । यसले नेपाली नागरिकको जीवन थप कस्टकर भएको उल्लेख गरेको छ । यस्तो अवस्थामा पूर्व विशिष्ट पदाधिकारीहरूलाई आजीवन गाडी, इन्धन, चालक र स्वकीय सचिवालयका नाममा बर्सेनि ठूलो रकमको सुविधा दिने भन्ने समाचारले नाकाबन्दी, विनाशकारी भूकम्प आदिको प्रकोपबाट थिलथिलो अर्थव्यवस्था र पीडित नेपालीलाई थप मानसिक तनाव सिर्जना गर्ने समवेदनाहीन निर्णय हुन लागेकोप्रति सबैलाई चिन्ता लाग्नु स्वाभाविक नै हो, ट्रान्सपरेन्सीका अध्यक्ष भरतबहादुर थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।