‘मैत्रीय बचत’ आठौँ वर्षमा

‘मैत्रीय बचत’ आठौँ वर्षमा


Maitriya 2
स्थापनाको छोटो अवधिमै सफल सहकारीको पहिचान बनाउन सफल भक्तपुर बालकोटस्थित मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि.को आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सामान्य प्रशासनमन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा मन्तव्य दिँदै मन्त्री शर्माले सहकारीलाई अघि बढाउने सिलसिलामा आवश्यक नीतिगत तथा व्यावहारिक समस्या निराकरणका लागि मन्त्रिपरिषद्को बैठकबाटै निर्णय लिने प्रतिबद्धता जनाउनुभयो । जबसम्म आत्मनिर्भर र आर्थिक रूपमा सवल बन्न सकिन्न तबसम्म देश विकास हुन नसक्ने उल्लेख गर्दै मन्त्री शर्माले सहकारीको कमी–कमजोरी हटाउँदै सवल र सुदृढ बनाउन नीतिनियमलाई समयानुकुल परिमार्जन गर्दै जानुपर्ने तर्क गर्नुभयो । मुलुकको अर्थनीति उकास्न तीनखम्बे अर्थनीतिको चर्चा चलिरहेको सन्दर्भमा सहकारीको महत्त्व अगाडि ल्याउनुपर्ने उहाँको धारणा थियो ।

संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायले अघोषित नाकाबन्दीका कारण उत्पन्न असहज अवस्थाबाट पाठ सिक्दै अभावलाई अवसरको रूपमा बदलेर युवा शक्तिलाई उद्यमशील बनाउन व्यावसायिक कृषि, पशुपालन र घरेलु उद्योग सञ्चालन गरी आयआर्जन तथा आत्मनिर्भर बनाउन प्रतिबद्ध हुनुपर्ने तर्क अघि सार्नुभयो । आफ्नो संस्थाका सदस्यहरूलाई सोलार प्रविधि जडानका लागि विशेष छुटसहितको ऋण प्रदान गरिने अध्यक्ष उपाध्यायले जानकारी दिनुभयो ।
Maitriya 1
यस्तै, अतिथिका रूपमा समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी बैंकका संचालक सरिता भट्टराईले साना व्यवसायलाई प्रबद्र्धन गर्दै परनिर्भरताबाट मुक्ति लिनुपर्ने सुझाव दिनुभयो । संस्थाका उपाध्यक्ष कुवेर श्रेष्ठ, सचिव सुमन सिलवाल, कोषाध्यक्ष दिवाकर सिलवाल, लेखा समितिका संयोजक उमेश सिलवाल, भक्तपुर डिभिजन सहकारीका उमेश कुइँकेल, सिभिल बैंकका विभागीइ प्रमुख युवराज गुरागाइँ, सोसाइटी डेभलपमेन्ट बैंकका कानुन अधिकृत अशोक भण्डारी, जिल्ला बचत तथा ऋण सहकारी संघ भक्तपुरका लेखा समिति संयोजक श्रीराम लामिछानेलगायतका अतिथिसमेत उपस्थित साधारणसभामा उपाध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो भने सचिव सिलवालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । आ.व. ०७१/७२ को आर्थिक कार्ययोजना प्रस्तुत गर्ने क्रममा उहाँले १९०० सदस्य रहेको मैत्रीयले १२ करोडको कारोबार गरेको उल्लेख गर्नुभयो ।

साधारणसभाले बालमुकुन्द उपाध्यायकै अध्यक्षतामा संस्थाको सञ्चालक समिति गठन गरेको छ । उपाध्यक्षमा कुवेर श्रेष्ठ, कोषाध्यक्षमा दिवाकर सिलवाल, सचिवमा सुमन सिलवाल र सदस्यहरूमा हरिबोल न्यौपाने, आरती केसी र नवीन उप्रेती निर्विरोध चयन भएका छन् ।