ओलम्पिक कमिटीको विवाद ज्युँका त्युँ

ओलम्पिक कमिटीको विवाद ज्युँका त्युँ


nepal Olympic Commeettee
काठमाडौं । यतिबेला नेपाल ओलम्पिक कमिटीको निर्वाचन भएर नयाँ कार्यसमितिले कार्य सञ्चालन गरेको अवस्था छ । यस्तोमा आमखेलप्रेमीहरूले ओलम्पिक कमिटीको विवाद समाप्त भइसकेको महसुस गर्नु स्वाभाविकै हो । तर, यतिबेलासम्म पनि ओलम्पिक कमिटीको विवाद समाप्त नभई मत्थर मात्र भएको रहेछ । साँचो रूपमा भन्नुपर्दा ओलम्पिक कमिटीको विवाद हिजो जहाँ थियो आज पनि त्यहीँ रहेछ । ओलम्पिक कमिटीको निर्वाचनको मार्ग प्रशस्त गर्न एकबुँदे सहमतिबाहेक अरू खासै केही नभएको रहेछ । जुन कुरालाई नयाँ ओलम्पिक कमिटीको कार्यसमितिले पनि पुष्टि गर्छ । एकबुंदे सहमतिमा सँगै मिलेर अगाडि बढ्ने कुरामा सहमति भए पनि गोप्य रूपमा तत्कालीन एनओसीका अध्यक्ष ध्रुवबहादुर प्रधान र रुक्मशमशेर राणाबीच के सहमति भएको छ, त्यसको पर्दाफास भएको छैन । त्यसबेला पदको बाँडफाँड हुने र राणासम्बद्ध पक्षलाई कार्यसमितिमा मनोनीत गर्ने सुनिनमा आए पनि अहिले निर्वाचन भएको लामो समय बितिसक्दासमेत त्यो कार्यान्वयन हुन सकेको छैन ।

सो विषयमा रुक्मशमशेर राणासँग जिज्ञासा राख्दा उनीहरूले आऊ–आऊ मात्र भनेको बताएका छन् । तर, कहिले आउने, कहाँ आउने र केका लागि आउने त्यसबारे कुनै जानकारी नगराएको बताए । ‘हामीले निर्वाचनअघि सहमति गरेको हो, हामी हाम्रो अडानमा कायमै छौँ,’ राणाले भने । ‘हामीले जीवनराम श्रेष्ठलाई ओलम्पिक कमिटीको अध्यक्ष मानिसकेका छौँ । त्यसैले आऊ भनेर मात्रै हुँदैन । हामी हारेको मानसिकतामा ओलम्पिक कमिटीमा जान चाहँदैनौँ । दुवै पक्षले जितेको वातारवरण बनेपछि अर्थात् महसुस भएपछि मात्र जान सकिन्छ,’ राणाले भने । राणाले अन्य सबै कुराको टुङ्गो लागिसकेको बताउँदै आफ्नो दुईवटा मागको टुङ्गो लाग्नासाथ ओलम्पिक कमिटीमा जाने कुरामा प्रस्ट पारेका छन् ।

प्राप्त जानकारीअनुसार ओलम्पिक कमिटीको निर्वाचन हुनुअघि दुईजना उपाध्यक्ष र अन्य चारजना सदस्यका लागि सहमति भएको बुझिन आएको छ । त्यसमा एक उपाध्यक्षसहित चारजना सदस्य राणा पक्षधरलाई दिने कुरामा वर्तमान ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ सहमतसमेत भइसकेको सुनिनमा आएको छ । तर, दुई उपाध्यक्षको मागका कारण अहिलेसम्म राणा पक्षधरका सदस्यलाई ओलम्पिक कमिटीमा समेट्न नसकिएको स्रोतको दाबी छ । अहिले यो कुरामा पुनर्विचारसमेत भइरहेको जानकारीमा आएको छ । जसरी पनि ओलम्पिक कमिटीको विवादलाई समाधान गरी एउटै ओलम्पिक कमिटी हुनुपर्नेमा दाबी गर्दै आएका अध्यक्ष श्रेष्ठले यसको समाधान चाँडै हुने बताएका छन् । श्रेष्ठले विगतमा भएको सहमतिलाई पूर्णरूपमा पालना गर्दै अन्य कुरा सुल्झिसकेको अवस्थामा एउटा कुराले गाँठो नपार्ने कुराको समेत खुलासा गरेका छन् ।

ओलम्पिक विवादले लामो समय लिइसकेको अवस्थामा राणाले पनि ओलम्पिक कमिटीको विवादलाई लम्ब्याएर कसैलाई फाइदा नहुने बताएका छन् । दुई उपाध्यक्ष र अधिकारको माग आफूले निर्वाचनअघि नै राखेको र त्यसबारे प्रस्ट भए ओलम्पिकको विवाद सधैँका लागि समाप्त हुने प्रस्ट पारेका छन् । ‘यसका लागि जीवनरामजी तयार हुनुपर्‍यो, हामी जहाँ बसेर भए पनि छलफल गरेर ओलम्पिक कमिटीमा समाहित हुन तयार छौँ । होइन भने राजनीतिक भागबन्डाबाट पनि ओलम्पिक कमिटीको विवादको निकास निकाल्नुपर्छ । त्यसका लागि सबै तयार हुनुपर्छ । शक्तिको आडमा बल मिचाइँ गर्ने हो भने समाधान कहिल्यै निस्किँदैन । राजनीतिमा रोटेसन चलिरहन्छ, त्यसैले राजनीतिलाई ओलम्पिकमा घुस्न दिनुभन्दा आपसी छफफलबाटै यसको टुङ्गो लागे खेलकुदको कल्याण हुनेछ,’ राणाको कथन थियो ।

– श्रीविक्रम भण्डारी