‘सरकारले सबै धर्मको सम्मान र संरक्षण गर्छ’: मन्त्री पोखरेल

‘सरकारले सबै धर्मको सम्मान र संरक्षण गर्छ’: मन्त्री पोखरेल


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री आनन्द प्रसाद पोखरेलले सरकारले सबै धर्मको सम्मान गर्ने बताउनुभएको छ । संविधानले धर्मनिरपेक्षता सुनिश्चिता गरिसकेको अवस्थामा सबै धर्मको सम्मान र संरक्षण गरिने तर्क गर्दै मन्त्री पोखरेलले मंगलवार मन्त्रालयमा राष्ट्रिय ख्रीष्ट्रियन महासंघ, नेपालले बुझाएको ज्ञापन–पत्र बुझ्दै भन्नुभयो, ‘संविधानमा धर्मनिरपेक्षता संस्थागत हुनु सबैको खुसीको विषय हो ।’
धर्मको विषयमा जे ऐनहरु छन् तिनलाई संविधान अनुसार तीन वर्षमा ऐनको व्यवस्था गर्ने उल्लेख गरिएको बताउँदै उहाँले संविधानले सबै ढोका खोलेको उल्लेख गर्नुभयो । महासंघले राखेको मागको बारेमा अध्ययन गरेर छलफलमा ल्याउने पनि उहाँले आश्वासन दिनुभयो ।
Tourist
महासंघ र नेपाल सरकारबीच २०६८ वैशाख १८ गते भएको ३ बुँदे र ०६९ जेठ १३ गते भएको ६ बुँदे सहमति यथाशिघ्र कार्यान्वयन गर्न सो महासंघले माग गरेको छ । राष्ट्रिय ख्रीष्टियन महासंघका महासचिव सीवी गहतराजले आफूहरुले नयाँ माग केही नराखेकाले सरकारले विगतको सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो। ‘मृत्यु संस्कारजस्तो संवदेनशील विषयमा सरकार गम्भीर भइदिनु प¥यो’, उहाँले भन्नुभयो, ‘सरकारले माग पूरा गर्ने सहमति गरेतापनि अझसम्म कार्यान्वन हुन सकेको छैन ।’ महासंघका अध्यक्ष डा. सुन्दर थापाको नेतृत्वमा गएको टोलीमा महासंघका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।