उपप्रधानमन्त्री मैनालीले यस्तो गरे खुलासा

उपप्रधानमन्त्री मैनालीले यस्तो गरे खुलासा


SONY DSC
काठमाडौं । उपप्रधान एवं महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सीपी मैनालीले सरकार आँटिलो हुन नसक्दा अघोषित नाकाबन्दी खुलाउन ढिलाइ भएको बताएका छन् । नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं जिल्ला शाखाको २३ औं वार्षिक साधारणसभा मंगलबार उद्घाटन गर्दै उपप्रधानमन्त्री मैनालीले सरकारमा रहेका दलका नेताहरुमा छिमेकी भारत रिसाउला र अहिलेको भन्दा बढी अप्ठ्यारो होला भन्ने डर भएकाले नाकाबन्दी लम्बिएको दाबी गरे । चीनसँग इन्धन व्यापारसम्बन्धी सम्झौतामा ढिलाइ भइरहेको कारण पनि यही भएको उनको कथन थियो ।

उपप्रधानमन्त्री मैनालीले सञ्चारमाध्यममा चर्चामा आएको जस्तो उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतसँगै कुनै बुँदे सम्झौता नगरेको दाबी गरे । ‘मिडियामा चर्चामा आएजस्तो परराष्ट्रमन्त्रीले कुनै बुँदे सम्झौता गर्नुभएको छैन’, उनले थपे, ‘नेपालमाथि लगाएको नाकाबन्दीले भारत अन्तर्राष्ट्रिय स्तरमै अप्ठ्यारो भएकाले अहिले नाकाबन्दी केही खुकुलो बनाएको हो ।’

कार्यक्रममा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री विक्रमबहादुर थापाले राजनीतिक अस्थिरता बढेकोले सरकार अप्ठ्यारोमा पर्ने सम्भावना बढेको खुलासा गरे । उनले सबै रोगको उपचार स्वदेशमै हुने गरी भएका अस्पतालहरुको क्षमता अभिवृद्धि तथा अत्याधुनिक प्रविधियुक्त बनाउन सरकार लागिपर्ने बताए ।

कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले भक्तपुर क्यान्सर अस्पताललाई सरकारले नियमित बजेट निकासा नगरेकोतर्फ ध्यानाकर्षण गर्दै काठमाडांै र भक्तपुरमा क्यान्सर पीडितहरुको लागि हस्पिस सेन्टर (विश्रान्ती घर) निर्माण गर्न जग्गा उपलब्ध गराउन सरकारसँग जग्गा माग गरे । उनले अघिल्लो सरकारले गरेको देशभरका महिलाको पाठेघर परीक्षण गर्ने निर्णय कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गरे । अध्यक्ष श्रेष्ठले क्यान्सर रोगीलाई सरकारले उपलब्ध गराएको एक लाख रुपैयाँको सहयोग रकम दुई लाख रुपैयाँ पु¥याउन माग गरे ।

कार्यक्रममा संस्थाको काठमाडौं शाखा सभापति अजय सिंह सुवालले क्यान्सरसम्बन्धी परामर्श तथा हेल्प डेक्स सञ्चालन गर्नको लागि संस्थालाई काठमाडौंको भृकुटीमण्डपमा एउटा स्टल उपलब्ध गराउन माग गरे ।