शक्तिलाई ताकेर प्रचण्डमाथि प्रहार

शक्तिलाई ताकेर प्रचण्डमाथि प्रहार


prachanda-shakti
एनेकपा माओवादीको केन्द्रीय समिति बैठकमा पदाधिकारी तथा सदस्यहरूले गृहमन्त्री शक्ति बस्नेतलाई सोझ्याएर प्रचण्डमाथि तीव्र प्रहार गरे । मन्त्री बस्नेतले अध्यक्ष प्रचण्ड र आफ्नो परिवारका सदस्यहरूलाई भूकम्पपीडितलाई आएको कोटामा पारी चीन भ्रमणमा पठाएको विषयलाई पार्टी नेताहरूले गम्भीरताका साथ लिँदै बस्नेतलाई सरकारबाट फिर्ता बोलाउनुपर्ने धारणा राखेका थिए । त्यस्तै मन्त्री बस्नेतले एआईजीपीहरूको सरुवा मनपरि ढङ्गले गरेको र सरकार सञ्चालनका लागि पार्टीमा बनेको संयन्त्रलाई उपेक्षा गरेको आरोप पनि बैठकका सहभागीले लगाएका छन् । यस विषयले चर्को रूप लिएपछि परिस्थिति साम्य पार्न प्रचण्डलाई मुस्किल परेको थियो ।

गृहमन्त्री बस्नेतले बैठकमा आत्मालोचना गरी आइन्दा त्यसप्रकारका गल्ती नदोहोरिने वाचा गरेपछि असामान्य परिस्थितिलाई सामान्य बनाउन प्रचण्डलाई केही सहज भएको थियो । सोमबार (मङ्सिर २८ गते) को बैठकमा जसोतसो कुरा मिलाएपछि प्रचण्डले बैठक स्थगित गरी पुस ४ गतेदेखि बैठकलाई निरन्तरता दिने घोषणा गरेका थिए । ४ गते पुन: सुरु हुने बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफल गरिने भएको छ । प्रचण्डको प्रतिवेदन राष्ट्रिय समस्याबारे स्पष्ट दृष्टिकोण राख्न र समस्याको निकास खोज्न असमर्थ रहेको केन्द्रीय समितिका सदस्यहरूको ठहर छ । त्यसैले प्रचण्डको प्रतिवेदनलाई भारी मात्रामा सुधार गरेर मात्र पारित गर्ने सोच पार्टीका नेताहरूले बनाएका छन् ।

गृहमन्त्री शक्ति बस्नेतमाथि ज्यादा प्रहार हुनुको कारण बस्नेतले प्रचण्डबाहेक अन्य नेताहरूलाई नटेर्नु रहेको छ । एक समय प्रचण्डको स्वकीय सचिव रहेका बस्नेतमा प्रचण्डबाहेक अरूलाई नटेर्ने समस्या रहेको बताइन्छ । त्यसो त माओवादीका तर्फबाट मन्त्री बनेका गिरिराजमणि पोखरेलबाहेक सबैले सीधै प्रचण्डसँग मात्र परामर्श गरेर आफ्नो निर्णय लिने गरेका छन् । त्यसैले शक्ति बस्नेतलाई सोझ्याएर प्रचण्डलाई प्रहार गर्न बैठकका सहभागी नेताहरू ‘बाध्य’ भएको बुझिएको छ ।