नेपालको मायाले फेरि तान्यो म्यागीलाई

नेपालको मायाले फेरि तान्यो म्यागीलाई


CNN-Hero
काठमाडौं । नेपाल र नेपाली बालबालिकालाई अत्यन्त माया गर्ने संयुक्त राज्य अमेरिकाकी युवती म्यागी डोयनले बालबालिकाका लागि सुर्खेतमा भूकम्पप्रतिरोधी क्याम्पस भवन बनाउने घोषणा गरेकी छिन् । म्यागी यस वर्षकी सिएनएन हिरो हुन् । हालै सिएनएन हिरोको उपाधि जितेपछि नेपाल आएकी म्यागीले बुधबार आयोजित पत्रकार सम्मेलनमा समाज सेवाका माध्यमबाट अनाथ तथा असहाय बालबालिका हुर्काएर सक्षम नागरिक बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइन् । तीस वर्षीया म्यागीले सिएनएन हिरो घोषित भएपछि ११ हजार डलर पुरस्कारस्वरुप प्राप्त गरेकी थिइन् ।

आफूले नेपालका बालबालिकाको लागि गरेको सहयोगी भूमिकाकै कारण आफू सिएनएन हिरो बन्न सफल भएको धारणा राख्ने म्यागीले नेपालको मध्यपश्चिमी भेगमा गरेको समाज सेवाका कारण प्राप्त गरेको सम्मानले सबै नेपाली र अनाथ छोराछोरीको सम्मान भएको बताइन् । नेपाल आएर मध्यपश्चिमका विभिन्न जिल्ला घुम्दा बालबालिकाको अवस्था साँच्चिकै चिन्ताजनक पाएपछि यतै बसेर काम गर्ने निर्णय गरेको स्मरण पनि उनले गरिन् ।