नन्दप्रसादको सतगत नगर्ने गंगामायाको अडान कायम

नन्दप्रसादको सतगत नगर्ने गंगामायाको अडान कायम


ganga-maya2
काठमाडौं । आफ्नो छोराको हत्यारालाई कारवाहीको माग गर्दै अनशन बस्दाबस्दै नन्दप्रसाद अधिकारीको मृत्यु भएको एक वर्ष पुगिसक्दा पनि अन्तिम संस्कार हुन सकेको छैन । नन्दप्रसादकी पत्नी गंगामाया पतिको मृत्यु भएपछि पनि अनसनरत अवस्थामा बीर अस्पतालमै दैनन्दिनी गुजारीरहेकी छिन् । यसबीच उनको सोधखबर लिने कोही भएनन् । समयान्तरमा गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न बुधबार बीर अस्पताल पुगेका राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या सम्बन्धमा दोषीलाई कारबाही गरी कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् । अध्यक्ष शर्माले दोषीलाई तत्काल कानुनबमोजिम कारबाही गर्न सरकारलाई आग्रह गर्दै दोषीलाई कानुनबमोजिम कारबाही गर्ने कार्यमा आयोगले आफ्नो क्षेत्राधिकारभित्र रहेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त पनि व्यक्त गरे ।न्याय सम्पादन छिटोछरितो भएमा मात्रै मानवअधिकारको संरक्षण र सम्मान हुने उनको भनाइ थियो ।

मानवाधिकार आयोगका अध्यक्ष शर्मासँगको भेटमा गङ्गामायाले दोषीलाई कानुनबमोजिम कारबाही नभएसम्म आफ्नो पति स्व. नन्दप्रसाद अधिकारीको सद्गत समेत नगर्ने अडान दोहोर्याइन् । आयोगले उक्त घटनाको अनुसन्धान गरी २०६५ साल चैत २३ गते दोषीमाथि फौजदारी अभियोगमा कारबाही चलाउन, पीडित परिवारजनलाई क्षतिपूर्ति दिन र आफ्नो घरमा पुनः फर्कन सुरक्षा प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गरेपनि सरकारले गरेको प्रतिबद्धता अहिलेसम्म कार्यान्वयन भएको छैन । आयोगले यस विषयमा सरकारको ध्यानाकर्षण गरेको जनाएको छ ।