लोकमानको ‘अक्षम्य’ भूल !

लोकमानको ‘अक्षम्य’ भूल !


Lok Man Sing
साना–ठूला भूल मानिसबाट भइरहन्छन्, भूलबाट सिक्दै अगाडिको जीवन त्रुटिरहित बनाउने प्रयास निरन्तर भइरहने हुनाले भूललाई मानवजीवनको एउटा महत्त्वपूर्ण अङ्ग मानिन्छ । जीवनमा एउटै भूल नगर्ने मानिस पनि हुन्छन्, जापान र ब्रिटेनलगायत कतिपय देशका राजा या महारानीहरूले कहिल्यै भूल गर्दैनन् भन्ने मान्यता छ । त्यस्तै सुस्त मनस्थितिका मानिस र अबोध बालबालिकाले पनि भूल गर्दैनन् । यिनीहरूबाट भूल नहुनुको कारण स्पष्ट छ– उनीहरूको कुनै अपेक्षित भूमिका हुँदैन, आफ्नो बुद्धि–विवेक प्रयोग गर्ने या विवेक प्रयोग गरेर कुनै काम गर्ने भूमिकासहितको मानिसले मात्र भूल गर्ने हो, तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अलिक ‘गम्भीर प्रकृति’कै भूल गर्नुभएकोले यस सम्बन्धमा यहाँ केही शब्द चर्चा गर्नुपर्ने अवस्था आएको छ ।

आफ्नो हक्की स्वभाव र निर्णयक्षमताका कारण अन्य प्रशासकको भन्दा बेग्लै छवि बनाउन सफल लोकमानसिंह कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखको जिम्मेवारी पाउनु आफैँमा एउटा रोचक संयोग थियो । राजनीतिक दलहरूको सहमतिका आधारमा कुनै खिलराज रेग्मी नामक प्रधानन्यायाधीशको भूमिका निर्वाह गरिरहेका व्यक्तिलाई सरकार प्रमुखको समेत जिम्मेवारी दिइएको थियो । तिनै खिलराज नेतृत्वको सरकारले प्रमुख दलका नेताहरूको विरोध र असहमतिका बाबजुद कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्न सिफारिस गर्‍यो । कार्कीको बाटोमा अवरोध पैदा गर्न अनेक प्रयास गर्दागर्दै पनि तात्कालिक राष्ट्रपति डा. रामवरण यादव उहाँलाई शपथ गराउन बाध्य हुनुभएको थियो । एमाओवादी सुप्रिमो प्रचण्डको इच्छा र प्रस्तावमा कार्कीलाई प्रमुख आयुक्त बनाइएको थियो भनियो भने प्रचण्डबाहेक बाँकी सबैले यस कुरामा विश्वास गर्दछन् । ‘आङमा देवी चढेका बेला’ लोकमानजीको नाम प्रस्ताव गरिएकोले हुनसक्छ, आफूले लोकमानलाई अख्तियार प्रमुख बनाउन प्रस्ताव गरेको हेक्का प्रचण्डलाई छैन । आफ्नो नेतृत्वको सरकारका ६ जना मन्त्री अनुसन्धानको दायरामा तानिएपछि सम्भवत: खिलराज रेग्मी पनि स्तब्ध भएको हुनुपर्छ ।

हुन त ‘यी’ मन्त्रीहरू जो अख्तियारको अनुसन्धानको घेरामा परे ती खिलाराजको इच्छाअनुरूप मन्त्री बनेका थिएनन् । प्रमुख राजनीतिक दलहरूले भागबन्डाका आधारमा गरेको सिफारिसमा तिनलाई मन्त्री बनाइएको थियो । एमाले सिफारिसमा गृह र परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने व्यक्ति भने यसपटक ‘जोगिएका’ छन् । जुन सरकारले नियुक्तिको सिफारिस गर्‍यो त्यही सरकारमा महत्त्वपूर्ण मन्त्रालय सम्हाल्ने व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउनुलाई लोकमानको निष्पक्ष दृष्टिकोणको प्रमाण मान्न सकिन्छ । त्यस्तै कम्युनिस्ट, काङ्ग्ेरस, पञ्च, पहाडी, मधेसी, आर्य, मङ्गोलियन सबैथरी अनुसन्धानको घेरामा पर्नुलाई जनस्तरमा जायज ठानिएको पनि छ । तर, अरू जुनसुकै जाति, धर्म, वर्ण, गोत्र र राजनीतिक पृष्ठभूमिका मानिस परे पनि कम्युनिस्ट राजनीतिका व्यक्तिलाई समेत ‘तीर सोझ्याउनु’लाई चाहिँ लोकमानको ‘गम्भीर भूल’ मानिएको छ ।

कुनै पनि मानिस कम्युनिस्ट बन्नु भनेको साधारण मानिसको चोलाभन्दा एक या ‘केही तह माथिको’ प्राणीमा रूपान्तरित हुनु हो । साम्यवाद र समानताको वकालत गर्ने, क्रान्ति, परिवर्तन र अग्रगमनभन्दा तलका शब्दावलीहरू प्रयोग नगर्ने, वाक्यपिच्छे ‘जनता’ शब्द उच्चारण गर्न नछुटाउने, अन्तर्राष्ट्रिय गीत गाउँदै अन्तर्राष्ट्रवादको राग अलाप्ने, तर देशको कुरा आउँदा अब्बल दर्जाको देशभक्त आफैँ भएको दाबी गर्ने, एकदलीय अधिनायकवादलाई आफ्नो राजनीतिक अभीष्ट बनाउने, तर प्रजातन्त्रको मुद्दा उठ्यो भने खाँटी प्रजातन्त्रवादी पनि आफैँ भएको भन्न नहिचकिचाउने, समानता र एकताका गफ दिएर कहिल्यै नथाक्ने, तर जातीय–क्षेत्रीय विभाजन र वर्गीय खाडल गहिरो बनाउँदै जाने चरित्र कम्युनिस्टहरूमा देखिएको छ । कम्युनिस्टहरू आफूले गरेका या गर्ने हरेक कार्य जनताका लागि भएको ठान्दछन् । व्यक्ति जतिसुकै योग्य र क्षमतावान किन नहोस्, यदि ती कम्युनिस्ट विचारधाराको समर्थक होइनन् भने कम्युनिस्ट दृष्टिमा अयोग्य र नालायक मानिन्छन् । कम्युनिस्टहरू सत्तामा पुगेका बेला गरिने राजनीतिक नियुक्तिहरूमा पहिलो योग्यता कम्युनिस्ट हुनुलाई मानिन्छ । सरकारको सचिव र मुख्यसचिवसम्मलाई पनि भूमिगत साङ्गठनिक कामको जिम्मेवारीमा अल्झाइन्छ र राज्यले गर्ने काममा पार्टी प्रभावलाई ध्यानमा राखिन्छ ।

त्यस्तै, पार्टीको सिफारिसबिना कसैलाई रोजगारी, नियुक्ति, सरुवा, बढुवा र मान–पदवी, पुरस्कारका लागि योग्य मानिँदैन । जसरी डाक्टर बनेपछि बिरामी बनेर आउने जोकसैलाई निर्वस्त्र तुल्याउने या छामछुम गर्ने ‘अधिकार’ प्राप्त हुन्छ त्यसैगरी कम्युनिस्ट बनेपछि व्यक्तिले जेसुकै गर्ने अधिकार पाएका ठान्दछ । रुमेनियाका चाउचेस्कुदेखि उत्तरकोरियाका उन, रसियाका स्टालिनदेखि कम्बोडियाका पोलपोट र जाम्बियाका रबर्ट मुगावेदेखि क्युवाका फिडेल क्यास्त्रोसम्मले अपनाएको कार्यशैली एवम् सोचले कम्युनिस्टहरूमा रहने सर्वसत्तावादी सोचको पुष्टि गरेको छ । कम्युनिस्ट बनेर गरिने या गरिएका हरेक कामलाई सबैले सधैँ जायज, उचित र राम्रो मानिदिनुपर्ने हुन्छ । तर, लोकमानसिंह कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखका रूपमा भ्रष्टाचार नियन्त्रण निम्ति कदम चाल्दा गैरकम्युनिस्ट कित्ताका मानिसलाई मात्र अनुसन्धानको दायरामा ल्याउनुपर्नेमा कम्युनिस्टहरूसमेतलाई ल्याउनुभयो, यसैलाई कार्कीको गम्भीर भूल मानिएको छ । यसअघि अख्तियार प्रमुख रहेका सूर्यनाथ उपाध्याय र अरू कसैले कम्युनिस्ट नेताहरूमाथि शङ्का उत्पन्न हुने या प्रश्न उठ्ने नेताहरूमाथि शङ्का उत्पन्न हुने या प्रश्न उठ्ने कुनै कदम चालेका थिएनन् । छानी–छानी गैरकम्युनिस्ट कित्ताका नेता या अन्य क्षेत्रका मानिसलाई निसाना बनाइन्थ्यो, कम्युनिस्टहरू काखी र ताली बजाउँदै अख्तियारको कदमको स्वागत गर्थे । तर, लोकमानसिंह कार्कीले कम्युनिस्टहरूसमेत भ्रष्टाचारी हुनसक्छन् भनी प्रश्न उठ्ने काम गर्नुभयो, भ्रष्टाचार नै गरे पनि कम्युनिस्टले गर्ने भ्रष्टाचार ‘क्रान्तिकारी’ हुन्छ भन्ने उहाँले बुझ्न सक्नुभएन ।

२०४६ सालसम्म भूमिगत रहेका अधिकांश कम्युनिस्ट नेता–कार्यकर्ताले कसरी राजधानीमा महल बनाए भन्नेमा कार्कीको आशङ्का रहेको हुनसक्छ, राजनीति (त्यो पनि जनताको लागि मात्र) बाहेक अर्को कुनै पेसा–व्यवसाय नअपनाएका कम्युनिस्ट नेता तथा कार्यकर्ता रातारात करोडौँको मालिक बनेकोमा अख्तियार आश्चर्यचकित बनेको हुनसक्छ । जनताको नाममा राजनीति गर्ने कम्युनिस्टहरूले भ्रष्टाचार नै गरेका भए पनि त्यो ‘जनताको लागि’ भएको लोकमानसिंहले बुझ्न सक्नुभएन, यो पनि उहाँको अर्को गम्भीर भूल हो । जनताका लागि राजनीतिमा समर्पित कम्युनिस्टहरूले जनताको नाममा गर्ने ‘क्रान्तिकारी’ भ्रष्टाचारतिर आँखा लगाउने, तिनलाई अनुसन्धानको दायरामा ल्याउने र छानबिन गरी कारबाही गर्ने अधिकार कुनै पनि संविधानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको छैन भन्ने ठम्याई कम्युनिस्ट नेताहरूको छ । यिनको विचारमा कसैले आफ्नो नाममा, आफ्ना लागि आफैँले गर्ने भ्रष्टाचारबारे मात्र अनुसन्धान, तहकिकात र मुद्दा चलाउने अधिकार मात्र अख्तियारमा रहेको छ । हालै विभिन्न क्षेत्रका २९ व्यक्तिको सम्पत्तिमाथि शङ्का लागेर अख्तियारले उनीहरूलाई पुर्जी काट्यो ।

त्यस्तो पुर्जी कम्युनिस्टबाहेक अरू जोसुकैलाई काटिएको भए पनि त्यसलाई जायज र स्वागतयोग्य मानिन सक्थ्यो । पहिले खुमबहादुर खड्का, जयप्रकाशप्रसाद गुप्ता, विजय गच्छदार, चिरञ्जीवी वाग्ले र गोविन्दराज जोशीहरूलाई पनि यस्तै प्रकारको पुर्जी काटिँदा कम्युनिस्टहरूबाट त्यसको भव्य स्वागत भएको थियो । यसपटक कम्युनिस्टहरूलाई समेत पुर्जी काटिएपछि अख्तियार र लोकमानसिंह कार्कीविरुद्ध जबर्जस्ती माहौल सिर्जना गरिँदै छ । जातीय एवम् क्षेत्रीय भावना भड्काउन उद्गम भूमिका निर्वाह गर्नेहरू, सामाजिक सद्भाव बिथोल्ने राजनीति भित्र्याउनेहरू र सद्गुणजति आफ्नो र दुर्गुण सबै अरूमा देख्ने कम्युनिस्टहरूले भ्रष्टाचार र भ्रष्टाचारी निरुत्साहित गर्नुभन्दा भ्रष्टाचारविरुद्धको कदमलाई नै निरुत्साहित गर्नु जायज ठानेका हुन् भने यसलाई ‘कम्युनिस्ट धर्म’ ठान्नुपर्ने हुन्छ । तर, जनभ्रष्टाचार या क्रान्तिकारी भ्रष्टाचारलाई समेत निरुत्साहित गर्ने अख्तियारको कदमबाट क्रूद्ध बन्न पुगेका कम्युनिस्टहरूले अब लोकमानसिंह कार्कीका विरुद्ध के–कस्ता कदम चाल्नेहुन्, प्रतीक्षा गरिएको छ ।