सृजना बनिन् कोशी क्वीन

सृजना बनिन् कोशी क्वीन


मनिता चाम्लिङ

avi

धरान । अमाजोन इन्टरटेनमेन्ट काठमाडौंद्वारा आयोजित कोशी क्वीन–२०१५ को दोस्रो संस्करणको उपाधि धरान–११ की सृजना राईको पेल्टामा परेको छ । उनी १४ जना प्रतिस्पर्धीलाई उछिन्दै कोशी क्वीन–२०१५ को उपाधि जित्न सफल भएकी हुन् । एयर होस्टेज बन्ने सानैदेखिको सपनालाई साकार तुल्याउन उनी एयर होस्टेज अध्ययनका लागि काठमाडौं जाने तयारीमा रहेकी छिन् ।

धरान–८ स्थित सभागृहमा सोमवार आयोजित कोशी क्वीन–२०१५ को उपाधिसँगै सृजनाले मस्ट ईन्टेलिजेन्टको सब टाइटल र व्युटि विथ प्रपोजको उपाधी समेत प्राप्त गरिन् । साथै सो उपाधिसँगै उनले नगद १० हजार, जिओनी स्मार्टफोन, गिफ्ट ह्याम्पर र काठमाण्डौंमा २०१६ मा आयोजना हुन लागेको “ब्युटिफुल नेपाल” नामक ब्युटी पेजेन्टमा समेत निःशुल्क सहभागी हुन पाउने भएकी छिन् ।

फाइनल प्रतियोगिताका मुख्य निर्णायक आरजे-भिजे तथा मोडल कला सुब्बाद्वारा सोधिएको निर्णायक प्रश्न– “नेपालमा भइरहेको बन्द हड्ताल र यसबाट भैरहेको क्षतिलाई तपाईं कसरी बुझ्नुहुन्छ ? र यसले देशलाई कुन दिशातिर लगिरेको छ ?” भन्ने प्रश्नमा सृजनाले– “आफ्नो हक अधिकार राख्न पाउनु सम्पुर्ण नागरिकको अधिकार हो तर अरुको रोजीरोटी खोस्न मिल्दैन त्यसैले तराईलाई चोट लाग्दा पहाडलाई दुख्नुपर्छ व्यक्तिगत स्वार्थ त्यागी सामाजिक सद्भाव कायम राख्दै नेपाल आमाको शिर सदैव उच्च राख्नुपर्छ” भन्ने जवाफ दिई कोशी क्वीन–२०१५को उपाधि चुम्न सफल भएकी हुन् ।
koshi queen
सो प्रतियोगिताका थर्डरनरअप रेश्मा राईले उपाधिसँगै वेष्ट ट्यालेन्टको सब टाइटल, क्राउन र गिफ्ट ह्याम्पर, मिरा धमलाले सेकेण्ड रनरअपको उपाधिसँगै वेष्ट स्किनको सबटाईटल, क्राउन गिफ्ट ह्याम्पर र पुजा लिम्बुले फस्ट रनरअपको उपाधिसँंगै वेष्ट पर्सनालिटीको सबटाईटल, क्राउन गिफ्ट ह्याम्पर समेत हात पारिन् ।

सो प्रतियोगिताका वेष्ट क्याटवक र वेष्ट फोटोजेनिक मोनालिसा तेयुङ, मिस चार्मिङ मुना मगर, वेष्ट हेयर पम्फा माया लिम्बु, वेष्ट स्माइल र मस्ट पब्लिक च्वाइस एन्जोल खवास, मष्ट एक्टिभ साहिना साम्पाङ, मष्ट इनोसेन्ट प्रिया सोनी, वेष्ट ड्रेस, मस्ट पपुलर र वेष्ट डिसिप्लिन मिनु लिम्बु, मस्ट ब्युटीफुल जुना राई, मोष्ट स्मार्ट सुष्मा तामाङ, वेष्ट फिगर सरीता श्रेष्ठ, मोष्ट स्टाईलिस सोनी विशुंखेले सब टाइटल प्राप्त गरेका थिईन् । उनीहरुलाई सब टाइटलसँगै जिनास स्टोर धरान, होटल अरुण भ्याली भेडेटार र शाशा ब्युटी पार्लरकोतर्फबाट उपहार समेत प्रदान गरिएको थियो ।

प्रतियोगिताका निर्णायकहरुमा क्रमशःमोडल तथा आरजे÷भिजे कला सुब्बा, मिस मंगोल २०१५ की बिजेता सेमाफुङ्मा लिम्बु, र रेडियो नेपालकी पुर्व प्रस्तोता अम्बिका रहेका थिए । पहिलो राउण्डमा १५ जना प्रतिस्पर्धीहरुबाट परिचय प्रिजजिङको आधारमा उत्कृष्ट १० छनौट गरिएको थियोभने उत्कृष्ट १० मा पर्न सफल प्रतिस्पर्धीहरुलाई निर्णायकले सोधेको प्रश्नको जवाफको आधारमा अन्तिम ५ जनालाई छनौट गरिएको थियो । प्रतियोगिताका कोरियोग्राफर हिमानी सुब्बा रहेको थिइन् । आयोजक संस्थाका इभेन्ट म्यानेजर कमल खतिवडाले विवाहित र अविवाहित महिलाहरुमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए ।गत वर्षको बिजेता भने धरान–१६ की मन्दिरा लामिछाने भएकी थिइन् । सो समारोहमा धरानका गायिका एवं समाजसेवी हर्षु राई तथा बबिन लिम्बुको गीतसँगै हाम्रो डान्स सेन्टर धरानका कलाकारहरुको आर्कषक नृत्यहरुले कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।

यसैबीच आयोजक संस्थाले धरान–३ स्थित सरस्वती बालआश्रमका बालबालिकालाई १० हजार रुपैयाँ बराबरको खाद्यन्न, स्टेशनरी र खेलकुदका सामाग्रीहरु समेत सहयोग प्रदान गरेका थिए ।