कालीबहादुरको कालो काम

कालीबहादुरको कालो काम


नयाँ नेपाल बनाउँछौ भन्दै ध्वंशात्मक कार्य गर्ने, शान्ति र समृद्धि ल्याउँछौँ भन्दै अशान्ति मच्चाउने क्रियाकलाप प्रदर्शन गर्दै आएको एकीकृत नेकपा माओवादीको अर्को लज्जास्पद व्यवहार प्रकट भएको छ । रामहरि हत्याकाण्डका नाइके विविध उर्फ कालीबहादुर खाम मगरले प्रचण्ड र सिङ्गो माओवादीकै मुखमा फोहोर दल्ने धन्दा गर्दै आएको रहस्य नेपाल प्रहरीले उजागर गरिदिएको छ । मुलुकबाट अवैध धन्दा र भ्रष्टाचार निर्मूल गर्ने अभियानमा लागिपरेको दाबी गर्ने समूहको उच्च नेतृत्व तहमा रहेका व्यक्तिहरू नै यार्सागुम्बा तस्करी गरी अवैध धन आर्जन गर्ने दुष्कर्ममा सरिक रहेको खुलासा हुनु माओवादीका लागि मात्र होइन सर्वहारा वर्गको राजनीति गर्ने सबैका लागि लज्जाको विषय बनेको छ । कालीबहादुर साँच्चै अपराध जगत्मै रमाउने प्रकृतिका व्यक्ति हुन् या माओवादी पार्टीले नै उनलाई यस्तो धन्दामा सरिक गराएको हो, यसको जवाफ माओवादी नेतृत्वले तत्काल जनसमक्ष दिनुपर्छ । कालीबहादुरलाई कानुनी कारबाहीको दायरामा ल्याउन अब माओवादी नेतृत्वले नै राज्यलाई सघाउनुपर्छ । यदि यसो नगरी उल्टै पहिलेझैं ढाकछोप गर्ने, अपराधी लुकाउने र पार्टीको संलग्नता नरहेको भन्दै पन्छिन खोज्ने व्यवहार नै माओवादी पार्टीबाट हुन्छ भने यो देश र जनताको पार्टी नै होइन रहेछ भनी सबैले विश्वास गर्नैपर्ने हुन्छ । माओवादी यसमा गम्भीर बनोस् । अन्तमा, कालीबहादुरको कालो धन्दाको पर्दा उठाउने काम गरेर समाज र देशलाई गुन लगाउने नेपाल प्रहरीलाई साधुवाद ।
– राम नगरकोटी, हाल : काठमाडौं

खेलक्षेत्रको बदनाम
खेलकुद क्षेत्रमा रहेका विकृति, विसङ्गति, अन्याय-अत्याचार तथा खेलमाफियाहरूलाई ध्वंश गर्दै नयाँ वैज्ञानिक संरचनासहितको खेलक्षेत्र स्थापना गरेर नेपाललाई अन्तर्राष्ट्रिय परिवेशमा पहिचान गराउँदै राष्ट्रिय अस्मिता जोगाउनु आजको आवश्यकता भएकोले नेपाल गणतान्त्रिक खेलकुद महासङ्घबाट ०६७ असार १८ गते विद्रोह गरी हामीले अखिल नेपाल प्रगतिशील गणतान्त्रिक खेलकुद महासङ्घ निर्माण गरेका हौँ । तर, नेपाल गणतान्त्रिक खेलकुद महासङ्घको नामबाट ०६७ असार २२ गते अखिल नेपाल प्रगतिशील गणतान्त्रिक खेलकुद महासङ्घप्रति प्रहार हुनेगरी कसैद्वारा जारी गरिएको प्रेस विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । त्यो विज्ञप्तिमा हिजोका दिनमा महासङ्घभित्र मुख्य जिम्मेवारी बहन गरिरहेका पदाधिकारीहरू तथा केन्द्रीय सदस्यहरूलाई अराजक तथा सम्बन्धित भन्नु सिङ्गो खेलक्षेत्रको बदनाम गर्ने दुष्प्रयास हो । यदि विज्ञप्तिमा उल्लेखित विषयबस्तु साँचो भइदिएको भए पत्रकार सम्मेलनमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पूर्ण विवरण किन आउन सकेन ?
– पृथ्वी थापा, अध्यक्ष अखिल नेपाल प्रगतिशील गणतान्त्रिक खेलकुद महासङ्घ

जङ्गल सखाप पार्न समुदायलाई लात
चितवन जिल्ला दाह्रेचोक गाविस-४ को सिद्ध इच्छाकामना सामुदायिक वन उपभोक्ता समितिअर्न्तर्गतको वन त्यहाँका ७/८ सय घरधुरीले उपभोग गर्नुपर्ने सार्वजनिक सम्पत्ति हो । तर, मुग्लिन रेञ्जपोस्टका तत्कालीन रेञ्जर मनमोहन मिश्रले हुने खाने वर्गका सीमित व्यक्तिहरूलाई कबुलियतमा प्रयोग गर्न दिएर दाह्रेचोकका १४/१५ हजार बासिन्दामाथि घात गरे । भूपू लाहुरे र राजनीतिक दलका कार्यकर्ताहरूको गुलियोमा भुलेर जनघात गर्ने मिश्र हाल जिल्ला वन कार्यालय चितवनमा कार्यरत छन् । सिद्ध इच्छाकामना सामुदायिक वन उपभोक्ता समिति दर्ता भएको वर्षौं भयो, यसको कार्ययोजना बनाइदेऊ भन्दा वास्ता नगर्ने वन कार्यालयले नाजायज लाभ उठाउन खोज्नेहरूलाईचाहिँ चाख दिएर सहयोग गर्नुको रहस्य के हो ? जनताले जवाफ खोजेका छन् । वनका कर्मचारीहरूको यसमा दुरि्नयत देखिएको छ । सामुदायिक बनको क्षेत्रभित्र कबुलियती दिएकोले सामुदायिकले केही गर्ने ठाउँ नै पाएन । नमुना सामुदायिक वन बनाउने र नमुना सामुदायिक नर्सरी बनाउने यहाँको समुदायको लक्ष्य थियो । जनताको यो सपना धुजाधुजा भएको छ । कबुलियतको ठेक्का पाउनेहरूले वरपरका सालका रूख काटेर जङ्गल सखाप पार्दै छन् । राजमार्गलाई असर पार्नेगरी पहिरो खस्न थालेको छ । तर, सडक विभागसमेत मौन बनेर अवैधानिक कार्यलाई नै साथ दिइरहेको छ । यसमा सम्बन्धित निकायको शीघ्र ध्यान पुगोस्, अन्यथा जनता जागेपछि जे पनि हुन सक्छ ।
– आर. लामा तथा स्थानीय जनसमूह
दाह्रेचोक-४, चितवन

भावी संविधानमा यस्तो व्यवस्था होस्
दुई वर्षको अवधिमा संविधान बनाउन नसकेपछि संविधानसभाको म्याद पुन: एक वर्षका लागि बढाइएको पनि डेढ महिना गुज्रिसकेको छ । देशमा कामचलाउ प्रधानमन्त्रीले काम गरिरहेका छन् तर दलहरू नयाँ सरकार गठनका लागि सहमतिमा पुग्न सकिरहेका छैनन् । यसले संविधान निर्माणको काममा निकै व्यवधान पुर्‍याइरहेको छ । सर्वप्रथम राजनीतिक दलहरूलाई यसरी सत्ताको लुछाचुँडीमा अल्झेर नबस्न एक सचेत नेपाली नागरिकको नाताले पङ्क्तिकार आग्रह गर्दछ र संविधानसभाले छिटोभन्दा छिटो नयाँ कार्यतालिका बनाएर काम अघि बढाओस् भन्ने कामना पनि छ । साथै, भावी संविधानमा निम्न कुराहरू समावेश गरियोस् भनी सुझाब दिन चाहन्छु ।
नेपाली झन्डै तीन करोड छन्, तर्सथ तीन करोड प्रति नेपाली नागरिक परिचयपत्र बनाएर जारी गर्नुपर्छ । उक्त परिचयपत्रमा प्रत्येक नागरिकको सम्पत्ति र हासिल गरेका प्रमाणहरूका बारेमा प्रस्ट लेखिनुपर्छ । बैंक खाता नम्बर, कुनै पुरस्कार वा सजाय पाएको छ भने सोको विवरण, पासपोर्ट नम्बर, शैक्षिक योग्यता, तालिम रेकर्ड भए सो विवरण सबै सोही परिचयपत्रबाट खुल्नुपर्छ । परिचयपत्रका लागि जन्मस्थान, घर, वडा, गाविस हुँदै जनसङ्ख्या मन्त्रालयमा पुगेर प्रमाणित हुने व्यवस्था मिलाउनुपर्छ । हरेक निर्वाचनमा मतदान गरे-नगरेको प्रस्ट देखिनुपर्छ । प्रत्येक नेपालीको वर्षदिनकै आय-व्यय या काम गरेको रेकर्ड प्रत्येक व्यक्तिगत परिचयपत्रमा उल्लेख गरिनुपर्छ । जस्तो कि, कामको दिन ?गते), आय, व्यय र कामको विवरण तालिका बनाएरै उल्लेख हुनुपर्छ । यसैगरी तोकिएको काम तोकिएको मितिमा तोकिएको रकमले गर्न नसक्ने व्यक्तिलाई बिगो दोब्बर सजाय गरी असुल गर्नुपर्छ । आयव्यय विवरणमा छलकपट भएको सूचना गर्ने व्यक्तिलाई रकमको २० प्रतिशत पुरस्कार प्रदान गर्ने व्यवस्था संविधानमा मिलाइनुपर्छ ।
– पण्डित गोपालप्रसाद दाहाल ?ट्राफिक पुजारी)
कामनपा-३४, जागृतिनगर, काठमाडौं