विराटनगर भन्सारमा यसरी लुटिँदै छन् नेपाली व्यापारी

विराटनगर भन्सारमा यसरी लुटिँदै छन् नेपाली व्यापारी



:: विराटनगरका भन्सारप्रमुख प्रतिदिन असुल्छन् पैंतालीस लाख रुपैयाँ ::

नाकाबन्दीका कारण सिङ्गै मुलुकले सास्ती व्यहोरिरहेका बेला नेपाल भन्सार र राजस्व अनुसन्धान विभागका कर्मचारी तथा भारतका केही प्रहरीले भने कमाइको सुवर्ण अवसरका रूपमा यसलाई प्रयोग गरिरहेका छन् । यस कार्यमा विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेत मुख्य रूपले तल्लीन रहेका छन् भने उनले कमाइको रकम प्रधानमन्त्रीको सचिवालयका केही व्यक्ति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त दीप बस्नेतसम्मलाई पुर्‍याउने गरेको बस्नेतले आफ्नो निकटस्थहरूसँग बताउने गरेका छन् ।
biratnagar-final-final1
प्राप्त जानकारीअनुसार कोलकाता हुँदै विराटनगर भन्सार भएर आउने तेस्रो मुलुकबाट आयातीत सामान ढुवानी गर्ने कन्टेनरहरूबाट मेसका लागि भन्दै प्रतिकन्टेनर रु. एक लाख र भन्सारप्रमुख बस्नेतले बेग्लै पचास हजार रुपैयाँ असुल्ने गरेका छन् । अहिले विराटनगर भन्सार भएर प्रतिदिन बीसदेखि तीसवटा कन्टेनर नेपाल भित्रिने गर्दछन् । यस आधारमा भन्सारप्रमुख बस्नेतले प्रतिदिन कम्तीमा तीसदेखि पैंतालीस लाख रुपैयाँ कन्टेनरहरूबाट मात्र उठाउने गरेको देखिन्छ । भारतबाट आएका ट्रक तथा इन्धन ढुवानी गर्ने टयाङ्करहरूबाट पनि बेग्लै ढङ्गले रकम असुल गर्ने काम कृष्ण बस्नेतले गरिरहेका छन् । भन्सारप्रमुख बस्नेतले यसरी अनुचित ढङ्गले नगद असुली गर्न नेपाली भन्सार एजेन्ट विजेन्द्र परासरलाई प्रयोग गरेका छन् ।

तेस्रो देशबाट आयातीत सामान ढुवानी गर्ने कन्टेनरहरूसँग नगद सङ्कलन गर्ने एकलौटी अधिकार बस्नेतले परासरलाई मात्र दिएका छन् । तर, एकजनालाई मात्र नगद उठाउने जिम्मेवारी दिएको नदेखाउन बस्नेतले एक महिनामा पाँचवटासम्म कन्टेनरबाट रकम असुल्ने जिम्मा अर्का भन्सार एजेन्ट सन्तोष खरेललाई दिएका छन् । बस्नेतले तोकेका उल्लिखित दुई एजेन्टबाहेक अरू कसैलाई पनि तेस्रो देशको सामान लिई आउने कन्टेनरहरू क्लियरिङ गर्ने (छुटाउने) अधिकार दिइएको छैन । नेपाल भित्रिएका कन्टेनरहरू गणना गरेर बस्नेतले व्यापारीबाट पचास हजारका दरले उठाएको रकम परासरमार्फत आफैँले बुझ्ने गरेका छन् । भन्सार ‘क्लियरिङ’ गरेर नेपाल पसेका कन्टेनरहरूबाट राजस्व अनुसन्धान विभागअन्तर्गतका इटहरी तथा पथलैयाका कार्यालयसम्बद्ध कर्मचारीले प्रतिकन्टेनर रु. दश हजारका दरले रकम उठाउने गरेका छन् ।

तातोपानी नाका बन्द रहेको र दक्षिणतर्फबाट अधिकांश नाकामा अवरोध रहेकोले जोगबनी नाकाबाट कन्टेनर तथा ट्रक र इन्धन ढुवानी गर्ने टयाङ्करहरू नेपाल भित्रिने गरेका छन् । भन्सारप्रमुख बस्नेतले विराटनगर भन्सारमा अवरोध नपुर्‍याउन र वीरगन्जलगायतका अन्य नाकामा मात्र अवरोध पुर्‍याउनुपर्ने सर्तमा उपेन्द्र यादवसहित मधेसी मोर्चासम्बद्ध केही नेताहरूलाई नियमित रकम बुझाउने गरेको बस्नेतनिकटका एक व्यक्तिले घटना र विचारलाई जानकारी दिएका छन् । गत आइतबार (५ गते) विराटनगर भन्सार कार्यालयमा आएका प्रधानमन्त्री कार्यालयका गोपाल खनाल र चेतन अधिकारीलाई ठूलो रकम उपलब्ध गराएको जानकारी भन्सारप्रमुख बस्नेतले आफ्नो निकटका मानिसलाई दिएका छन् । खनाल र अधिकारीलाई कति रकम उपलब्ध गराइएको थियो सो भने स्पष्ट गरिएको छैन ।

नेपालतर्फ भन्सार र राजस्वका कर्मचारीलाई अतिरिक्त रकम बुझाउनुअघि नेपाल प्रवेश गर्ने क्रममा भारतका प्रहरीलाई पनि नगद बुझाउन व्यापारीहरू बाध्य छन् । भारतको फारबेसगञ्ज, बथनाह र इम्लिगाछीमा खटिएका प्रहरीले कोलकाताबाट आएर लामबद्ध भएका कन्टेनरहरू खोजी–खोजी नगद असुल्ने गरेका छन् । लाइनमा पछाडि रहेका कन्टेनरलाई अगाडिसम्म पुग्न दिने भन्दै प्रहरीले प्रतिकन्टेनर पाँच हजारदेखि तीस हजार भारुसम्म असुल्ने गरेका छन् । लाइनमा अगाडि रहेका कन्टेनर तथा ट्याङ्कर र ट्रकलाई नेपाल प्रवेश गर्नुअघि भारु पाँच सयदेखि एक हजारसम्म लिएर मात्र छोड्ने गरिएको छ । फारबेसगञ्जका एक एसपीको सक्रियतामा यस्तो कार्य रातको समयमा मात्र हुने गरेको छ ।

ओभरटेक गरेर फारबेसगन्जदेखि इम्लिगाछीसम्म आउने सवारीसाधनले इम्लिगाछीमा खटिएका भारतीय प्रहरीलाई अलग्गै रकम बुझाउनुपर्ने हुन्छ । इम्लिगाछीमा आइपुगेपछि पार्किङमा जाने भए भारु एक हजार र सीधै जागबनीतर्फ लाग्ने भए प्रतिमालवाहक ट्रक भारु पाँच हजार प्रहरीलाई बुझाउन व्यापारीहरू बाध्य छन् । भारतबाटै आएका ट्रकहरूलाई भने जति दिन्छन् त्यति नै रकम लिएर प्रहरीले छोड्ने गरेका छन् । तेस्रो मुलुकको सामान बोकेर आएका कन्टेनरहरूबाट मोलमोलाइ गरेर प्रहरीले नगद असुल्ने गरेको छ । यस कार्यको संयोजन इम्लिगाछीस्थित नगरपालिकाको कर उठाउने जिम्मा पाएका ठेकेदार रतनले गर्ने गरेका छन् । व्यापारीबाट उठेको रकम रतनले विनोद पासवान नामक प्रहरीलाई बुझाउने गरेका छन् । पासवानले नेपाली फोन नम्बर ९८०५३१२०६१ प्रयोग गर्ने गरेका छन् ।

यसरी व्यापारीहरू भारतका प्रहरी र नेपाली भन्सार तथा राजस्वका कर्मचारीबाट निरन्तर ठगिँदा पनि नेपाली सरकारले समस्या समाधान निम्ति कुनै चासो देखाएको छैन । प्रधानमन्त्रीको सचिवालयकै कर्मचारीसमेत यसरी भन्सार कार्यालय पुगेर नगद बोक्ने गरेपछि थप आशङ्का उत्पन्न भएको छ ।

– नवीन उप्रेती