अन्तरक्रियाको नाममा एकोहोरो व्याख्यान

अन्तरक्रियाको नाममा एकोहोरो व्याख्यान


:: स्वयम्भूनाथ कार्की ::
SN Karki

कुनै बेलामा नेपालमा प्रवचन सुन्न मन लागे सीमित मौका हुन्थ्यो । कुनै पण्डितको पुराण, रेडियोमा वा टीभीमा कसैको व्याख्यान अनि समारोहहरूमा नेताको भाषणहरू मात्र एकोहोरो हुने गर्दथ्यो । शिक्षक प्रशिक्षकहरूको प्रशिक्षण प्रस्तुतिमा विद्यार्थी, प्रशिक्षार्थीले बुझे–नबुझेको र मनमा लागेको शङ्का निवारण गर्न प्रश्न गर्ने पुरानो चलन हराएको छ । आजभोलि त नाम जे दिए पनि कार्यक्रम जे भए पनि एकोहोरो व्याख्यान नै हुने गर्दछ । अन्तरसंवाद, अन्तक्र्रिया जे नाम दिए पनि त्यहाँ जिज्ञाशा वा प्रश्नको निमित्त कुनै स्थान नै हुँदैन ।

अप्रमाणित र असत्य कुरा व्याख्यानको आधार बनाएर दिइने गरेका यस्ता व्याख्यान सयपल्ट दोहोर्‍याए झुटो पनि सही हुन्छ भन्ने गोयबल्स सिद्धान्तको व्यावहारिक प्रयोग हो । आजभोलिका सबै प्रस्तुति यस्तै ‘ब्रेन वासिङ’ शैलीका हुने गर्दछन् । कुनै राजनीतिक दलले आफ्ना कार्यकर्तालाई दिने प्रशिक्षणजस्तो महत्त्वपूर्ण कुरामा पनि प्रशिक्षार्थीको शङ्का समाधान भएको हुँदैन । यस्ता प्रशिक्षणको बलले जब ऊ जनतामाझ जान्छ त्यसबेला उठेका प्रश्नहरूको तार्किक निराकरण हुँदैन । त्यसैले त्यो अवस्थाबाट बच्न शारीरिक बलको आवश्यकता पर्ने गर्दछ । यही संस्कारले नै राजनीतिमा हिंसा जन्माएको हो । बाहुवलीहरूको वर्चश्व कायम गरेको हो । जसको उठानको अनुभव वर्तमान नेपालले गरिरहेको छ ।

जब तर्कभन्दा मुड्कीले महत्त्व पाउन थाल्छ त्यसबेलामा मानवीय संवेदनाले असर गर्न नसक्ने कार्यकर्ता सबैभन्दा महत्त्वको मानिने गर्दछ । आन्दोलनमा सुरक्षाकर्मीलाई गुलेली हानेको कारणले ख्याति पाउने क्रम सुरु हुन्छ । अगुल्टो झोस्दै गरेको चित्र वा फुटेज राजनीतिक सफलताको मापदण्ड बन्छ । यस्तो बेलामा मूल्य र नैतिकताले राजनीतिबाट बिदा लिनैपर्ने हुन्छ । एकपटक आफूले देखेको–सुनेको समाचारहरू सर्सर्ती सम्झने हो भने यो असम्भवजस्तो लाग्ने कुरा नेपालमा सामान्य पथ नै बनेको महसुस हुन्छ ।

यो परिपाटीमा मलजल गर्ने दोष बुद्धिजीवीहरू संलग्न भएका अनगिन्ती अन्तक्र्रिया कार्यक्रमहरूलाई पनि जान्छ । अन्तक्र्रिया या छलफलको निम्तोमा कार्यक्रममा भाग लिन गएका सहभागीको दाँतमा त्यसबेला ढुङ्गा लाग्छ जब कार्यक्रम सञ्चालकले ‘समयको कमीले गर्दा तपाईंहरूको प्रश्न सामेल गर्न असमर्थ छौँ । कृपया क्षमा गर्नुहोला, आयन्दा हामी ख्याल राख्नेछौँ’ भन्ने रेकर्ड बजाउँछ । जे–जस्तो भए पनि यो रेकर्ड सबै भनेजस्तो अन्तरसंवाद वा अन्तक्र्रिया कार्यक्रममा बज्ने नै गर्दछ । व्याख्याताले पचाउनै नसक्ने किसिमको झुट बोलेको कुरासम्म सोध्न नसकिने अवस्थामा अन्य जिज्ञाशाको त कुरै भएन । सहभागीसँग आफ्नै मनभित्र मुर्मुरिएर आयोजकले व्यवस्था गरेको चियापान गरेर मन बुझाउनुबाहेक विकल्प नै हुँदैन ।

समय व्यवस्थापन गर्न नसक्ने न आयोजकहरू नै हुन् न व्याख्याताहरू नै । सही बुझ्ने हो भने उनीहरूसँग प्रश्नको सामना गर्न सक्ने नैतिक बल नै हुँदैन । सञ्चारमाध्यमहरूमा आयोजना गरिने वादविवादहरू पनि करिब यस्तै किसिमका हुन्छन् । कार्यक्रम सञ्चालकसँग विषयभन्दा बाहिर गएमा रोक्न निमित्त हुने मानिएको बीचमा कुरा काट्ने सहुलियतलाई बहुदा एक प्रश्नको उत्तरमा बोल्नै नदिई प्रतिप्रश्न गर्ने काममा प्रयोग हुन्छ । केही प्रस्तोता यस्ता पनि छन् जो अतिथिलाई बोल्न नदिएर वा उसको आधा वाक्यको आधारमा आफ्नो मनको कुरा थोपर्ने गर्दछन् ।

अतिथिहरू पनि कोभन्दा को कम शैलीमा प्रस्तुत भएको भेटिने गर्दछ । एक अतिथिले कुरा पूरा गर्नै नपाई यसको कुरा नै नबुझिने गरेर अर्को अतिथिले बोल्न सुरु गर्दछ । उसको यो बोलीमा आफ्नो कुरा दर्शक वा स्रोताले बुझून् भन्ने लक्ष्य हुँदैन विपक्षी अतिथिले बोल्न नपाओस् वा बोले पनि कसैले बुझ्न नसकून् भन्ने सोच हुन्छ । भारतीय टीभीका कार्यक्रममा देखिने गरेका यस्ता अशोभनीय छलफलहरूको अनुकरण नेपालमा पनि हुन लागेका छन् ।

राजनीतिमा यस्तो गर्नु आवश्यक होला भन्ने मान्दा पनि कुनै व्याख्याताको निमित्त यस्ता कुरा कुनै पनि हालतमा शोभनीय होइनन् । अन्तक्र्रिया वा अन्तरसंवादमा आउने सहभागी व्याख्याताको विचार धारणा आदि सँग परिचित हुन्छ । सञ्चारमाध्यममा व्याख्याताको धारणा सुनी–पढिसकेको हुन्छ । त्यो एकतर्फी संवाद भयो भनेर दोहोरो संवाद गर्ने लालसामा कार्यक्रममा सहभागी भएका हुन्छन् । कति व्यख्यातासँग सहमत नै हुन्छन् तर थप जिज्ञासा हुन्छन् । कति व्याख्यातासँग असहमत हुन्छन् र आफ्नो असहमतिका कुरामा धारणा बुझ्न चाहन्छन् । केवल सुन्नमात्र आएका सहभागीलाई पनि आफू नबोले पनि दोहोरो कुरा सुन्ने अभिलाषा हुन्छ ।

यदि सही तरिकाले सहभागीको सामना गर्ने तैयारीका साथ र सहभागीलाई केवल स्रोता मात्र नबनाउने सोचले यस्ता कार्यक्रम हुने हो भने त्यो समाजमा सकारात्मक लहर फैलाउन असरदार हुन्छ । यसक्रममा व्याख्याता कमजोर भयो भने उसको धारणाको विपरीत सोचले मलजल पाउँछ, नभए उसले आफ्नो धारणामा थप समर्थन पाउँछ । यदि एकोहोरो व्याख्यानलाई अन्तक्र्रियाको नाम दिइरहने हो भने यस्ता कार्यक्रले समाजको हानि गर्दछन् । आफ्ना अनुत्तरित असहमति लिएर असहमत र आधा अधुरो कुरा लिएर सहमतको बीचमा द्वन्द्व झन् कडा हुन थाल्छ ।

यस्ता विवादमा शारीरिक बलको प्रयोगले प्रश्रय पाउँछ । त्यो घटनाको नजिरले सर्वसाधारणमा पनि त्यसै गर्ने प्रवृत्ति बढ्छ । अनि आफ्नो कुरा मनाउन गरिने हिंसा, तोडफोडजस्ता कुरा पनि समाजमा उचित लाग्न थाल्छन् । कैयौँ गोली, जिउँदै जल्नुपरेको अवस्था, ढुङ्गा वा लाठी प्रहारले घाइते हुनुपरेको अवस्था यही जिद्दीको परिणाम हो । अन्तक्र्रियालाई व्याख्यानमा बदल्ने र त्यस्ता कार्यक्रममा व्याख्यान दिने बुद्धिजीवीहरू यस प्रवृत्तिलाई मलजल गरेकोमा दोषमुक्त हुन सक्दैनन् ।

समाजमा प्रश्न र जिज्ञासाको समाधान गर्ने हिम्मत लिएर खडा हुने हो भने यस्ता घटना देख्नु–सुन्नुपर्ने छैन । असहमत सम्पूर्ण सन्तुष्ट नभए पनि आक्रोशमुक्त भने भएको हुन्छ । थप आक्रमणको निमित्त उसले पनि बाहुबल होइन आफ्नो तथ्य र विवेचनको सञ्चय गर्दछ । समयलाई बहाना बनाएर जिम्मेवारीबाट भाग्नुको साटो पर्याप्त समय नभए कार्यक्रमको निम्तो नै अस्वीकार गर्ने गरेर हाम्रा व्याख्याताहरूले कहिले आत्मबल प्राप्त गर्ने हुन् त्यो भने अनिश्चित नै छ ।