महिलाले पनि अपराध गर्छन् र ? :: बबिता बस्नेत ::

महिलाले पनि अपराध गर्छन् र ? :: बबिता बस्नेत ::


babita basnet 15
हिंसा र अपराधका धेरैजसो घटना पुरुषबाट हुने गरेका कारण अपराधी या हिंसा गर्ने मानिसका रूपमा प्राय: पुरुषकै छवि आउने गर्छ । अन्य अपराधका साथै महिलामाथिका अपराधमा पनि लैङ्गिक रूपले हेर्ने हो भने विश्वमै पुरुष नै अगाडि छन् । त्यसैले त लैङ्गिक हिंसाको अर्थ महिला, पुरुष या तेस्रोलिङ्गी जेमा पनि लागू हुने भए पनि महिलामाथिको हिंसा नै भनेर बुझ्ने गरिन्छ, गरिएको छ । लिङ्गका आधारमा पुरुष या तेस्रोलिङ्गीलाई भन्दा महिलालाई नै बढी हिंसा हुने गरेका कारण यसमा कुनै लेखाजोखा नगरी सीधै महिला हिंसा भनेर बुझ्ने गरिएको हो । नेपालको महिला आन्दोलनले महिलासँग सम्बन्धित विविध पाटाहरूलाई उठाउँदै आएको छ । परिणामत: राज्य संरचनाका विभिन्न तह र तप्कामा महिलाको सहभागिता तथा भूमिका बढ्दो छ । तर, केही समययताका केही घटनाले अपराधमा महिलाको सङ्ख्या बढ्दै गएको देखाएको छ । जुन घटना राज्य एवम् समाजका निम्ति मात्र नभएर नेपालको महिला आन्दोलनका लागि पनि त्यत्तिकै चुनौतीपूर्ण छन् ।

डा. सुहानाका नामबाट विभिन्न व्यक्तिलाई ठग्दै हिँड्ने युवतीदेखि आपत परेको ठानी बाटोमा लिफ्ट दिएकी युवतीले गरेको ब्ल्याकमेलिङका घटनासम्म अहिले चर्चामा छन् । चोरी, पाकेटमारीदेखि कहिल्यै नसुनिएका अचम्मका आपराधिक घटनामा अहिले महिलाको संलग्नता देखिन थालेको छ । केही दिनअघि राजधानीको नयाँ बानेश्वरमा दुईवटी युवतीले मोटरसाइकलमा लिफ्ट मागेछन्, धेरै आपतमा परेझैँ हाउभाउ गरेकाले एक युवकले मोटरसाइकल रोकेर कहाँ जान लागेको सोधेपछि ती युवतीले ‘तपाईं कहाँ जान लाग्नुभएको ?’ भनी प्रश्न गरेछन् । आफू जाने गन्तव्य पनि सोही स्थान भएको बताएपछि अर्को मोटरसाइकललाई समेत रोकेर ती युवकले ‘उहाँहरूलाई धेरै अप्ठ्यारो परेको रहेछ, पुर्‍याइदिऊँ’ भनेंछन् । पेप्सीकोला जान भनेर हिँडेका उनीहरू तिनकुनेपारि पुगेपछि पछाडि रहेका युवाले अगाडिको मोटरसाइकलमा बस्ने युवतीले मोटरसाइकल चलाइरहेका युवाको पछाडिको खल्तीबाट पर्स निकालेको देखेछन् । ल तपाईंको साथीले त उसको पर्स निकाल्यो भनेर आफ्नो बाइकमा भएकी युवतीलाई भनेपछि उनी एकछिन रोक्नुस् त भनेर मोटरसाइकलबाट ओर्लेर भागिछन् । पछाडिकी साथी भागेपछि अगाडिकी पनि मोटरसाइकल जाममा परेको बेला केही नभनी फुत्त झरेर दौडिँदै बाटो काटिछन् । ती दुई मोटरसाइकलवालाले केही समय खोजे, तर भेटेनन् । आपतमा परेको ठानी सहयोग गर्दा आफू लुटिएको कथा बोक्ने युवाको सङ्ख्या अहिले सहरमा बढ्दो छ ।

विराटनगरमा पनि केही समयअघि यस्तै घटना भएको रहेछ । रातिको समयमा मोटरसाइकलमा लिफ्ट दिँदा एक युवतीले युवकलाई तपाईं मेरो दाइजस्तो मान्छे आज त भगवान् नै निस्कनु भो, मेरो घर यहाँबाट टाढा छ, यति राति म जान सक्दिनँ, घरमा एक रात बास दिनुस् न भनिछन् । उनले घर लिएर गए, श्रीमती र बच्चाहरूलाई सबै कुरा बताए । उनीहरूले पनि पाहुनाको सत्कार गरे । तर, भोलिपल्ट लिफ्टवालाले अब म काममा जाने बेला भो, तपाईं जानुस् भन्दा उनले हिजोचाहिँ त्यत्रो सपना देखाएर ल्याउनु भो, आज जा भन्नुहुन्छ, म समाज बोलाएर बेइज्जत गरुँ ? भन्दा उनी छाँगाबाट खसेझैँ भएछन् । उनले लौ न के भनेको यस्तो भन्दै गर्दा श्रीमतीले पनि अविश्वास गरेर नचिनेको मान्छे भए किन ल्याएको ? पक्कै केही हुनुपर्छ भनेर उल्टै केटीको साथ दिइछन् । केटीले पैसाको बार्गेनिङ गर्न थालेपछि अबचाहिँ अति भयो भन्दै प्रहरीकहाँ लान खोज्दा केटी भागिछन् ।

अहिले राजधानीका टोलटोलमा अपाङ्गका लागि चन्दा भन्दै महिला रसिद बोकेर हिँड्ने गरेका भेटिन्छन् । घरघरमा पसेर चन्दा माग्दै गर्दा तिनका आँखा र ध्यान भने घरमा को–को छन् भन्नेतर्फ हुने रहेछ । चन्दा उठाउने बहानामा चोरी भएका घटना बढ्दै गएका छन् । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजोआज हाम्रो गेस्टहाउसमा जाऊँ, होटेलमा जाउँm भन्दै वैदेशिक रोजगारबाट फर्किएका युवालाई होटेल पुर्‍याएर लुट्ने गरेका घटना पनि सार्वजनिक हुन थालेका छन् । यस्तै, वैदेशिक रोजगारीमा गएका कतिपय युवा आर्थिक हिंसामा पर्न थालेका समाचार बारम्बार सुनिन थालेको छ । वर्षौं विदेशको भूमिमा परिवारविहीन भएर दु:खले कमाएको पैसा आफू आउँदा पराईलाई खुवाएर श्रीमतीसमेत तिनै पराईको साथ लागेको र बच्चाहरूको विजोग भएका घटना अब घरघरको त नभनौँ टोलटोलको कहानीझैँ बन्न थालेको छ । यसै प्रसङ्गमा एक पत्रकार साथीले भने, ‘पहिला–पहिला महिलाका समाचार लेख्दा नाम परिवर्तन भनेर लेखिन्थ्यो, अब त पुरुषका नाम पनि परिवर्तन गर्नुपर्ने बेला आयो ।’ हो, यदि पीडित भए महिला हुन् या पुरुष पीडितले नचाहेसम्म तिनको नाम सार्वजनिक गरिनुहुँदैन ।

आखिर किन यस्तो भइरहेको छ ? के महिला पनि ‘पुरुषजस्तै’ हुन थाले ? कुनै जमाना थियो, महिलाले पनि अपराध गर्छन् र ? भन्ने सोचिन्थ्यो । महिला पीडितका रूपमा मात्र चित्रित हुने गर्थे, तर अहिले पीडक र अपराधीका रूपमा पनि अगाडि देखापर्न थालका छन् । यो अवश्य नै महिला सशक्तीकरणको खुट्किलो होइन, पाटो पनि होइन । आपराधिक मनोवृत्ति जसको भए पनि त्यो गलत नै हो । शिक्षा र जनचेतनासँगै बेरोजगारी, अभाव र भौतिक सुविधाप्रतिको मोहले महिलालाई पनि आपराधिक गतिविधिमा संलग्न गराउँदै गएको छ । हाम्रो समाजले मात्र होइन कतिपय कानुनले पनि महिलाले भनेपछि त्यो गलत हुँदैन भन्ने मान्यता राख्छ । जस्तो, बलात्कारका मुद्दामा महिलाले भनेपछि त्यो नै अन्तिम मानिन्छ । तर, अपराधप्रतिका मूल्य–मान्यता विस्तारै परिवर्तन हुँदै छन् । अपराधमा महिलाको बढ्दो सहभागिताले महिलाप्रतिका दृष्टिकोण पनि बदलिँदै छन्, जुन सकारात्मक परिवर्तन होइनन् । अधिकांश पुरुष आफू महिलाबाट पीडित भएको स्वीकार गर्न चाहँदैनन्, त्यसो गर्दा आफू नामर्द बनिने भय उनीहरूमा देखिन्छ । जसका कारण आपराधिक मनोवृत्तिका महिलाको उत्साह बढ्ने गरेको पनि पाइएको छ । यस्तै घटना बढ्दै जाने हो भने हाम्रो समाजमा महिलाप्रतिको सकारात्मक दृष्टिकोणमा ह्रास आउनेछ, जुन अन्तत: सम्पूर्ण महिलाका लागि क्षतिको विषय बन्नेछ ।