सुशीलले मागे राजदूतको सहयोग

सुशीलले मागे राजदूतको सहयोग


आफूलाई राष्ट्रवादी नेताको रूपमा चिनाउन चाहने कांग्रेस सभापति सुशील कोइरालाले नेपालका लागि भारतीय राजदूत रञ्जित रेसँग भेटी तेह्रौँ महाधिवेशनमा पार्टीको सभापति बन्न सहयोगको याचना गर्नुभएको छ । कोइरालानिकटको सूत्रले जनाएअनुसार सुशील कोइरालाले गत साता राजदूत रेलाई आफ्नै निवासस्थानमा बोलाएर सहयोगको याचना गर्नुभएको हो । भेटका अवसरमा कोइरालाले बाह्रौँ महाधिवेशनमा भारतबाट भएको सहयोग स्मरण गर्दै यसपटक पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको थियो । जवाफमा राजदूत रेले पार्टीको आन्तरिक मामिलामा दख्खल पुर्‍याउने या प्रभाव पार्ने काम हुन नसक्ने जनाउँदै कोइरालाप्रति सद्भाव रहेको स्पष्ट गर्नुभएको थियो । कोइरालाले त्यस अवसरमा रामचन्द्र पौडेलले आफूलाई अप्ठ्यारो पारेको र शेरबहादुर देउवाको हातमा कांग्रेसको नेतृत्व जानु उचित नहुने धारणा पनि राजदूतसमक्ष प्रकट गर्नुभएको थियो ।

पौडेललाई मिलाउन आफूले प्रयास गरिरहेको बताउँदै कोइरालाले भारतको सहयोग पाए आफू पुन: पार्टी सभापति बन्न सक्ने अवस्था रहेको स्पष्ट गर्नुभएको थियो । कुराकानीका क्रममा कोइरालाले प्रकट गर्नुभएको एउटा अभिव्यक्तिले भने राजदूत रेलाई स्तब्ध बनाएको बताइन्छ । कोइरालाले आधी नेपाल भारतले र आधी चीनले लिने अवस्था आएको बताउनुभएपछि राजदूत स्तब्ध हुनुभएको कोइरालाका निकटवर्तीहरूले जनाएका छन् । सुशील कोइरालाको त्यस्तो अभिव्यक्तिप्रति असहमति जनाउँदै राजदूत रेले भारत नेपालको सार्वभौमिकता, राष्ट्रिय एकता र अखण्डताको पक्षमा रहेको स्पष्ट गर्नुभएको थियो । नेपालको आधी या केही अंश छुट्याउनेबारे भारतले कहिल्यै नसोचेको जानकारी पनि राजदूतले कोइरालालाई गराउनुभएको थियो ।
sushil-ray
ज्ञातव्य छ, कांग्रेसको बाह्रौँ महाधिवेशनमा भारतीय पक्षबाट सुशील कोइरालालाई विशेष सहयोग प्राप्त भएको थियो । आफू त्यसबेला सभापति बन्न भारतीय पक्षले सहयोग पुर्‍याएकै कारण कोइरालाले यसपटक पनि सहयोगको याचना गर्नुभएको बुझिएको छ । यसरी सभापति बन्न राजदूतको सहयोग माग्न पुग्नुले कोइराला यसपटक पनि आफैँ उम्मेदवार बन्न इच्छुक रहनुभएको स्पष्ट गरेको छ । तर, रामचन्द्र पौडेललाई उहाँले कसरी आफ्नो समर्थनमा ल्याउन सक्नुहोला, यो भने प्रतीक्षाको विषय बनेको छ ।