खुमबहादुर कतापट्टि ?

खुमबहादुर कतापट्टि ?


Khum-Bahadur-Khadka
नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनमा सुशील कोइराला, रामचन्द्र पौडेल र शेरबहादुर देउवाले सभापति पदमा उम्मेदवारी दिनुहुने भएपछि अर्का प्रभावशाली नेता खुमबहादुर खड्काको साथ कसलाई रहने भन्ने विषयमा पार्टीभित्र व्यापक जिज्ञाशा उत्पन्न भएको छ । प्रमुख नेताहरूपछि पार्टीमा सर्वाधिक बलियो पकड भएका नेता मानिनुहुने खड्काको साथ जसलाई रहन्छ उसैको पल्ला भारी हुने भएकोले उहाँको भूमिकाप्रति बढी जिज्ञाशा उत्पन्न भएको हो ।

पार्टीमा महामन्त्री या उपसभापतिको बलियो दाबेदार रहनुभएका खड्काले अहिलेसम्म कसलाई साथ दिने भन्नेबारेमा मुख खोल्नुभएको छैन । उहाँले पार्टी सङ्गठन सुदृढीकरण, मधेस समस्या, सनातन हिन्दूराष्ट्र र कम्युनिस्टलाई हेर्ने दृष्टिकोणमा निकट रहेका नेतालाई सभापति बन्न सहयोग पुर्‍याउने सङ्केत भने दिनुभएको छ । यसक्रममा खड्काले सुशील कोइरालालाई साथ दिनसक्ने सम्भावना न्यून रहेको र शेरबहादुर देउवा र रामचन्द्र पौडेलमध्ये एकको पक्षमा उभिने अनुमान गरिएको छ । खड्काका समर्थकहरूमध्ये अधिकांशले देउवासँग मिलेर जानु उपयुक्त हुने सुझाव दिएका छन् भने केहीले रामचन्द्र पौडेललाई साथ दिनु उचित हुने बताएका छन् ।

गत शनिबार नेता खड्काको सानेपास्थित निवासस्थानमा भएको शुभचिन्तकहरूको एक भेलाले उपरोक्त सुझाव दिएको हो । भेलामा उपस्थित कतिपय सहभागीले नेता रामचन्द्र पौडेल अन्तिमसम्म अड्नुहुनेमा आशङ्का रहेको धारणा पनि प्रकट गरेका थिए । देउवा र पौडेल दुवै नेताहरूसँग छलफल गरेपछि मात्र खड्काले निर्णय लिनुहुने र त्यस्तो निर्णय आगामी दश दिनभित्रै हुनसक्ने बुझिएको छ । विगतमा नेताहरूसँग भएका समझदारी कार्यान्वयनमा प्रकट इमानदारी र उल्लिखित चार मुद्दाहरूमा बन्ने समान धारणाका आधारमा खड्काले कसलाई सहयोग गर्ने भन्नेबारेमा निर्णय लिनुहुने बताइएको छ । यसअघिको महाधिवेशनमा टिम छनोटमा भएको ढिलाइका कारण क्षति पुगेकोले यसपटक स्थानीय अधिवेशन प्रारम्भ हुनु अगावै खड्काले सभापतिबारे निर्णय लिनुहुने भएको छ ।