छिट्टै आपूर्ति सहज हुने कमल थापाको दाबी

छिट्टै आपूर्ति सहज हुने कमल थापाको दाबी


Kamal-Thapa
काठमाडौं । मधेसेन्द्रित दलले उठाएका सवाललाई सम्बोधन गर्न सरकारका साथै नेपाली कांग्रेस, एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले) सम्मिलित कार्यदलले जारी राखेका वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले चाँडै नै समस्या समाधान हुने उपप्रधानमन्त्री कमल थापाले विश्वास व्यक्त गरेका छन् । बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री थापाले आन्दोलनमा रहेका मधेसकेन्द्रित दलसँग निरन्तर वार्ता जारी रहेको र विवाद अत्यन्तै साँघुरिँदै गएकाले चाँडै नै मुलुकले निकास पाउने दाबी गरे ।

सरकारले प्रस्तुत गरेका तीनबुँदे अवधारणालाई भारत सरकारले पनि स्वागत गरेको चर्चा गर्द उपप्रम थापाले भारतसँग रहेको असमझदारी कूटनीतिक प्रयासबाट करिब अन्त्य भइसकेको दाबी समेत गरे । प्रधानमन्त्रीको चाँडै नै भारत भ्रमण हुने उल्लेख गर्दै परराष्ट्रमन्त्री थापाले यस भ्रमणबाट दुवै देशको सम्बन्ध अझ मजबुत हुने र भारतलगायत अन्य देशसँग सम्बन्ध विस्तार गरी विकासका गतिलाई तीव्रता दिइने जानकारी गराए ।
वीरगन्जबाहेक अन्य नाका आपूर्तिका लागि सहज भइसकेको चर्चा गर्दै थापाले केही दिनमै मुलुकमा आपूर्ति व्यवस्थित हुने विश्वास प्रकट गरे ।
Kamal-Thapa1
प्रदेश सीमाङ्कनको साझा अवधारणा बनाउन अत्यन्त संवेदनशील र जोखिम रहेकाले यसलाई तीन महिनाको अवधिमा उच्चस्तरीय संयन्त्रको सुझावको आधारमा समाधान गरिने, अन्य जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र र राज्यको हरेक अङ्गमा समानुपातिक र समावेशी प्रतिनिधित्व सम्बन्धमा संसद्मा प्रस्तुत विधेयक पारित भएपछि मधेशका अधिकांश माग पूरा हुने जानकारी उनले गराए । यति मात्र नभई एक वर्षमै लोडसेडिङको अन्त्य गर्ने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्ति पछाडि सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गर्न थापा चुकेनन् ।