सञ्चार उद्यमको नाममा पनि ठगी !

सञ्चार उद्यमको नाममा पनि ठगी !


विभिन्न वहानामा ठगी गर्ने प्रवृत्ति नेपाली समाजमा अब नौलो विषय रहेन । यसै परि।प्रेक्ष्यमा झापा, इलाम र पाँचथरका दर्जनौँ युवाबाट लाखौँ रुपैयाँ ठगी गरी झापाका एक सञ्चार उद्यमी फरार भएका छन् । झापा शनिअर्जुन– ४ निवासी चन्द्रप्रसाद ढुङ्गेल गत ०७२ जेठदेखि नै फरार रहेका हुन् । उनले शुभलारी मिडिया प्रालिको नाममा दुवागढी–४ चारआलीमा ग्लोवल एफएम ९५.४ मेगाहर्ज सञ्चालन गरी रोजगारी दिने बहानामा युवालाई ठगेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

ढुंगेलले जागिर दिने सर्तनामा गराएर हरेक युवाबाट २० हजारदेखि र एक लाखसम्म ठगी गरेको पीडितमध्येकी एक मनिषा बुढाथोकीले बताइन् । ढुङ्गेलले एफएम सञ्चालन गर्न सुरु गरेदेखि नै विभिन्न व्यक्तिबाट रकम उठाउन सुरु गरेको र लाखौँ रुपैयाँ झापासहित इलाम, पाँचथरका झन्डै ५० जनालाई ठगी गरेको बताइन्छ । उनले इलाम र पाँचथरबाट एफएममा काम गर्न आएकाहरुलाई जनही एक लाख धरौटी राख्न लगाएर उक्त रकम नदिई फरार भएको खुलासा भएको छ ।
Thag
आफ्नो रेडियोको नाम भजाएर उनले दमक क्षेत्रबाट मात्रै तीन चार लाख ठगी गरेको दमकका एक सञ्चारकर्मी बताउँछन् । मेची नगरका प्रतीक न्यौपाने र युवराज आचार्यसँग जनही एक-एक लाख ठगेको पीडितले बताएका छन् । त्यसैगरी लीला खरेल, कल्पना खेवा, सन्ध्या श्रेष्ठ, सावित्रा सुवेदीसँग जनही रु २०-२० हजार ठगेको पीडित लीलाको भनाई छ । यसअघि नै पीडितले कारबाहीका लागि प्रहरीमा उजुर गरे पनि उनी फेला परेका छैनन् । कहिले काठमाडौँँ कहिले इटहरी, कहिले दमक, कहिले शनिअर्जुन क्षेत्रमा लुकीछिपी बस्दै गरेका उनी अहिले कहाँ छन् पत्तो नभएको पीडित खेवाको कथन छ ।

एफएम सञ्चालन गरेको घरको भाडा नतिरेपछि अहिले एफएम कार्यालयमा घरमूलीले तालाबन्दी गरिदिएका छन् । उक्त घरको भाडाबापतको मोटो रकमसमेत उनले भुक्तानी नगरेको बुझिएको छ । बहाना बनाउन र मान्छेलाई बसमा पारेर ठगी गर्न ढुङ्गेल खप्पिस रहेको पीडितको भनाइ छ ।