मधेसी मोर्चाको वार्ताटोली बिच्कियो !

मधेसी मोर्चाको वार्ताटोली बिच्कियो !


madheshi-morcha
काठमाडौं । प्रमुख तीन राजनीतिक दलसँगको वार्ता औचित्यहीन भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा गठित वार्ता टोलीले सरकारी वार्ता टोलीसित वार्तामै नबस्ने जनाएको छ । नेपालको संविधान जारी गर्ने समयकै जस्तो हठ सरकारी वार्ता टोलीले देखाएको हुँदा अबको वार्ता मोर्चामा आवद्ध राजनीतिक दलका शीर्ष र तीनदलका शीर्ष नेतृत्वका तहमा मात्रै हुने भन्दै मोर्चाको टोलीले निराशा व्यक्त गरेको हो ।

मोर्चाद्वारा गठित टोलीले बिजुली बजारस्थित तराई–मधेस लोतान्त्रिक पार्टीको कार्यालय मंगलबारआयोजना गरेको पत्रकार सम्मेलनमा तीन दलसितको वार्ताको औचित्य भने समाप्त भइनसकेको प्रस्ट्याएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेतासहित ती दलबाट गठित वार्ता टोली र मोर्चाका वार्ता टोलिबीच सोमबार साँझ प्रधानमन्त्री निवासमा भएको वार्ता क्रममा भएका कुराकानीबाट आफूहरु तीन दलद्वारा गठित वार्ता टोलीसित वार्तामा नबस्ने निर्णयमा पुगेको तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठीले बताए । “तीन दलका शीर्ष नेता र ती दलका वार्ता टोली सोमबारको वार्तामा जुन भाव र शैलीमा प्रस्तुत भए, जे कुरा त्यहाँ राखे, यसले हामीलाई नराम्री मन दुखाउने काम ग¥यो । यसैले उनीहरुसित हामीहरु वार्तामा नबस्ने निर्णयमा पुग्यौँ ।” त्रिपाठीको भनाई छ ।

मोर्चाको आह्वानमा तराई–मधेसमा जारी आन्दोलनका ११ बुँदे माग र व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधनमा ती मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर तीन दलले एक एक जना रहने गरी कार्यदल गठन गरेका थिए । सो कार्यदलमा काँग्रेसका नेता महेश आचार्य, एमालेका उपाध्यक्ष भीमबहादुर रावल र एमाओवादीका महासचिव कृष्णबहादुर महरा रहेका छन् । उता मोर्चाका तर्फबाट तमालोपाका उपाध्यक्ष त्रिपाठी, सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण, सङ्घीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ लगायत छन् ।