सिन्धुपाल्चोकका भूकम्पपीडितलाई अल्काको राहत

सिन्धुपाल्चोकका भूकम्पपीडितलाई अल्काको राहत


6 Alka
लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए २ अन्तर्गतका क्लबहरू र ललितपुरस्थित अल्का अस्पतालको संयुक्त आयोजनामा भूकम्पबाट सबैभन्दा बढी प्रभावित जिल्ला सिन्धुपाल्चोकको ठूलो सिरुबारीमा झन्डै पाँच सयजनाको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ । दलित समुदायको बाहुल्य रहेको उक्त गाविसमा जाडोबाट प्रभावितमध्ये तीन सय २५ गरिब परिवारलाई न्यानो कपडा पनि वितरण गरिएको थियो । भूकम्पपीडितहरू चिसोबाट बिरामी पर्न थालेको समाचार सुनेपछि सामाजिक उत्तरदायित्वअन्तर्गत अल्का अस्पतालसँग सहकार्य गरेर नि:शुल्क शिविरका साथै न्यानो कपडा वितरण गरिएको लायन्सका डिस्ट्रिक गभर्नर रुद्रहरि ज्ञवालीले बताए । शिविरमा जनरल फिजिसियन, स्त्री रोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ चिकित्सकसहित २० जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षणका साथै नि:शुल्क रूपमा औषधिसमेत वितरण गरेको लायन्सकी जोन चियर पर्सन एवम् अस्पतालकी सञ्चालक विद्या श्रेष्ठ थापाले बताइन् । शिविरमा धेरैजसो चिसोले बिरामी परेका रुघाखोकी, ज्वरो, दमलगायत समस्या भएका बिरामी आएका थिए । स्वास्थ्य परीक्षण गराएकामध्ये थप उपचार गर्नुपर्ने बिरामीलाई विशेष सुविधा दिएर अल्का अस्पतालमै उपचार गर्ने व्यवस्था मिलाएको अध्यक्ष कुमार थापाले बताए । आफैँले स्वेच्छिक रूपमा सङ्कलन गरेको रकममार्फत आगामी दिनमा पनि भूकम्प प्रभावित अन्य गाविसमा स्वास्थ्य शिविरका साथै न्यायो बाँड्ने कार्यक्रमलाई निरन्तरता दिइने लायन्सका डिष्ट्रिक गभर्नर ज्ञवालीको भनाइ छ ।