गमला फुटेपछि प्रवासमा युवकको आत्महत्या

गमला फुटेपछि प्रवासमा युवकको आत्महत्या


सामान्य भूलवश दुईवटा गमला फुटाएकै कारण लाउँलाउँ र खाउँखाउँ उमेरका युवकले आत्महत्या गर्नुपर्ने अवस्था आइपर्ला भनी सोच्न सकिन्न । तर, यस्तै अकल्पनीय घटना व्यहोरेर पीडाको सागरमा परेको छ गुल्मी नयाँगाउँ–६ को एक मगर परिवार । घटना भारत हरियाणा गुँडगाउँको हो । दीपक मल्होत्रा नामक भारतीयको घरमा घरेलु कामदारका रूपमा काम गर्दै आएका गुल्मीका २० वर्षीय केशव मगरले मालिकको गाडी ब्याक गर्ने क्रममा छिमेकी घरको गमला तोड्न पुगेका थिए । भारतीय उच्च न्यायालयका वकिलसमेत रहेका ती गमलाधनीले केशवलाई गमला फुटाएको भन्दै निर्घात कुटे । यसरी आफ्ना कामदार कुटिएपछि मल्होत्राले छिमेकीसँग विवाद पनि गरेका थिए । तर, सामान्य गल्तीमा सोझा नेपाली युवकलाई कुटपिट गर्ने ती कानुन व्यवसायीले उल्टै मल्होत्रालाई समेत धम्क्याए । यसरी आफ्नो कारणले दुई छिमेकीबीच झगडा भएको र गमला फुटाएकै निहुँमा अपमानजनक ढङ्गले कुटाइ खानुपरेको पीडा केशवले झेल्न सकेनन् र गमला फुटेकै दिन गत शनिबार दिउँसो आफ्नो कोठामा पसेर उनले पासो लगाई आत्महत्या गरेका थिए ।
Suside News India
विगत डेढ महिनादेखि भारतमा घरेलु काममा खटिएका केशवले मासिक ६ हजार भारु तलब पाउँथे । थप दु:खको कुरा त के छ भने मृतक केशवका दाइको पनि केही महिनाअघि सडक दुर्घटनामा परेर हरियाणामै ज्यान गएको थियो । उनकी आमा र भाइबहिनी गुल्मीको गाउँमा ज्यालादारी काम गरेर जीविकोपार्जन गरिरहेका छन् । यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासमा पनि जानकारी गराइएको छ । नेपाली कामदारको अनाहकको मृत्यु घटनामा सरोकार राख्दै आवश्यक अनुसन्धान एवम् कानुनी प्रक्रियाको तदारुकताका लागि स्थानीय प्रहरी प्रशासनमा दबाब दिन नेपाली जनसम्पर्क भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डे, क्षेत्रीय सदस्य ललित जीसी, राजु नेपाल, युवराज भट्टराई, शाखा अध्यक्ष टीकाराम पाण्डेलगायतका प्रतिनिधिले घटनास्थलमै पुगी न्यायिक जाँचबुझ गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।