केपीको भारत भ्रमण अझै अनिश्चित

केपीको भारत भ्रमण अझै अनिश्चित


oli-and-Modi
भारतसँग निहुँ खोज्दै राष्ट्रवादी पहिचान बनाउने कसरतमा लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका लागि गर्नुभएको प्रयास अझै सफल हुन सकेको छैन । ओलीले भारतीय स्वतन्त्रता दिवसको अवसरमा नयाँदिल्लीमा आयोजना हुने विशेष समारोहमा अतिथिको रूपमा सहभागी हुने गरी भारत भ्रमणमा जान कूटनीतिक च्यानलहरूमार्फत निवेदन दिनुभएको थियो । तर, विभिन्न कारण दर्शाउँदै नयाँदिल्लीले ओलीको उक्त इच्छा पूरा गर्न चाहेन । नेपालमा भारतविरोधी भावना भड्काउन मुख्य भूमिका निर्वाह गर्नेमध्येका एक केपी ओलीलाई २६ जनवरीमा आयोजना हुने राष्ट्रिय समारोहमा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई झैँ अतिथिको रूपमा उभ्याउन भारतले नचाहेको स्पष्ट रूपमा बुझिन्छ । त्यसरी स्वतन्त्रता दिवसको अवसरमा आयोजना हुने समारोहमा सहभागी बन्न गरेको अनुनयविनय नसुनिएपछि ओलीले फेबु्रअरीको दोस्रो सातामा भारत आउन इच्छुक रहेको सन्देश पठाएका थिए ।

ओलीको उक्त प्रस्तावलाई लिएर नयाँदिल्लीले विचार गरिरहेको दुई साता नाघिसक्दा पनि त्यसबारे निर्णय भइसकेको छैन । भारतीय संस्थापनको एउटा पक्ष केपी ओलीलाई नयाँदिल्ली बोलाएर उनको कुरा सुन्नु उचित हुने पक्षमा देखिएको छ । उनीहरूले नेपाललाई बलजफ्ती चाइनातिर ढल्किन नदिनका लागि पनि ओलीलाई भारतमा निम्त्याउनु उपयुक्त हुने तर्क पेस गरेका छन् । तर, संस्थापनकै अर्को एउटा पक्ष भने ओलीलाई भारतमा स्वागत गर्दैमा दुई मुलुकबीच उत्पन्न असमझदारी अन्त्य नहुने धारणा राख्दछन् । नेपाली जनतालाई भारतविरुद्ध भड्काउन मुख्य भूमिका निर्वाह गर्ने ओलीलाई भारतमा स्वागत गर्दा त्यसको राम्रो सन्देश नजाने बरु भारत ओलीसँग झुकेको अर्थ लाग्ने उनीहरूको बुझाइ छ । नयाँदिल्लीमा यस्तै छलफल चलिरहेका कारण प्रधानमन्त्री ओलीको भारत भ्रमण अझै निश्चित हुन सकेको छैन ।

दिल्लीस्थित एक सूत्रले घटना र विचारलाई दिएको जानकारीअनुसार ओलीको भारत भ्रमण भए कांग्रेसको महाधिवेशनभन्दा अगाडि नै हुनेछ, यदि नेपाली कांग्रेसको महाधिवेशन अगावै ओलीको भ्रमण हुन सकेन भने त्यसपछि भारत ओलीलाई दिल्लीमा स्वागत गरिने सम्भावना कम छ । यसरी नेपाली प्रधानमन्त्रीको भारत भ्रमण गर्ने इच्छा अझै अन्योलमा परेको छ । भारत जान नपाए पनि प्रधानमन्त्री ओली चीन भ्रमणमा जानेचाहिँ निश्चित भएको छ । उनी एक अन्तर्राष्ट्रियस्तरको सम्मेलनको अवसर पारेर चीन जान लागेका हुन् । ओलीले त्यस अवसरमा चिनियाँ नेताहरूसँग अलग्गै भेटी छलफल गर्ने र सम्भव भएसम्म कुनै न कुनै सम्झौता गर्ने योजना बनाएका छन् ।