सहमति भन्दाभन्दै निम्तियो मुठभेड

सहमति भन्दाभन्दै निम्तियो मुठभेड


Ranjeli-andolan
काठमाडौं । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले मधेशमा जारी आन्दोलनलाई सरकारले साम्प्रदायिक मुठभेडतर्फ लैजाने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । मोरङको रंगेलीमा बिहिबार शान्तिपूर्ण प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि सरकारी दमन भएको भन्दै उनले भत्सर्नासमेत गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेतासमेत रहेका यादवले बिहीबार साँझ प्रेस विज्ञप्ति जारी गरी विभेदमा पारिएका मधेशी, आदिवासी जनजाति, थारू, मुस्लिमलगायत सीमान्तकृत र उत्पीडित समुदायलाई अधिकार नदिने षड्यन्त्रमा लागेको रंगेली घटनाले स्पष्ट भएको आरोप लगाए । उनले आन्दोलनकारीमाथि चरम दमन गरी सरकार आफै वार्ता विथोल्न लागिपरेको आशंका व्यक्त गरेका छन् । ‘सरकारले एकातिर वार्ता गर्ने र अर्कोतिर जनता भिडाउने र आन्दोलनकारीमाथि दमन गर्ने निकृष्ट कार्य तत्काल बन्द गरी सार्थक वार्तामार्फत् देशलाई दिन’ प्रेस विज्ञप्तिमार्फत् आह्वान गरेका छन् ।

मोरङको रंगेलीमा सुरक्षाकर्मीको गोली लागी बिहीबार तीन जनाको मृत्यु भएको थियो भने तीन दर्जनभन्दा बढी आन्दोलनकारी घाइते भएका छन् । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा सुरक्षाकर्मीले चलाएको गोली लागी रंगेलीमा घाइते भएका महादेव ऋषिदेवको मृत्यु भएको छ भने डायनियामा शिव माझीको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या तीन पुगेको हो । यसअघि मोरङमा भएको झडपमा सुरक्षाकर्मीले चलाएको गोली लागी ६० वर्षीया वृद्धा द्रौपदीदेवी चौधरीको मृत्यु भएको थियो । अन्य घाइते चार जनाको अवस्था चिन्ताजनक रहेको छ । जगरनाथ साह, सत्यनारायण साह, सुबोध मण्डल र मुन्ना मण्डलको अवस्था चिन्ताजनक रहेको बताइन्छ ।

यता, नेकपा एमालेका भ्रातृ संगठन युवा संघ नेपालका कार्यकर्ताहरूले पनि मधेशी मोर्चाका कार्यकर्तामाथि खुकुरीले प्रहार गरेको सद्भावना पार्टीका नेताहरू बताउँछन् । सद्भावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोका अनुसार सद्भावनाका केन्द्रीय प्रवक्ता सन्तोष मेहता र नेता दिलीप धाडेवामाथि खुकुरी प्रहार भएको मोर्चाले आरोप लगाएको छ । उनीहरूलाई उपचारका लागि गोल्डेन अस्पतालमा भर्ना गरिएको छ ।
रंगेलीमा
रंगेली घटनाविरुद्ध मधेशी मोर्चाद्वारा वीरगन्जमा प्रदर्शन
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले मोरंगको रंगेलीमा प्रहरीले मधेशी आन्दोलनकारीहरुको गोली हानी हत्या गरेको भन्दै त्यस घटनाको विरोधमा बिहीबार साँझ वीरगन्जको घण्टाघरमा प्रदर्शन गरेको छ । साँझ करिब साढे ६ बजे जम्मा भएका उनीहरुले टायर बालेर प्रदर्शन गर्दै सरकार र प्रमुख दल विरुद्ध चर्को नाराबाजी गरेका छन् । ‘एक जना महिला समेत तीन जनाको हत्या आज भएको छ, पहिलेदेखि तय रहेको मोर्चाको कार्यक्रम विथोल्ने उद्देश्यले र टकरावको स्थिती पैदा गर्ने उद्देश्यले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीले सोही ठाउँ र समयमा कार्यक्रम राखेर देशमा अराजकता पैदा गर्ने मनसाय प्रष्टिएको छ,’ प्रदर्शनको क्रममा मन्तब्य प्रकट गर्दै संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष तथा मोर्चाको जनपरिचालन समितिका संयोजक प्रदीप यादवले भने, ‘देशमा सम्प्रदायिक दंगा निम्त्याउन एमाले पार्टीले प्रयास दोह¥याएको हो ।’

मधेशी मोर्चा र तीन दलबीचको वार्ता विफल
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रमुख तीन दलबीचको वार्ता बिना निष्कर्ष टुंगिएको छ । अहिलेसम्म सरकारले मधेशी मोर्चासँग ३० पटक औपचारिक र अनौपचारिक वार्ता गरिसकेको छ । तर, जहिले पनि वार्तामा चिया गफ जस्तै कुराकानी गरेर सरकारले टार्दै आएको मधेशी मोर्चाको आरोप छ । मधेशी मोर्चाका एक नेताका अनुसार सरकारी पक्ष मधेश आन्दोलन र मधेशी मोर्चाले प्रस्तुत गरेको ११ बुँदे मागप्रति कुनै चासो नदेखाएको आरोप लगाएका छन् । मधेशी मोर्चाका शीर्ष नेता उपेन्द्र यादवले सरकार वार्ताप्रति गम्भीर नरहेकोले यो सरकारले नेपाली जनताको समस्यालाई समाधान गर्न नसक्ने दाबी गरेका छन् ।