चेली सडाउने अभियुक्त ‘सिद्धि’को फन्दामा

चेली सडाउने अभियुक्त ‘सिद्धि’को फन्दामा


Dysp
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी नायव उपरीक्षक सिद्धिविक्रम शाहले समाजका कङ्सिगरका रूपमा रहेका गुन्डागर्दीलाई आफूले नुवाकोटबाट बढारेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । उपत्यकामा गुन्डानाइके चरी र घैँटेको प्रहरी मुठभेडमा मृत्यु भएपछि अन्य गुन्डा यतिबेला भागाभागमा छन् । प्रनाउ शाहले आफूले गुन्डा भन्ने नाम पनि सुन्न नचाहेको र उनीहरूलाई कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने बताए । नुवाकोट प्रमुख भएर गएको साढे चार महिनामा डीएसपी सिद्धिविक्रम शाहले दर्जनौँ अपराधीलाई पक्राउ गरी जेलको चिसो छिँडीमा पुर्‍याएका छन् । काम गर्नलाई समय होइन इच्छाशक्ति चहिन्छ भन्ने डीएसपी शाहले काममार्फत प्रस्ट्याइदिएको स्थानीयवासीको भनाइ छ ।

यसैबीच अदालतबाट सजाय पाएर पनि वर्षौंदेखि फरार रहेका दुई अभियुक्तलाई पक्राउ गर्न डीएसपी शाहलाई सफलता मिलेको छ । रौत भन्ने धनबहादुर तामाङले ०४६ सालमा नुवाकोटकी एक महिलालाई भारत लगेर बिक्री गरेका थिए । तामाङले बिक्री गरेकी महिलालाई नेपाली मूलका सेनाले उद्धार गरेको र ती महिलाको नुवाकोट फर्किएपछि एड्स लागेर मृत्यु भएको थियो । नेपाली चेलीलाई बिक्री गरेर फरार भएका धनबहादुर तामाङलाई पनि डीएसपी शाहकै सक्रियतामा पक्राउ गरी कानुनको दायरामा ल्याइएको हो । १४ वर्षअघि फरार रहेका मख्खु भन्ने छेवाङ तामाङलाई पनि हालै पक्राउ गरी उनले जेलको चिसो छिँडीमा पुर्‍याइदिएका छन् ।

त्यस्तै काठमाडौंलगायत विभिन्न ठाउँमा हतियार बोकेर हिँड्ने, गुन्डागर्दी गर्ने नक्कले भन्ने विराज तामाङ र युवराज गुरुङलाई समेत डीएसपी शाह हतियारसहित पक्राउ गर्न सफल भएका छन् । घैँटेका प्रमुख सहयोगीका रूपमा चिनिने युवराजलाई बुलेटप्रुफ ज्याकेट लगाएको अवस्थामा पक्राउ गरिएको हो । गुन्डा र आपराधिक क्रियाकलाप गर्नेका विरुद्ध आक्रामक ढङ्गले लागेका डीएसपी शाहको कामको नुवाकोटका सबै दलका नेताले प्रशंसा गरेका छन् । उपत्यकाबाट भागेका गुन्डा एकपछि अर्को गर्दै नुवाकोटमा समातिन थालेपछि नुवाकोटका टोलेगुन्डाको पनि उठीबास लागेको बुझिएको छ ।