पर्सा र बारामा तीन दललाई प्रतिबन्ध !

पर्सा र बारामा तीन दललाई प्रतिबन्ध !


Three-Party_flag11
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बारा र पर्सा गरी दुई जिल्लाको स्थानीय बैठकले प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका कुनै पनि सार्वजनिक कार्यक्रम बारा र पर्सामा गर्न नदिने निर्णय गरेको छ । मोर्चाका दुई जिल्लाका अगुवाहरुले संयुक्त बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा तीन दलहरुलाई कार्यक्रम गर्नमा रोक लगाउने जनाइएको छ । विगत ५ महिनाभन्दा लामो समयदेखिको मधेशी र थारु आन्दोलनको क्रममा राज्यतर्फबाट भएको बल प्रयोग र हिंसासँगै मोरङगको रंगेलीमा भएको गोली प्रहार घटनाको निन्दा गरिएको छ । सरकारले बल प्रयोग गरेर अधिकारको आन्दोलन दबाउन खोजेको विज्ञप्तिमा भनिएको छ ।

रंगेली घटनाको विरोधमा आन्दोलन थप कडा बनाउने निर्णय गरिएको समेत उक्त ज्ञप्तिमा उल्लेख गरिएको छ । ‘संविधानमा लोकतान्त्रिक अधिकारको स्थापनाका लागि मधेशमा जारी जनताको आन्दोलन विरुद्धमा देखापरेका र हत्याहिंसाको बलमा दबाउन खोज्ने सरकारलाई सर्मथन गरिरहेका र हुनाले कांग्रेस, एमाले र एमाओवादीको कार्यक्रम हुन नदिन निर्णय गरिएको छ,’ मोर्चाका जनपरचालन समिति पर्साका संयोजक रहेका संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले भने, ‘भन्नु के छ र ? मधेशबाट मत लिएर गएका उनीहरुले जनताको मुद्दा छोडेकोले ति पार्टीहरु मधेशीविरोधि भएको प्रस्टै छ, मधेशी जनताको भावना अनुसार निर्णय गरेका हौँ ।’

यता, लोकतन्त्रमा शान्तिपूर्ण सभा, कार्यक्रम तथा प्रदर्शन गर्न पाइने आधारभूत अधिकारको मधेसी मोर्चाले हनन गर्ने दुष्प्रयास गरेको भन्दै प्रमुख तीन दलका नेतृत्वले सो निर्णयको भत्सर्ना गरेको छ ।