गणतन्त्र भारत र नेपाल

गणतन्त्र भारत र नेपाल


ghatana logo 1
नयाँ संविधान जारीपछि तराई–मधेसकेन्द्रित दलमा उत्पन्न असन्तोष र सीमा–नाकाकेन्द्रित मधेस आन्दोलनका कारण सिर्जित अत्यन्त असहज अवस्थाले छिमेकी मित्रराष्ट्र भारतलाई समेत बलात् विवाद र आलोचनाको सिकार तुल्याइरहेको सन्दर्भ जगजाहेर छ । नेपाल र भारतबीचको सदियौँदेखिको जनस्तरीय सम्बन्ध नै खल्बलिन पुगेको भनी अतिरञ्जना गरिएको परिवेशबीच गणतन्त्र भारतले आफ्नो ६७औँ गणतन्त्र दिवस धुमधामका साथ मनाएको छ । सबभन्दा नजिकको छिमेकी हुनुको नाताले नेपाल र भारतबीच आपसी मित्रता, सौहाद्र्धता, साथ–सहयोग आदानप्रदानसँगै राजनीतिक कोणबाट बेलाबखत विवाद वा थोरधेर असन्तोषको भाव पनि प्रकट नभएका होइनन् । तर, यी दुई देशबीच विद्यमान प्राकृतिक तवरको मित्रताका कारण त्यसप्रकारका असहज वा अस्वाभाविक परिस्थितिको व्यवस्थापन पनि स्वत: नै भइआएका दृष्टान्तहरू छन् । पछिल्लोपटक राजनीतिक स्तरमा उत्पन्न तनाव प्राकृतिकभन्दा पनि कृत्रिम वा बनिबनाउ किसिमको भएको अनुभूति गरिएको सन्दर्भमा यस असहज अवस्थाको अन्त्य अन्तत: सुखद ढङ्गबाटै हुने अपेक्षा गर्न सकिन्छ ।

सन्दर्भ छिमेकी भारतले मनाएको गणतन्त्र दिवसको छ । विश्वकै एक शक्तिशाली राष्ट्रको रूपमा अघि बढ्दै गरेको भारत निश्चय पनि सजिलै आजको अवस्थामा आइपुगेको होइन । भारतीय गणतन्त्रको सबैभन्दा ठूलो ताकत त्यहाँको संविधानलाई मानिन्छ । उक्त संविधान एउटा सामूहिक लोकतान्त्रिक चेतनाको उपज तथा त्यहाँको तत्कालीन सर्वश्रेष्ठ दिमागको देन थियो, जसले भारतीयलाई आर्थिक, सामाजिक, सांस्कृतिक र हरप्रकारले विकसित गर्न अथक प्रयत्न गरिरहेको छ । आज भारतीयहरू जसरी आर्थिक–सामाजिक उन्नतिलाई खास महत्त्व दिइरहेका छन्, यसो हुनुमा साहसी भारतीय नेतृत्वकर्ताले त्यसबेलाका निरक्षर, गरिब र विभिन्न भाषा बोल्ने नागरिकलाई संविधानमार्फत लोकतान्त्रिक व्यवस्था सुम्पिनु नै थियो भन्ने विज्ञजनको मत छ । परिणाम त आज विश्वसामु छँदै छ कि यतिबेला भारत विश्वको एक शक्तिशाली राष्ट्रका रूपमा अगाडि बढ्दै छ । अनेकौँ प्रकारको आन्तरिक द्वन्द्वहरूको सामना गर्दै भारतीय गणतन्त्र सफल हुनुको पछाडि भारतीय स्वतन्त्रता सङ्ग्रामलाई नेतृत्व गर्ने सबल नेताहरूको राष्ट्रिय चरित्रले खास भूमिका निर्वाह गरेको छ ।

भनिन्छ, वास्तविक गणतन्त्र मात्र नागरिकको नसा–नसामा स्वतन्त्रता, समानता र बन्धुत्वको मूल्य–मान्यता स्थापित गर्न सक्षम हुन्छ । किनकि, लोकतन्त्रको सम्बन्ध सुशासनसँग हुन्छ र सुशासन भनेको त्यस्तो शासन हो जसमा नागरिकले स्वतस्फुर्त रूपमा कानुनको सम्मान गर्छ र राज्य पनि नागरिकको चाहनाअनुसार काम गर्न हरदम प्रयत्नशील रहन्छ । हामी पनि आज गणतन्त्र र लोकतन्त्रको चर्को आवाज उरालिरहेका छौँ । नेताहरूले मुलुकलाई गणतन्त्रमा प्रवेश गराएकै पनि लगभग दशक अवधि गुज्रिसकेको छ । यस्तै, नयाँ संविधान जारी भएपछि नेपाल आर्थिक विकास र समृद्धिको नयाँ युगमा प्रवेश गरेको भाषणबाजी नेतृत्व तहबाट दिनमै पटक–पटक दोहोर्‍याइन्छ । तर, संविधानमा ‘सम्प्रभुत्ता’ जनतामै निहित रहेको किटान गरिए पनि जिम्मेवार नेतृत्व देश र जनताप्रतिभन्दा आफ्नै स्वार्थमा लिप्त देखिँदा मुलुक ओह्रालो यात्रामा रहेको अनुभूति गर्न आज नेपालीजन विवश छन् । समस्या आफू निम्त्याउने, तर दोष अन्यत्रै देखाउने काइते मानसिकता वर्तमान नेतृत्वमा भरपूर देखिन्छ । समान सामाजिक, सांस्कृतिक, धार्मिक र राजनीतिक व्यवस्था भएका दुई छिमेकी भारत र नेपालबीच हाल उत्पन्न भएको ठानिएको तनावको अवस्था पनि यही सङ्कीर्ण राजनीतिक नेतृत्वको उपज हो । यसका बाबजुद मित्रराष्ट्र भारतले नेपालमा शान्ति र विकासको आफ्नो चाहनालाई पटक–पटक दोहोर्‍याउँदै आएको छ । नेपालको जलस्रोतलगायत यावत् प्राकृतिक स्रोत एवम् पर्यटकीय सम्भावनाको भरपूर सदुपयोग हुनुपर्छ र त्यसका लागि आवश्यक सहयोग उपलब्ध गराउन भारत तत्पर रहेको धारणा भारतीय पक्षबाट बारबार प्रकट गरिँदै आएका छन् । छिमेकी समृद्ध भए मात्र आफ्नो पनि प्रगतिको मार्ग उन्नत हुनसक्छ भन्ने मान्यताबाट भारतको यस्तो धारणा आएको मननीय विषय हो ।

जहाँसम्म हाल दुई देशबीच उत्पन्न असमझदारीको सवाल छ, कसैले पनि नहार्ने गरी सम्मानजनक रूपमा समस्या समाधानको उपाय खोज्नु आवश्यक छ । तराई–मधेसको समस्यासँग चाहेर या नचाहेरै पनि भारत जोडिनुपर्ने बाध्यकारी परिस्थितिसँग विवेकशील जो–कोही परिचित नै छन् । यही यथार्थको जगमा उभिएर मित्रराष्ट्र भारतले यदाकदा प्रकट गर्ने धारणालाई जबर्जस्ती विवादमा ल्याउने प्रयत्न जो हुने गरेको छ, यसले कसैको हित नगर्ने प्रस्टै छ । भारतको ६७औँ गणतन्त्र दिवसको अवसरमा नेपालका लागि भारतीय राजदूत रणजीत रायद्वारा जारी सन्देशमा भारत नेपालीको शान्ति, स्थायित्व र विकासको चाहनामा काँधमा काँध जोडर उभिन तत्पर रहेको उल्लेख छ । भारतको यो सद्भाव बुझेर सोअनुरूप सम्बन्धको नयाँ आयाम छिचोल्ने दिशामा नेतृत्वले कदम अघि बढाउन सके नेपाल र नेपाली पनि समृद्धिको उज्यालोतिर फड्को मार्नेमा आशावादी हुन सकिन्छ ।