माक्र्सवाद र सर्वसत्तावादका प्रशंसकबाट सावधान !

माक्र्सवाद र सर्वसत्तावादका प्रशंसकबाट सावधान !


Laxmikanta Paudel

:: लक्ष्मीकान्त पौडेल ::

पृथ्वीनारायण शाहको एकीकरणको कार्यलाई माक्र्सवादी आँखाबाट एमालेसमेतका कम्युनिस्टहरूले हेर्न खोजेको तथ्य समय-समयमा आउँछ । माओवादीले त कुनै समयमा पृथ्वीनारायण शाहको एकीकरणलाई खुनी आक्रमणको संज्ञा पनि दिएका थिए । कतिले पृथ्वीनारायण शाहको एकीकरणलाई अहिले ठीक पनि भनेका छन् । बाबुराम भट्टराईले माक्र्सवादको परिस्कार गर्ने कुरा उनको नयाँ शक्ति भन्ने पुस्तिकामा उल्लेख गरेका रहेछन् । वास्तवमा कम्युनिस्टहरूको यति राम्रोसँग ब्रेनवास भएको हुन्छ कि उनीहरूले एकथरी कुरालाई अत्यन्त नराम्रोसँग चाहिनेभन्दा बढी बुझेका हुन्छन् र अर्को पाटोलाई हेर्ने चाहना नै गर्दैनन् । बुझ्ने त कुरै भएन, बुझे पनि आफ्ना ग्रन्थहरूमा जसरी बुझ्नु भनिएको छ त्यसै गरेर उनीहरू बुझ्दछन् ।

कम्युनिस्ट सर्वसत्तावाद भएका देशहरूमा कम्युनिस्ट विचार जबर्जस्ती लादिएको हुन्छ । अरू विचार जति नै राम्रो भए पनि तिनको विरोध मात्र हुन्छ । त्यसैले जनतालाई त्यहाँ जबर्जस्ती ब्रेनवास गरिन्छ । लोकतान्त्रिक देशहरूमा पनि कम्युनिस्ट विचारको एकोहोरोपनले गर्दा त्यसमा लाग्नेहरूले अरूको कुरा सुन्नै नचाहने हुन्छन् । त्यसैले त प्रदीप नेपालले कुनै समय कांग्रेसका विचार नहेर्न आफ्ना कार्यकर्तालाई अनुरोध पनि गरेका थिए । कार्यकर्ता एकोहोरा भएपछि उनीहरूलाई हनुमान बनाएर उनीहरूमाथि रजाइँ गर्न सजिलो हुन्छ । कम्युनिस्टहरू नेताको पछि लागेर अरूका विचारलाई भौतिक वा वैचारिक रूपमा स्याबेटेजमा पारेको भन्छन्, तर उनीहरूको स्वतन्त्र दिमाग नै कम्युनिस्ट विचारले स्याबेटेजमा पारेर उनीहरू अरूभन्दा बढी एक विचारका लठैत बन्न पुगेका अर्थात् वैचारिक रूपमा स्याबेटेजमा परेका थाहा नै पाउँदैनन् ।

बाबुुरामले भनेजस्तो माक्र्सवाद परिस्कृत हुने विषय होइन, न पृथ्वीनारायण शाहको एकीकरणलाई माक्र्सवादी कथित विज्ञानबाट हेर्न सकिन्छ । विज्ञानबाट हेर्न मिल्ने भए कम्युनिस्टहरूको फरक धारबाट तिनै पृथ्वीनारायण शाहको त्यही कार्य माक्र्सवादअनुरूप, कहिले विरोधी वा केही ठीक भन्ने हुँदैनथ्यो । माक्र्सवाद वास्तवमा कम्युनिस्टहरूले टाउकोमा लगाउने टोपीजस्तो हो जसको आकारप्रकारबारे व्याख्या गरेरै सकिँदैन । जसले जस्तो प्रकारले बनायो र लगायो त्यो त्यस्तै हुन्छ । कम्युनिस्टहरूले माक्र्सवादबारे नबुझेको विषय त झनै खतरनाक छ । उनीहरू द्वन्द्वात्मक भौतिकवादलाई माक्र्सवाद नै हो पनि भन्न पछि पर्दैनन् । द्वन्द्वात्मक दुनियाँ अनन्तकाल देखिन्छ । बुद्धले पनि द्वन्द्वको व्याख्या गर्नुभएको छ । पहिला वा पछि द्वन्द्वात्मक भौतिकवादबारे धेरैले धेरै व्याख्या गरेका छन् । यसमा योगदान दिएका छन् । त्यसैले बसालेको नयाँ जगमा परिस्कार हुन्छ तर अरूले पनि व्याख्या गरेको विषयलाई नै आधार मानेर एकको विचारको कसरी परिस्कार गर्ने ? त्यसैले माक्र्स भनेका द्वन्द्वात्मक भौतिकवादका व्यवस्थित विश्लेषण गर्नेमध्येका प्रमुख हुन् । यो विश्लेषणपछि पनि आउँदै जान्छ । सबैका गुरु माक्र्स हुन सक्दैनन् ।

धर्मभीरूहरू पनि आफ्नो धर्मबारे वैज्ञानिकता खोज्छन् र त्यसलाई प्रचार गर्न खोज्छन् । तर, उनीहरूले बुझ्नुपर्छ कि उनीहरूको धर्मग्रन्थलाई आलोचनाको कसीमा राख्न भने नपाइने, नराम्रो भए नराम्रो भन्न नपाइने, तर विज्ञान भन्न भने पाइने भन्नु विज्ञान हुन सक्दैन । त्यो त हामी जे भन्छौँ त्यो नै विज्ञान हो भन्ने भनाइलाई भ्रमको आधारमा स्थापित गर्न खोज्नु मात्र हो । जुन धर्म विरोध र विवादको कसीमा जाचिन तयार हुँदैन त्यो धर्मले एकोहोरा पाखण्डीहरू मात्र निर्माण गर्दछ । त्यस्तै जुन राजनीतिले आफ्नो विचारको विरोध खुसी साथ सहँदैन त्यो राजनीति जनताको हितमा हुँदैन । विज्ञान पनि हुँदैन । न द्वन्द्वात्मक विचारलाई नै समेटेको हुन्छ ।

वास्तवमा कांग्रेस बीपीवादी भने हुन्छ । बीपीले लोकतन्त्रमा साम्यवाद थपे समाजवाद हुन्छ भन्नुभएको थियो । अर्थात् समानता र विकास चाहिन्छ तर त्यो विकास र समानता लोकतन्त्रको कसीबाट वा स्वाभाविक र अपेक्षाकृत शान्तिपूर्ण वैचारिक द्वन्द्ववादबाट सही ठहरिँदै जानुपर्छ । यसरी हेर्दा यो विचार माक्र्सवादभन्दा पनि ठूलो विज्ञान हो । कांग्रेस आफूलाई प्रकट रूपमा बीपीवादी नै भएर पनि बीपीवादी भन्दैन । किन ? यसको पछाडि महान् कारण छ । त्यो हो, बीपी विचार वा वाद महान्, महत्त्वपूर्ण, उत्तम हुन सक्दछ, केही पक्ष सर्वकालिक पनि हुन सक्दछ । तर, त्यो व्यक्तिले दिएको विचारलाई आधार मानेर अरू अझ राम्रा विचार आउन सक्ने भए पनि तिनलाई त्यही विचारको दयामा बाँच्न दिनुहुँदैन भन्ने महामानव बीपीको सोच हो । त्यही सोचले हामीलाई प्रखर बीपीवादी बनाएको छ । तर, बीपीवादी भनाएको छैन किनभने स्वयम् बीपी आफ्नोभन्दा अझ राम्रो विचार यो दुनियाँमा आउनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । बीपीको त्यो सोचलाई पनि कांग्रेसले समातेकाले कांग्रेस बीपीवादी कहलाउँदैन ।

अरूमा त्यस्तै छैन । भ्रममा पर्ने र भ्रम दिने कार्य भइरहेको हुन्छ । चीनले गरेको विकासलाई देखाउँदै सर्वसत्तावादले विकास गर्दछ । चीनले अमेरिका र पश्चिमलाई समेत ऋण दिएको छ भन्ने पनि गरिन्छ । अहिले चीनमा सबैभन्दा बढी अर्बपति धनीहरू छन् । जहाँ धनी धेरै हुन्छन्् त्यहाँ गरिब अझ बढी हुन्छन्् । यो कम्युनिस्ट मान्यता हो । सबै बराबर भए धनी भन्ने हुँदैन । त्यो चीनमा गरिब छन्् भन्ने प्रस्ट प्रमाण हो । चीनले अमेरिकासमेतलाई कसरी ऋण दियो त ? त्यहाँका गरिबहरूले श्रमको ज्याला कम दिए पनि विरोध गर्न पाउँदैनन् । श्रमको शोषण हुन्छ र त्यसरी बचेको पैसा विदेशमा दिइन्छ । के जनतालाई पीडा दिएर अरूलाई धाक दिनु राम्रो हो ? विकास जनताका लागि हुँदैन भने त्यो विकास के विकास ? त्यसैले बीपीले भन्नुभएको थियो गरिबको हित नगर्ने विकास विकास नै होइन । उहाँका अनुसार विकास, समानता, शान्ति, मानवीय उन्नति एक–अर्काका पूरक हुनुपर्छ ।

चीनको कुरा यहाँका कम्युनिस्टहरूलाई उत्तर हो । तर, चीनमा अब निजी सम्पत्तिको कारणले गर्दा सर्वसत्तावाद कम हुँदै गएको छ । विकास भएको छ । त्यो विकास चीनले साम्यवादी अर्थनीति त्यागेकाले भएको हो । समाजवादमा कामअनुसार माम र क्षमताअनुसार काम हुन्छ । धनी र गरिब भन्ने अन्त्य हुँदै गएको हुन्छ । तर, चीनमा धनी र गरिबको दूरी बढ्दो छ । चीनको प्रगति र उदारता प्रशंसा गर्न योग्य बन्दै छ, तर नेपालका सर्वसत्तावादीले कल्पना गरेजस्तो नै साम्यवादले गरेको भने होइन ।

नेपालमा द्वन्द्वात्मक भौतिकवादको व्याख्या गर्ने सर्वसत्तावादी कम्युनिस्टहरूका सङ्गठन विश्वमा सबैभन्दा धेरै छन्् । उनीहरूलाई सर्वसत्तावाद चलाऊ र देशको विकास गर भन्ने हो भने माले, एमाले, मसाले, माओवादीसमेतका सयौँ कम्युनिस्टबीच सर्वसत्तावादका लागि काटाकाट हुन्छ र यो देश अझै बस्नलायक हुँदैन । त्यसैले नेपालमा कुनै कम्युनिस्टले सर्वसत्तावादको कल्पना गर्छ भने उसले यो देशको अन्त्य चाहेको हुन्छ । अन्यथा उसले कम्युनिस्टहरूलाई मिलाएर हेरोस् । तर, अचम्म यो देशमा सर्वसत्तावादी कम्युनिस्ट धेरै भएकाले सर्वसत्तावाद आउन सक्दैन । सर्वसत्तावाद ल्याउन एकता नभए पनि लोकतन्त्र कम्युनिस्टहरूलाई मन नपर्ने भएकाले उनीहरूले लोकतन्त्रको दुरुपयोग गर्दा र जनतामा लोकतन्त्रको गलत भ्रम दिँदा लोकतन्त्र पनि राम्रोसँग फस्टाउन सक्दैन । अर्थात् नेपालको नियति भनेको कम्युनिस्ट नेताहरूका मीठा भाषण सुन्ने र कल्पनामा बाँच्ने, तर दु:ख पाउने नै हो ।

यो अवस्थावाट मुक्ति पाउनु भनेको कि कम्युनिस्टहरू मिलेर सर्वसत्तावाद ल्याउनुपर्छ जुन असम्भव छ । तर, यो आएमा पनि चीनजस्तो होइन, उत्तर कोरियाको जस्तो आउँछ र जनतामा गरिबी मात्र बाँडिन्छ । धन नेताहरूको भागमा मात्र पर्छ । कमसेकम एउटा भ्रम हट्छ, तर त्यसबाट मुक्ति असम्भव प्राय: हुन्छ । अर्को बाटो र पाटो उनीहरूले लोकतन्त्रका आदर्शहरूलाई मान्नुपर्छ ।