पेट्रोलियम पदार्थ कालोबजारी गर्नेमाथि कारवाही

पेट्रोलियम पदार्थ कालोबजारी गर्नेमाथि कारवाही


पेट्रोलियम पदार्थ कालोबजारी
काठमाडौँ उपत्यका लगायतका विभिन्न स्थानमा कालोबजारी गर्ने नियतले पेट्रोलियम पदार्थ जम्मा गरी नेपाल सरकारले तोकेको दरभन्दा अत्यधिक मुल्य लिई बिक्री गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलगंगा बस्ने धादिङ आरुघाट–१ घर भएका १७ बर्षीय सुरेश न्यौपाने, बौद्ध बस्ने काभ्रे बल्देफेदी–१ घर भएका ३६ बर्षीय कमल तामाङ, नयाँबसपार्क बस्नेहरु नुवाकोट खड्भन्ज्याङ–५ घर भएका ४६ बर्षीय लालबहादुर श्रेष्ठ, रुपन्देही मधौलिया–१ घर भएका ३३ बर्षीय जनक महत, ईलाम एकतप्पा–३ घर भएका ४२ बर्षीय चन्द्रबहादुर श्रेष्ठ र बर्दीया गोला–३ घर भएका २४ बर्षीय कमल चौधरी रहेका छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–९ तिलगंगाबाट १ हजार लिटर पेट्रोल र ७ सय ५० लिटर डिजल, १५ लिटर मट्टितेल तथा काठमाडौँ महानगरपालिका–६ बौद्दबाट ५ सय ५० लिटर पेट्रोल र १ सय लिटर मट्टितेल तथा गोंगबु नयांबसपार्कबाट डिजेल ३ सय ८५ लिटर, पेट्रोल १ सय लिटरसहित उनीहरुलाई आइतबार पक्राउ गरेको हो । उनीहरूलाई कालोबजारी ऐन अन्तर्गत आवश्यक अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यसैगरी महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू भगवानपाउ डेरा गरी बस्ने पर्सा सुवर्णपुर–६ घर भएका ३८ बर्षीय पासाङ लामा र ५५ बर्षीय पञ्चलाल वाईवालाई प्रतिलिटर २३० मा पेट्रोल र १५० रुपैयाँमा मट्टितेल बिक्री बितरण गरीरहेको अवस्थामा आइतबार पक्राउ गरेको छ भने ग्याँसको कालोबजारी गरेको अभियोगमा ललितपुर उपमहानगरपालिका–१७ ईमाडोलमा पसल गरी बस्ने दोलखा घर भएका ३९ बर्षीय रामशरण खरेललाइ पनि पक्राउ गरिएको छ । खरेलले पसलमा ग्याँस कालो बजारी गरेको सूचना प्राप्त हनासाथ महानगरीय प्रहरी बृत सातदोवाटोबाट खटिएको प्रहरी टोलीले उनलाई १० थान नेपाल ग्याँसको सिलिण्डरसहित पक्राउ गरेको हो ।