निधिको घर पनि छोडेनन् मधेसी कार्यकर्ताले

निधिको घर पनि छोडेनन् मधेसी कार्यकर्ताले


nidhi
नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशन बिथोल्न आन्दोलनरत मधेसी मोर्चा हात धोएर लागिपरेको अनुभूति हुँदै गर्दा संयुक्त मधेसी मोर्चाले कांग्रेसको राजविराज नगर अधिवेशन बिथोल्ने प्रयास गरेका छन् । सो क्रममा प्रतिकार गर्न खोज्दा मोर्चा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । राजविराज–४ स्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालय प्राङ्गणमा सोमबार आयोजित नगर अधिवेशनको निर्वाचनमा मोर्चाका नेता तथा कार्यकर्ताले नाराबाजी गर्दै बिथोल्न खोज्दा झडप भएको हो । मोर्चाका नेता तथा कार्यकर्ताले निर्वाचन स्थलमा अवरोध पु¥याउन थालेपछि कांग्रेसका कार्यकर्ता प्रतिकारमा उत्रेका थिए ।

सोही क्रममा भएको झडपमा युवा विद्यार्थी मोर्चा सप्तरीका संयोजक तारकेश्वर यादव घाइते भएका प्रहरीले जनाएको छ । सो घटनाको कारण राजविराज तनावग्रस्त हुन पुगेको छ।

यसैगरी, राजविराज नगरपालिकाको गजेन्द्रचोक, सहिद दर्शन चोकलगायतका विभिन्न स्थानमा सोमबार बिहानैदेखि मोर्चाले टायर बालेर विरोध प्रदर्शनलाई जारी राखेका छन् । यसअघि सप्तरीको विभिन्न गाविसमा आयोजित काँग्रेसको गाउँ अधिवेशनलाई मोर्चाका नेता तथा कार्यकर्ताले बिथोलेका थिए ।

यसैबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको जनकपुर मिल्स एरियास्थित घरमा आगजनी गरेका छन् । कांग्रेस नेताले मधेसको मागविपरीत क्रियाकलाप गरिरहेको भन्दै मोर्चाका कार्यकर्ताले तीन दिनदेखि कांग्रेसका नेताविरुद्ध विरोधका कार्यक्रम गर्दै आएका छन् ।

बताइएअनुसार कांग्रेसकै अर्का नेता आनन्दप्रसाद ढुङ्गानाको आवासलाई लक्षित गरी भएको विरोध कार्यक्रमका क्रममा प्रहरी र आन्दोलनकारी झडप भएपछि आक्रोशित भीडले निधिको घरमा आगजनी गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुुसार आगजनीबाट घरमा राखिएको एउटा मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ ।