‘सीमानाका होइन सरकार नै समस्या’

‘सीमानाका होइन सरकार नै समस्या’


RPP Manita 1
धरान/ नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले मधेसको आन्दोलन नाकाबन्दीसँग मात्र सम्बन्धित नरहेकाले नाकाबन्दी खोलिए पनि मधेसको समस्याको समाधान खोजी गरिनुपर्ने सुझाव दिएका छन् । मंगलबारदेखि धरानमा सुरु भएको पूर्वाञ्चल क्षेत्रीय प्रशिक्षण शिविरको उद्घाटनको क्रममा राणाले सो सुझाव दिएका हुन् । पूर्वअध्यक्ष जबराले वीरगञ्जबाहेक सबै नाका खुले पनि सरकारले आपूर्ति व्यवस्था मिलाउन नसकेकोमा राणाले सरकारको आलोचना गरे ।

पञ्चायतकालमा मुलुकले १३ महिना नाकाबन्दी सहे पनि त्यसबेला सरकारले नेपाली जनतालाई सहज रूपमा आपूर्ति गरेको स्मरण गर्दै अहिलेको सरकारले आपूर्ति व्यवस्था मिलाउन नसक्नु सरकारको असफलताको प्रतीक भएको टिप्पणी गरे । प्रदेशको सीमाको समस्यालाई राजनीतिक आयोग बनाएर तीन महिनाभित्र समस्याको हल गर्नेबारे सहमति भएको खुलासा गर्दै मधेसलाई संवैधानिक मूलधारमा समेटिनुपर्ने राय राणाले अघि सारे ।
सो क्रममा उनले महाभूकम्पले गर्दा नौ महिनासम्म जनता जाडोको समयमा खुला आकाशमुनि बसिरहेको बेला पुनर्निर्माण क्षेत्रमा सरकार पूर्ण असफल रहेकाले सरकारको प्रस्तावविरुद्ध उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसद्मा भोट गरेकोसमेत बताए । राणाले भने, ‘आफ्नो पार्टी सरकारमा सहभागी भए पनि आलोचनात्मक सहभागिता मात्र रहेको छ ।’

तीन दिनसम्म चल्ने सो प्रशिक्षण शिविरमा पूर्वाञ्चलका अध्यक्षलगायत पार्टीका पदाधिकारीहरूको सहभागिता रहेको छ भने पार्टीका सहमहामन्त्री भुवन पाठकले देशको राजनीतिक अवस्था र पार्टीको आगामी योजनाबारे प्रशिक्षण दिने बताइएको छ ।

– मनिता चामलिङ